तिलक कोइराला ।

(स्पष्टिकरणः यसमा लेखकको कुनै स्वार्थ बाझिएको छैन । पुरै नपढी हेडलाईन मात्रै हेरेर प्रतिक्रिया जनाउने काम नगरिदिनु हुन विनम्र अनुरोध छ ।)

माथिल्लो तामाकोशी जलबिद्युत कम्पनीको शेयर कारोबार खुलेपछि लगातार मूल्य बढाएर किन्ने क्रम चल्दा यसमा सर्बसाधारण लगानीकर्तालाई नराम्ररी फसाउने खेल शुरु भएको छ र संचार माध्यमहरुलाई पनि यो “खेल”मा उपयोग गरिएको संकेतहरु देखिएका छन् ।

दिनदिनै सर्किट लागेर बढेको छ शेयर मूल्य

गत शुक्रबार एउटा संचार माध्यमले लेख्यो – आउने बर्ष नै माथिल्लो तामाकोशीले लाभांश दिने हुँदा दैनिक १० प्रतिशतले शेयर मूल्य बढेको हो । लाभांश वितरणबारे निर्णय गर्न समिति समेत गठन गरिएको छ, आदि….

अहिले प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ रहेको र आयोजना सम्पन्न हुनमा ढिलाई भएर पछाडि धकेलिँदा लागत बढ्दै गएको माथिल्लो तामाकोशीको साधारण शेयरलाई दोस्रो बजारमा दिनदिनै सर्किट लगाएर किन्नेहरु चम्किएका छन् । प्रतिकित्ता २२४ रुपैयाँमा पहिलो दिन बन्द भएको शेयर मूल्यलाई दोस्रो दिन नेप्सेले नै ५० प्रतिशत बढाईदिएर ३३६ बनाएको थियो भने ब्यापक आलोचना भएपछि त्यस दिनको रेन्ज भन्दा माथिको कारोेबार रद्ध गरियो तर त्यसपछि पनि लगातार बढाएर किन्नेहरुले अहिले ३११ रुपैयाँ पुर्याएका छन् । हल्ला गर्नेहरुले भनिरहेका छन्, यो शेयरको मूल्य अझै बढ्छ, नबेच्नु है ।

नेप्सेको मार्केट डेब्थमा लाखौं कित्ता शेयर किन्न बसेको देखाएर यसको मूल्य बढाउँन भुमिका खेलिएको छ र सामाजिक संजालबाट हल्ला गर्नेहरुले पनि उसैगरी लगानीकर्ताहरुलाई उचालिरहेका छन् । माथिल्लो तामाकोशीको शेयर सुनको अण्डा पार्ने कुखुरा जसरी नै चर्चा गरिएको छ र २२ मेगावाटको चिलिमेले अहिलेसम्म धेरै राम्रो लाभांश दिएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशीले त झन् के गर्ला भन्दै सर्बसाधारणको दिमाग भुट्ने काम पनि भईरहेको देखिन्छ । कतिपयले त राष्ट्रिय गौरवको आयोजना भन्दै यसको शेयर जत्ति मुल्यमा पाए पनि किनेर गौरव गर्नुपर्ने भन्दै शेयर किन्न उक्साईरहेका छन् ।

कहाँ पुग्यो आयोजना निर्माण ?

२०७५ साल पुसमा सम्पन्न हुने भन्दै आब्हान पत्र निकालेर दोलखाबासी र सर्बसाधारणलाई अर्बौ रुपैयाँको शेयर बेचेको माथिल्लो तामाकोशीले जम्मा लागत ६४ अर्ब १० करोड हुने आँकलन गरेको थियो । अब निर्धारित मितिमा आयोजना सम्पन्न नभई समय लम्बिएको छ । माथिल्लो तामाकोशीका बरिष्ठ अधिकारी बिमल गुरुड.का अनुसार आयोजनाको निर्माण २०७६ कार्तिकमा मात्र सम्पन्न हुने नयाँ लक्ष्य तय गरिएको छ । आँकलन अनुसार त्यस बेलासम्ममा आयोजनाको कुल लागत ७० अर्ब भन्दा माथि पुग्नसक्छ । यसो भयो भने प्रति मेगावाट लागत १५ करोड ३५ लाख न्युनतम रुपमा पर्न जान्छ ।

अहिले भारतीय ठेकेदारले पेनस्टक पाईप जडानको काम ठीक ढंगले गर्न नसकिरहेको अबस्थामा उसले काम छाड्यो भने झन् आपत आउँनसक्छ र आयोजना सम्पन्न हुने म्याद अरु लम्बिन र खर्च बढ्नसक्छ किनभने पाईप ढुवानी र जडान कार्य निकै चुनौतिपूर्ण मानिएको छ । ९७ प्रतिशत काम सम्पन्न भएको भनिएको आयोजनाले यो महत्वपूर्ण चरण पार गर्यो भने पनि कम्तिमा १० महिना समय लाग्ने माथिल्लो तामाकोशीकै अधिकारीहरुको स्विकारोक्ति छ । त्यसमाथि ६ वटा युनिट सबैले एकैचोटी विद्युत उत्पादन गर्ने पनि हैन, शुरुमा एउटा युनिटबाट विद्युत उत्पादन थालेर पूर्ण रुपमा संचालन हुन २०७७ साल नै भेट्ला कि भन्ने अनुमान गर्नु स्वभाविक हुनजान्छ । सबै काम योजना अनुसार अगाडि बढेर अब कुनै रोकावट नआएको अबस्थामा मात्र २०७६ को कार्तिकको कुरा गरिएको हो तर बिज्ञहरु भने आयोजना पुरा हुन अझै डेढ बर्ष कम्तिमा लाग्ने दावी गर्छन ।

आयोजनाले लाभांश कहिले दिन्छ ?

यस बर्षभरिमा ३० पैसा घाटा रहने प्रतिशेयर आम्दानी अर्को बर्ष ३८ रुपैयाँ हुने प्रक्षेपण आईपीओ बिक्री गर्नु अघिको आब्हान पत्रमा गरिएको थियो । माथिल्लो तामाकोशीले सर्बसाधारणमा शेयर बिक्री गर्नु अघि प्रकाशित गरेको आब्हान पत्रमा यस बर्ष कम्पनी ३ करोड १३ लाख घाटामा रहने उल्लेख गरेको छ । पुस मसान्तमा सम्पन्न हुनुपर्ने आयोजना निर्माणको समय तालिका नै भताभुँग भईसकेको अबस्थामा अब प्रतिशेयर आम्दानी कति घाटामा छ भनेर बेग्लै हिसाब गर्नुपर्छ । २०७६ कार्तिकमा आयोजना निर्माण पुरा भयो भने पनि त्यसको अर्को बर्ष मात्र कम्पनी नाफामा जाने संभावना हुन्छ र दोस्रो बर्ष मात्र लाभांश वितरण गर्नसक्छ । यसो भन्नुको मतलव माथिल्लो तामाकोशीले अझै तीन बर्षसम्म कुनै लाभांश दिन सक्दैन ।

माथिल्लो तामाकोशीका मुख्य कार्यकारी बिज्ञान श्रेष्ठ कम्पनीले कहिले लाभांश दिन्छ भन्ने कुरा आब्हान पत्रमै उल्लेख गरेको बताएर पन्छिएका छन् भने अर्का अधिकारीले बिद्युत उत्पादन शुरु गरेको दोस्रो बर्षपछि १० प्रतिशतसम्म लाभांश दिनसक्ने दावी गर्छन । यसो भन्नुको मतलव आर्थिक बर्ष २०७८ यता माथिल्लो तामाकोशीका शेयरधनीले कुनै लाभांश पाउँदैनन् भन्ने प्रष्ट हुन्छ ।

माथिल्लो तामाकोशी २०७५ पुसमा निर्माण सम्पन्न हुने भनिएको कार्य तालिकामै २०७८।०७९ आर्थिक बर्षमा गएर मात्र लाभांश दिन सकिने आँकलन प्रस्तुत गरिएको थियो भने अब कति ढिला होला भनी सोच्नु एकदम सान्दर्भिक देखिन्छ ।

भ्याट रकम फिर्ता कहिले आउँछ ?

माथिल्लो तामाकोशीले आर्थिक बर्ष २०७६।०७७ मा चार अर्ब १० करोड खुद नाफा हुने प्रक्षेपण गरेको देखिएको छ र २०७७ ।०७८ मा त्यो घटेर २ अर्ब १२ करोडमा झर्ने आँकलन गरेको थियो । २०७५ पुस मसान्तमा बिद्युत उत्पादन शुरु हुन्छ र सरकारले दिने प्रति मेगावाट ५० लाख रुपैयाँको भ्याट रकम फिर्ता आउँछ भन्ने हिसाब समेत जोडेर २०७६। ०७७ मा चार अर्ब १० करोड खुद नाफा हुने देखाईएको प्रष्ट हुन्छ । तर अब आयोजना निर्माण हुने समय कम्तिमा झण्डै एक बर्ष पछि धकेलिएपछि त्यसको हिसाब अर्थहिन हुन गएको छ । अर्कोतर्फ सरकारले जलविद्युत आयोजनाहरुलाई प्रति मेगावाट ५० लाख रुपैयाँ भ्याट रकम फिर्ता दिने निर्णय नै अन्योलमा परेको अबस्था छ । यसअघि सम्पन्न भएका कुनै पनि आयोजनाले भ्याट रकम फिर्ता नपाएको र आँखुखोला, राधी लगायतका आयोजनाहरुले पटक पटक लिखित र मौखिक निवेदन हाल्नुका साथै मुद्धा गर्दा समेत सरकारले भ्याट रकम फिर्ता नदिएको हुँदा माथिल्लो तामाकोशीले मात्रै पाउँछ भन्नु मुर्खता हुनेछ । यसकारण पनि उसले आब्हान पत्रमा उल्लेख गरेको हिसाब मिल्दैन र भ्याट रकम फिर्ता आउँदैन । यसबाट पनि उसले आर्थिक बर्ष २०७६।०७७ मा प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ७२ पैसा हुन्छ भनी लेखेको कुरा झुटो हुुने ठहर्छ ।

माथिल्लो तामाकोशी र चिलिमेको तुलना गर्दा के देखिन्छ ?

शेयर बजारका कतिपय लगानीकर्ताले २२ मेगावाटको चिलिमे जलविद्युतले त बर्षेनी त्यति धेरै राम्रो लाभांश दिईरहेको छ, झन् ४५६ मेगावाटको माथिल्लो तामाकोशीले कति धेरै देला भन्ने आँकलन प्रस्तुत गरेको देखिन्छ । यहाँ निर हेर्नुपर्ने मुख्य कुरा के हो भने चिलिमेको प्रति मेगावाट निर्माण लागत कति थियो र उसले नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दा कति धेरै पैसा पाउँछ र माथिल्लो तामाकोशीले कति थोरै पाउँछ ?

चिलिमेको प्रति मेगावाट लागत ११ करोड २८ लाख रुपैयाँ हो भने माथिल्लो तामाकोशीको १५ करोड ३५ लाख माथि हुने संभावना छ । चिलिमले बर्षभरि उत्पादन गर्ने बिजुली प्रति युनिट समान मूल्य अर्थात ८ रुपैयाँ १७ पैसाको दरले बिक्री गर्छ भने माथिल्लो तामाकोशीको आधार बर्षको विजुली बिक्रीको औसत मूल्य प्रति युनिट ३ रुपैयाँ ५० पैसा तोकिएको छ । बिद्युत उत्पादन नहुँदासम्म एक पटकमा ३ प्रतिशतका दरले पाँच पटकसम्म विद्युत मूल्य बढाउने र उत्पादन शुरु भएपछि ९ पटकसम्म बढाउँन पाईने उल्ल्ेख गरिएको छ । ९ बर्षसम्म लगातार मूल्य बढाउँदा पनि यसको बिद्युत बिक्री दर ५ रुपैयाँ ३० पैसा नाघ्न सक्दैन भन्ने कुरा पीपीएमा स्पष्ट गरिएको छ ।

माथिल्लो तामाकोशीको खाने मुखै धेरै

चिलिमेले बार्षिक १३२ गिगावाट घण्टा बिजुली उत्पादन गर्छ भने माथिल्लो तामाकोशीले २२८१ गिगावाट घण्टा विजुली उत्पादन गर्छ । चिलिमे भन्दा माथिल्लो तामाकोशी निश्चित रुपमा ठूलो आयोजना हो र बिजुली पनि धेरै उत्पादन हुन्छ तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने माथिल्लो तामाकोशीको बिद्युत उत्पादन लागत धेरै परेको छ र आम्दानी भएपछि खाने मुख अर्थात शेयर संख्या पनि कयौं गुणा बढी छ । चिलिमेको चुक्ता पूँजी अहिलेसम्म कयौं पटकको बोनस वितरणपछि पनि चार अर्ब नाघ्न सकेको छैन भने माथिल्लो तामाकोशीको १० अर्ब ५९ करोड भईसकेको छ ।

जलबिद्युत र अरु कम्पनीको शेयरमा लगानीको अन्तर

बैंक तथा बित्तीय संस्था वा अरु बर्गका कम्पनीहरुले यस बर्ष भन्दा अर्को बर्ष आम्दानी बढाएर लैैजानसक्छन् तर जलबिद्युत कम्पनीहरुको आम्दानी बढ्ने भन्दा पनि झन् घट्दै जान खतरा हुन्छ । माथिल्लो तामाकोशीले अर्को अर्थात रोेल्वालिड. आयोजना बनायो भने पनि त्यो सम्पन्न हुन र बिद्युत उत्पादन थालेर नाफा बाँड्न समय लाग्छ । विद्युत कम्पनीकोे एकातिर आम्दानी घट्दै जाने र अर्को तिर बोनस शेयर जारी वा हकप्रद शेयर बिक्री भएर पूँजी थपिएको अबस्थामा प्रति शेयर आम्दानी कम हुन गई लाभांशको दर पनि कम हुनसक्छ ।

पूँजी बजारमा जलबिद्युत क्षेत्रका कम्पनी र शेयरको संख्यात्मक बृद्धिको चाप त छदैछ । १० प्रतिशत लाभांश दिईरहेका कम्पनीहरुको शेयर मूल्य नै २०० रुपैयाँ वा सो भन्दा मुुनीको मूल्यमा पाईराखिएको अबस्था छ ।

कम्पनीले आम्दानी नै नगरेको हुँदा मूल्य आम्दानी अनुपात लगायतका कुराहरुको हिसाक अहिले आउँने नै अबस्था भएन तर ३० पैसा घाटा प्रति शेयर आम्दानीको हिसाबले गणना गर्ने हो भने अहिलेको शेयरमूल्य १०३६ गुणा भन्दा धेरै महंगो हुन जान्छ, जुन धेरै खतरापूर्ण हो ।

फेरि बजारमा त्यस कम्पनीको कति शेयर संख्या छ भन्ने कुराले पनि मूल्यलाई प्रभाव पार्छ । अहिले नै माथिल्लो तामाकोशीको साढे चार अर्बको अंकित मूल्य बराबरको शेयर कारोबारमा आईरहेका छन् भने दोलाखा जिल्लाबासीले लिएको शेयर अबको साढे दुई बर्षपछि बजारमा बिक्रीमा आउँछ । कम्तिमा तीन बर्षसम्म लाभांश नपाईने यस कम्पनीको शेयर के कारण अहिले नै मरिहत्ते गरेर किन्ने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ तर कनिबेच गर्ने लगानीकर्ताको अधिकारमा कसैले बाधा ब्यवधान पुर्याउनु हुन्न भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । बजारमा स्वतन्त्र ढंगले किनबेच गर्न सबैले पाउनुपर्छ ।

मार्केट डेब्थ हेरेर मात्रै चल्नु कति गतिलो काम ?

शेयर बजारको मार्केट डेब्थमा शेयर किन्नेहरु मात्रै छन् वा बेच्नेहरु मात्रै छन् भन्ने कुरा दीगो नहुनसक्छ । मार्केट डेब्थ भनेको कर्कलाको पातमा परेको पानी जस्तै हो, त्यो क्षणभरमा विलुप्त हुन पनि सक्छ । जसले शेयर बजारमा मार्केट डेब्थलाई समाउँन सक्छ, त्यसले जित्छ तर यो काम त्यत्ति नै चुनौतिपूर्ण हुन्छ । एकछिन अगाडि लाखौं कित्ता शेयर किन्न बसेको देखिएको थियो भने क्षणभरमा खरिद आदेश फिर्ता लिएर लगानीकर्ताहरु पछि हटिदिनसक्छन् वा बिक्री आदेश ऋणभरमा रद्ध हुन पनि सक्छ ।

मार्केट डेब्थमा नन्नली खरिदकर्ता वा बिक्रीकर्ताहरु बसेर सर्बसाधारणलाई छक्याउने खेल खेलेका पनि हुनसक्छन् । कम्पनीको अबस्थामा भन्दा मार्केट डेब्थमा बिस्वास गरेर शेयर किनबेच गर्नु गतिलो काम हुँदै हैन । यसमा धोका पनि पाईनसक्छ ।

लहड वा भावनामा बगेर शेयर बजारमा लगानी गर्नुु कति घातक ?

शेयर बजारमा कसैको लहै लहै, लहड वा आफ्नै भावनामा बगेर किनबेच गर्नु पनि घातक काम हो ।

एक शेयर लगानीकर्ताको स्टाटस

कसैले शेयर किन्न उक्साएर महंगोमा बिक्री गरी फसाएका पनि हुनसक्छन् । फलानो कम्पनी राम्रो भन्दै भावनामा बगेर शेयर किन्दा थाम्नै नसकिने घाटामा पनि पर्न सकिन्छ । “मलाई त फलानो कम्पनीको नाम मन पर्छ…फलानो कम्पनी त यस्तो रे” भन्दै लगानी सम्बन्धी धारणा बनाउनु अघि विस्तृत अध्ययन गर्नेपर्छ । शेयर मूल्य बढ्ला र नाफा होला भन्ने भन्दा पनि कम्पनीले कति लाभांश दिन्छ र शेयरको मूल्य घटे पनि त्यसले आफ्नो खर्च धान्न र जोखिमबाट बचाउँनसक्छ कि सक्दैन भनेर हेर्नु एकदम महत्वपूर्ण छ, नत्र लामो समयसम्म गुमाउने संभावना बढी हुन्छ ।

कतिपयले फेसबुकमा सार्वजनिक रुपमा सल्लाह मागेर शेयर किनबेचको निर्णय लिएको पनि देखिन्छ, त्योे झन् घातक छ ।

निष्कर्ष

माथिल्लो तामाकोशी लगानी गर्न योग्य कम्पनी त हो तर कम्तिमा ५ देखि ७ बर्षसम्मका लागि दीर्घकालीन लगानी मात्र । आजको भोलि नै केही लाभांश पाईएला भनेर लगानी गर्नु आफ्नो सम्पति डुबाउनु नै हो । शेयर बजारमा शेयरको मूल्य कति कायम रहन्छ भन्ने कुराको ग्यारेन्टी कसैले गर्न सक्दैन । लाभांश दिईरहेका कम्पनीहरुको शेयर मूल्य अहिले नै दोस्रो बजारमा आईपीओको भाउमा फालाफाल छन् भने तीन बर्षपछि मुस्किलले १० प्रतिशतसम्म लाभांश दिनसक्ने कम्पनीमा सर्किट लगाएर शेयर किन्न मरिहत्ते गर्नुपर्ने किन ? त्यसैले सम्बन्धित कम्पनी र शेयर बजारको सबै कुरा बुझेर आफ्नो लगानीको प्रतिफल र जोखिमबहन क्षमता हेरी निर्णय गर्नुमै छ बुद्धिमानी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here