कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर ( आईपीओ) मा पनि सर्बसाधारण लगानीकर्ताले राम्रा कम्पनी छानेर लगानी गर्न थालेका देखिएको छ ।

हिमालय उर्जा बिकास कम्पनीले आईपीओ निश्काशन गरेको तीन कार्य दिनमा माग भन्दा बढी तीन गुणा आबेदन प्राप्त गरेको छ भने युनियन हाईड्रोले समय थप्दा समेत आबश्यक आबेदन प्राप्त गर्न नसकेर सास्ती ब्यहोरेको छ ।
हिमालय उर्जाले सर्वसाधारणका लागि चैत्र २० गतेदेखि बिक्रीमा ल्याएको १३ लाख ६६ हजार कित्ता शेयरमा आईतबार साँझसम्ममा ५१ हजार भन्दा बढी आबेदकबाट ३७ लाख ३५ हजार भन्दा बढी कित्ताको लागि आबेदन प्राप्त भएको जनाएको छ । यसको शेयरमा आज सोमबार आबेदन दिने अन्तिम दिन तोकिएको छ ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको तेश्रो दिन मै माग भएभन्दा ३ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति– दोस्रो गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने दुलालले बताए ।

उता सर्बसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको युनियन हाईड्रोपावरको ३५ लाख कित्ता शेयर चार कार्य दिनमा बिक्न नसकेर समय थप्नु परेको छ । युनियनको ३५ लाख कित्तामा अझै ५ लाख भन्दा बढी कित्ता बिक्न बाँकि छ ।

कम्पनीले छिटोमा चैत १७ गतेसम्म आवेदन दिन मिल्ने गरी बिक्रीमा ल्याएको ३४ लाख ६३ हजार कित्ता शेयरमा सबै शेयर खरीदको लागि आवेदन नपरेपछि ढिलोमा वैशाख १२ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था गरेको हो ।

कम्पनीले चैत १३ गतेदेखि आयोजना प्रभावितले नकिनेको शेयर समेत गरेर १ सय रुपैयाँ अंकित दरका ३५ लाख ३४ हजार ३४० कित्ता शेयर सर्बसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

३.३ मेगावाटको आयोजना निर्माण गरेको युनियनको प्रति मेगावाट लागत २६ करोड ५० लाख छ । उसले सामान्यतया १० बर्षपछि मात्र लाभांश दिनसक्छ । कम्पनीको समग्र अबस्था अति कमजोर रहेकाले कम्पनीले ग्रेड ५ रेटिङ पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here