सेयर बजारमा चलाखीपूर्ण खेलहरु हुने गर्छन, त्यसको उदाहरण साताको अन्तिम दिन बिहीबारको सेयर कारोबारमा नेपाल टेलिकमको मार्केट डेब्थले पुष्टि गरेको छ ।

कारोबारको अन्तिम समयतिर नेपाल टेलिकमको मार्केट डेब्थमा निकै चलखेल भयो । केही मिनेट अघि किन्नेतर्फ ५९ हजार कित्ता र बेच्नेतर्फ ६ हजार कित्ता देखाईएको थियो । वास्तवमा किन्नेतर्फ देखाईएको ५९ हजार कित्तामा सबै किन्न बसेका हैन, सेयरको भाऊ बढाउन धेरै कित्ता किन्नेतर्फ देखाईएको थियो । किन्ने र बेच्ने दुबै तर्फको पहिलो नम्बरमा रहेका साना कित्ताहरुले यसलाई पुष्टि गर्छन ।

वास्तविक खरिदकर्ता र बिक्रीकर्ताहरु तिनै पहिलो लहरमा देखिएका हुन्, खेल गर्नेहरुले त नदेखिने गरी ठूला कित्ताहरु खरिदतर्फ राखेका थिए तर सर्बसाधारण लगानीकर्ताले जम्मा सेयर संख्या हेरे र झुक्किए । मार्केट डेब्थ सर्बसाधारणको पहुँचमा भएपछि चलाखीपूर्ण खेल गर्नेहरुले यस्तै गतिबिधि गर्दै आएका छन् ।

केही समयपछि किन्नेतर्फको धेरै सेयर संख्या एक्कासी घटेर बेच्नेतर्फ एउटैले १० हजार कित्ता राखिदियो ।

जोसँग धेरै कित्ता सेयर थियो, उसले सेयरको भाऊ जबरजस्ति घटाउन यस्तो गरेको हुनुपर्छ किनभने एकैजनाले नेपाल टेलिकमको १० हजार कित्ता सेयर किन्ने क्षमता कमै लगानीकर्ताले राख्छन् । ८६ लाख ५० हजार रुपैयाँ खर्चेर घट्दो बजारमा यत्ति ठूलो कित्ता किन्ने हिम्मत कसले राख्ला ? अनि यत्ति ठूलो एउटै कित्ता बेच्न राख्ने को होला ?

बिहीबारको तीब्र खेलका बीचमा नेपाल टेलिकमको सेयर मूल्यले ४० रुपैयाँको घाटा लगानीकर्तालाई ख्वाएको अबस्था छ । केही दिनदेखि टेलिकमको सेयरमा मूल्य तलमाथि गर्नेहरु योजनाबद्ध रुपमा सक्रिय देखिएकै थिए ।

त्यसैले मार्केट डेब्थ हेरेर मात्रै सेयर नकिनी न्युनतम मूल्यमा राम्रो कम्पनीको सेयरमा उचित मूल्यमा दीर्घकालीन लगानी गर्नु उचित हुनेछ । बजारमा सेयर ब्यापारीहरुले मार्केट डेब्थमा बनावटी चलखेल गरेर मूल्यलाई तलमाथि गरेका हुनसक्छन् । यस्तो उतार चढावपूर्ण बजारमा छोटो समयका लागि उच्च मूल्यमा सेयर किन्नेर छोटो समयका लागि लगानी गरेकाहरु जोखिममा पर्न सक्छन् । नेपाल टेलिकम राम्रो कम्पनी भए पनि बुद्धिमत्तापूर्ण रुपमा दीर्घकालीन लगानी गर्र्नुपर्ने आबश्यकता खटकिएको छ ।

नेपाल टेलिकम रणनीतिक साझेदारीको पखाईमा रहेको राम्रो कम्पनी र मूल्य आम्दानी अनुपात अति कम भए पनि तत्कालको घाटा खानबाट भने लगानीकर्ता जोगिनैपर्छ । सस्तोमा सेयर बेच्ने हैन, दीर्घकालीन लगानी गरेर जोखिम ब्यहोर्नसक्नुपर्छ । आज मूल्य तल झार्न खेल खेल्नेहरुले भोलि उचालेर माथि लैजाने नै छन् । राम्रो कम्पनी भएकाले आँत्तिनुपर्ने आबश्यकता छैन ।

अब चाँडै साधारणसभा आब्हान गरेर गत बर्षको आकर्षक लाभांश बाँड्ने र रणनीतिक साझेदार भित्र्याउने कुरा अगािड बढाउने भएकाले टेलिकमको सेयर मूल्य सकेसम्म घटेको बेलामा किनेर दीर्घकालीन लगानी गर्नु उचितै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here