शेयर लगानी टिप्पणी ।

सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरीरहेको मध्य भोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले कुल १ करोड ४४ लाख कित्तामध्ये १ करोड १७ लाख कित्ता संचय कोषका सञ्चयकर्ताहरुका लागि, २१ लाख कित्ता संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि र बाँकि ६ लाख कित्ता ऋणदाता संस्थाका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।

यस आईपीओको बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि ६० लाख कित्ता र तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० लाख कित्ता आईपीओ निष्काशन गर्ने  छ ।

भोटेकोशिको आइपीओ निष्काशनमा विक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटलले गर्ने छन ।

चिलिमे जलबिद्युतको सहायक कम्पनीको रुपमा रहेको मध्यभोटेकोशीमा चिलिमेको ३८ प्रतिशत हिस्सेदारी छ ।

जल प्रबाहमा आधारित आयोजनाबाट हिउँदको समयमा उत्पादन हुने बिजुलीको परिमाण अति कम हुने हुँदा आम्दानी प्रत्यक्ष रुपमा प्रभावित हुने छ । जलबिद्युत आयोजनाले बर्षेनी उत्पादन र आम्दानी बढाउँदै लैजान नसक्ने हुँदा आम्दानी सिमित हुन्छ भन्न् कुरा शेयरमा लगानी गर्नेले बुझ्नैपर्छ ।

आयोजना निर्माणको लागत १७ अर्बसम्म पुग्नसक्ने संभावना विचार गर्दा झण्डै १७ करोड भन्दा बढी प्रति मेगावाट लागत पर्नसक्छ, त्यसैले यो सस्तो आयोजना हैन । भुकम्प, नाकाबन्दी, स्थानीयको अबरोध र अनेक ढिलासुस्तीले आयोजनाको लागत रकम र निर्माण सम्पन्न हुने समय लम्बिन गएको छ । सन् २०१७ मै निर्माण सम्पन्न हुनुपर्ने आयोजना अब सन् २०१९ जुनमा मात्र पुरान हुने भनिएको छ ।

लागत बढेका कारण लगानीकर्ताले लाभांश पाउने समय पनि पछि धकेलिएकाले यसको शेयर किन्नेले आगामी चार बर्षसम्म कुनै लाभांश पाउँन सक्ने छैनन् । त्यो बेलासम्मको ब्याजको हिसाब र जलबिद्युत आयोजनाहरुको शेयरको बाढीले शेयर मुल्यमा पार्ने प्रभाव हिसाब गर्दा कति फाईदा होला भन्ने आँकलन गर्नु स्वभाविक छ । सर्बसाधारणमा शेयर  बिक्री भएको तीन बर्षसम्म कर्मचारी, संचयकर्ता र स्थानीयले धारण गरेको शेयर बिक्री गर्न नपाईने भएकाले अहिले भोटेकोशीको शेयरमा लगानी गर्ने कर्मचारी र संचयकर्ताले लामो समय कुर्नै पर्ने हुन्छ । कम्तिमा १० बर्षका लागि गरिएको लगानी हो भने चिन्ता मान्नु पर्दैन ।

माथिल्लो तामाकोशी शेयरमा आबेदन गरेका संचयकर्ता र कर्मचारीहरुले शेयर परेपछि हातहातै प्रतिकित्ता ६०० रुपैयाँमा शेयर बेचेर फाईदा लट्दा शेयर किन्ने फसे जस्तै अब भोटेकोशीमा भने त्यो नचल्नसक्छ किनभने धेरैलाई थाहा भईसक्यो हाईड्रोको शेयरको मूल्य अब धेरै माथि जाँदैन ।

रसुवागढी र सान्जेनमा कर्मचारी तथा संचयकर्ताहरुले ठूलो रकम लगानी गरेका छन् तर स्थानीयले शेयर किन्न नमानेपछि त्यसले पनि सर्बसाधारणमा शेयर बिक्रीमा ल्याउन ढिलाई गरेको छ ।

माथिल्लो तामाकोशी, रसुवागढी र सान्जेनमा शेयर हाल्न ऋण खोजेर पैसा जुटाएकाहरुले मध्ये भोटेकोशीमा पनि त्यही प्रबृत्ति दोहोर्याउने संभावना कम छ किनभने ऋण काढ्दाको खर्च पनि उठ्न मुस्किल पर्नसक्छ । जलबिद्युत आयोजनामा जनताले लगानी गर्नेपर्छ तर आफ्नो क्षमता र जोखिमबहन गर्नसक्ने क्षमताले धान्नसक्ने अबस्थासम्म मात्र ।

माथिल्लो तामाकोशीको शेयरमा मच्चिएर लगानी गरेका कर्मचारी संचय कोषका कर्मचारी र ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरुले यस भोटेकोशीमा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा चाखलाग्दो हुन गएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here