तीन महिना लामो लकडाउन खुकुलो भएर दोस्रो बजार खुल्ने तरखर हुँदै गर्दा प्राथमिक बजारमा शेयर बिक्रीको ओईरो लाग्ने संकेत देखिएको छ ।
धितोपत्र बोर्डबाट सर्बसाधारणलाई प्राथमिक शेयर (आईपीओ) बिक्रीका लागि पाँच वटा कम्पनीले अनुमति पाएकोमा तीन वटाले तत्कालै आबेदन खुल्ला गर्ने संभावना रहेको छ । यसमध्येको एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि नै ४७ लाख ५५ हजार कित्ता प्राथमिक शेयर बिक्री शुरु गर्दैछ ।
एक अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँँजी रहेको एनआईसी एशिया बैंकको सहायक कम्पनीले ल्याउने आईपीओमा चार लाख ४७ हजार जनाले आबेदन गरे पनि अहिलेको बाँडफाँड मोडल अनुसार १० कित्ता शेयर हात पार्ने छन् । लघुवित्त क्षेत्रमा यो सबैभन्दा ठूलो आईपीओ हो ।
एनआईसीको बिक्री सकिने बित्तिकै अजोड ईन्स्योरेन्सले ३० करोड बराबरको र साधना लघुवित्तले सात लाख सात हजार आठ सय कित्ता आईपीओ बिक्रीमा ल्याउने छन् ।
अजोड ईन्स्योरेन्सले आर्यपीओ बिक्रीको स्वीकृति पाउनासाथ अब यो स्पष्ट भएको छ कि अरु १२ वटा जीवन र निर्जीवन बीमाले पनि चाँडै अर्बौको आईपीओ बिक्रीमा ल्याउँदैछन् । जनरल इन्स्योरेन्सले पनि ३० करोडको आईपीओ बिक्रीमा ल्याउन अनुमति मागिसकेको छ ।
लिवर्टी हाईड्रो र युनाईटेड ईदि मदी आबी हाईड्रोले आयोजना प्रभावित जिल्लाबासीलाई शेयर बिक्रीको अनुमति पाएको भए पनि उनीहरुले देशभरिका सर्बसाधारणलाई शेयर बिक्रीमा ल्याउन भने समय लाग्ने देखिएको छ ।
नेपाल पुनर्बिमा कम्पनीले यस अघि नै एक अर्ब ६० करोडको शेयर बिक्री गरेर नेप्सेमा सूचीकरण गराईसकेको छ भने अब खुल्ने बजारमा पहिलो कारोबार हुनेछ ।
१५ वटा कम्पनीहरु शेयर बिक्रीका लागि धितोपत्र बोर्डमा अनुमतिको पखाईमा छन् ।