लघुवित्त कम्पनी भन्दैमा आँखा चिम्लेर लगानी गर्नु घातक हुन्छ भन्ने उदाहरण महुली सामुदायिक लघुवित्तले पुष्टि गरेको छ । त्यसमाथि सानो पूंजीका नयाँ लघुवित्तहरुमा झुम्मिनु प्रतित्युपादक हुनसक्ने पनि यसले देखाएको छ ।

महुली लघुवित्तले नाफामा भयंकर गिरावट आएको प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लो वर्ष ३ करोड ८७ लाख खुद आम्दानी गरेको महुलीको नाफा गत असार मसान्तमा १ करोड ४७ लाखमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा यो ६० प्रतिशत भन्दा बढीको गिरावट हो ।

सो कम्पनीको कर्मचारी, संचालन र ब्याज खर्च झण्डै दोब्बरले बढेका कारण नाफा घटेको हो । खुद नाफा घटेसंगै प्रति शेयर आम्दानी पनि २४ रुपैयाँमा खुम्चिएको छ । गत वर्ष आइपीओ निकाल्नु अघि ४ करोड चुक्ता पूंजी रहँदा महुलीको प्रति शेयर आम्दानी १०८ रुपैयाँ रहेको थियो भने प्रति शेयर नेटवर्थ ४४६ रहेको थियो । अहिले नेटवर्थ पनि ३५१ रुपैयाँमा झरेको छ । दोस्रो बजारमा प्रति शेयर मूल्य २५९५ रहेको यस कम्पनीको मूल्य आम्दानी रेसियो झण्डै १०५ गुणा रहेको देखिन्छ ।

अहिले ६ करोड चुक्ता पूंजी रहेको महुली लघुवित्तको रिजर्भ कोष भने ११ करोडबाट बढेर १५ करोड पुगेको छ । यस्तै निस्क्रिय कर्जा पनि १ दशमलव ७९ बाट बढेर १ दशमलव ८३ प्रतिशत पुगेको छ । निक्षेप ५९ करोडबाट बढेर ७१ करोड पुर्याउन सफल भएको छ भने कर्जा लगानी १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ५५ करोड पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here