शेयरलगानी टिप्पणी ।

माथिल्लो तामाकोशी जलबिद्युतको १० करोड ५९ लाख कित्ता शेयर गत साता शेयर बजारमा सुचिकृत भएपछि लगानीकर्ताहरुबीच हलचल पैदा भएको छ ।

आईतबार शेयर बजारमा माथिल्लो तामाकोशीको शेयरको पहिलो कारोबार खुल्दा प्रतिकित्ता मूल्य कति कायम रहला भन्ने कौतुहल लगानीकर्ताहरुमा पाईन्छ ।

माथिल्लो तामाकोशी आयोजना ४५६ मेगावाटको भए पनि बिद्युत उत्पादन गर्न अझै एक बर्ष जत्ति समय लाग्ने, प्रति मेगावाट लागत १५ करोड माथि पुग्ने, बर्षायाममा धेरै र हिउँदमा निकै थोरै बिद्युत उत्पादन हुने लगायतका कारणले कम्पनीले आगामी पाँच बर्षसम्म लाभांश दिने संभावना कमजोर छ । त्यसमाथि शेयर बजारमा अंकित मूल्यमा साढे चार करोड कित्ता भन्दा माथि शेयर तत्काल बिक्रीमा आउने हुँदा बजार मूल्यमा प्रभावित पार्ने संभावना छ । त्यसमा शुरुको मूल्य रेन्ज कति तोकिन्छ र कतिमा कारोबार हुन्छ भन्ने कुरा ज्यादै महत्वपूर्ण छ ।

हालै कम्पनीले सर्बसाधारण लगानीकर्ताका लागि शेयर बिक्री गर्दा प्रत्येक आबेदकले कम्तिमा ४० कित्ता शेयर पाएकाले सबैको हात हातमा शेयर छ । अहिले दोस्रो बजारमा सक्रिय रहेका धेरै जसो लगानीकर्ताले माथिल्लो तामाकोशीको आईपीओमा आबेदन गरेका थिए र उनीहरुको हातमा शेयर छ भने दोस्रो बजारबाट फेरि थप शेयर उठाउँलान् कि आफ््नो हातमा भएको शेयर बेच्लान् भन्ने प्रश्न पनि उब्जिन्छ । बिगतमा संस्थापक र ऋणदाता संस्थाका संचयकर्ताहरु, कर्मचारीलाई वितरण गरिएको शेयर समेत यसैसाथ बिक्रीमा आउने हुँदा माग र आपुर्तिको सन्तुुलन बिग्रन सक्छ । ठूलो कम्पनी भएको हुनाले कसैले पनि यसमा शेयर कर्नरिड. गर्ने संभावना छैन भने तत्काल लाभांशको आश नभएकाले पाँच, सात बर्षसम्मका लागि लगानी गर्नेहरु यसमा कति सक्रिय हुन्छन् भन्ने पक्ष पनि विचारणीय छ ।

झण्डै पाँच लाख जनाको हातमा अहिले नै बेच्न मिल्ने गरी तामाकोशीको शेयर हुनु भनेको चानचुने कुरा हैन । ठूलो माग सिर्जना नभएको अबस्थामा यसले शेयरको मूल्य बढ्न दिदैन । तामाकोशीलाई सुनको फूल पार्ने कुखुरीको रुपमा परिभाषित गर्नेहरु मध्येमा सबैभन्दा अगाडि दखिएका दोलखाबासीहरुले लिएको शेयर भने आगामी तीन बर्षपछि मात्र बिक्री गर्न पाउने छन् ।

शेयर बजारमा हाईड्रोको शेयरको आपुर्ति ह्वात्तै बढेर गएको छ र एकपछि अर्को गर्दै नयाँ कम्पनीहरुले शेयर बिक्री गर्दा पहिलो बजारको पैसा दोस्रो बजारमा आएर माग बढ्न सकेको छैन ।

गत साता नै माथिल्लो तामाकोशीसहित विभिन्न चार कम्पनीका ११ करोड १५ लाख ३० हजार ५३१ कित्ता शेयर बजारमा थपिए । यसमा कमजोर रेटिड. पाएको कम्पनी जोशी हाइड्रोपावर लिमिटेडको ३७ लाख १४ हजार कित्ता साधारण शेयर पनि पर्दछ ।

राम्रा देखि नराम्रा कम्पनीका करोडौ कित्ता शेयर बजारमा थपिने क्रम तीब्र हुँदा हाईड्रो क्षेत्रका कम्पनीहरुको शेयरमा दोस्रो बजारमा लगानी गर्नेहरुलाई झड्का लाग्ने संभावना हुन्छ । शेयरमा लगानी गर्ने भन्दै कित्ता मात्रै थुपार्ने कि कम्पनीको अबस्था र लाभांश हेरेर लगानी गर्ने भन्ने कुरा महत्वपूर्ण छ । शेयर बजारमा गर्ने लगानी भावनामा बगेर हैन, माग र आपुर्ति, कम्पनीको अबस्था, लाभांश क्षमता लगायतका धेरै कुराहरुमा आधारित हुनैपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here