भवन भट्ट गैरआवासीय नेपाली संघको अध्यक्ष हुने वित्तिकै उनको कम्पनी टीबीआई होल्डिंग्सले ६५० मेगावाटको जलविद्युत आयोजनाको सर्भे लाईसेन्स विना प्रतिस्पर्धा हात पारेको छ ।

माओबादी केन्द्रका तर्फबाट उर्जा मन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विना बिभागीय बनाए लगत्तै उर्जा मन्त्रालयले भट्टको कम्पनीलाई तामाकोशी तेस्रो अर्ध जलाशययुक्त आयोजनाको लाईसेन्स विना प्रतिस्पर्धा दिएको हो ।

लगानी बोर्डले प्रतिस्पर्धामार्फत आयोजना प्रबद्र्धक छनौट गर्ने तयारी गर्दा मन्त्रालयले सुटुक्क भट्टको कम्पनीलाई दिनुमा ठूलो आर्थिक चलखेल भएको आशंका बढेको छ । देश चुनावी अभियानमा होमिएको मौकामा लाईसेन्स दिने कामले काम चलाउ सरकार र भट्टलाई बिबादमा तानेको छ ।

सबै खाले पुर्वाधार पुगिसकेको क्षेत्रमा चाँडै बनाउन सकिने ठूलो आयोजना एउटा ब्यक्तिको कम्पनीलाई जिम्मा लगाउनुमा आर्थिक चलखेलले भुमिका खेलेको देखिएको जानकारहरु बताउँछन् । लगानी बोर्डको कार्यक्षेत्रमा पर्ने आयोजनालाई उर्जा मन्त्रालयले सुटुक्क एउटा विदेशी कम्पनीलाई दिनु सरासर गैरकानुनी कदम पनि हो ।

टीबीआई होल्डिङले गत असोज २४ गते निवेदन दिएकै भोलिपल्ट ऊर्जा मन्त्रालयले रातारात लाइसेन्स दिएको बुझिएको छ । जब कि टीबीआई होल्डिङसँग जलविद्युत् आयोजना निर्माण गरेको कुनै अनुभव समेत छैन ।

यस अघि भाडामा विमान ल्याएर बीबी एयरवेज संचालन गर्ने असफल प्रयास गरेका भट्टलाई यति ठूलो आयोजना जिम्मा लगाईएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here