बैकिड. क्षेत्रका हस्तीहरु अनिल केशरी शाह, रामबाबु पन्त लगायतका बैंकरहरुलाई त्रिभुवन विश्वविद्यालयमा ४० बर्षसम्म फाईनान्स पढाउनु भएका प्राध्यापक डा. मनोहरकृष्ण श्रेष्ठ सेयर बजारका बिज्ञ हुनुहुन्छ । नेपालको सेयर बजार बिकास र बिस्तारका लागि स्पष्ट दृष्टिकोण राख्ने उहाँसँग सेयरलगानी डटकमका सम्पादक तिलक कोइरालाले गरेको बिस्तृत कुराकानीः

सेयर बजारको अहिलेको घटाईलाई कसरी लिनुहुन्छ ?

अहिले धेरैले सेयर बजार घट्यो भन्दैछन्, यो डाउनफल हैन, टेक्निकल करेक्शन मात्रै भएको हो । डाउनफल त्यतिखेर भन्न सकिन्थो जतिखेर १२०० रेन्जमा नेप्से आएको हुन्थ्यो । नेप्से सूचक १८०० तिर गएको भए बुलिस ट्रेड हुन्थ्यो । रेण्डम्ली मार्केट करेक्शन हुँदा यस्तो हुन्छ । मार्केटको आफ्नै डाईरेक्शन्स र मुभमेन्ट हुन्छ, ट्रेण्ड हुन्छ, कहिले अपवार्ड त कहिले डाउनवार्ड फेजिड. हुन्छ । त्यही मुभमेन्टमा बजार गएको छ । यसलाई मार्केट साईकोलोजीले पनि गाईड गरेको हुन्छ ।

नयाँ सूचनाले पनि बजार तरंगित भईदिन्छ । अहिले चुनाव भयो र नयाँ सरकार आउँदैछ । पोलिटिकल र अरु कुराले प्रभाव कत्ति पनि नपारेको त हैन, अलि अलि त्यो कुराको पनि प्रभाव छ । जस्तो भ्याटकै कुरा छ । यी कुरा हेर्दाखेरी मार्केट वियरिस भएको हैन, टेक्निकल करेक्शन मात्रै भएको हो ।

मार्केट रेन्डम्ली मुभ हुँदा डिभिडेन्ट र बोनस एनाउन्समेन्ट अनि राईटले पनि अप्स एण्ड डाउनवार्ड भुभमेन्टलाई बल पुर्याउँछ । त्यसले मास साईकोलोजी क्रियट गर्छ । मार्केटलाई मास साईकोलोजीले ड्राईभ गर्छ ।

बाम गठबन्धनको सरकार बन्यो भने पूँजी बजार घट्छ, अर्थतन्त्र डाँवाडोल हुन्छ,लगानी बाहिरिन्छ, बिदेशी लगानी आउँदैन भनेर हल्ला फिजाँईदै छ नि ? बिज्ञको हिसाबले के भन्नुहुन्छ ?

कसले भन्छ यस्तो कुरा ? यो देशमा कर्पोरेट लाईनमा गएको पार्टी भनेकै नेकपा एमाले हो । काँग्रेस र माओबादी केन्द्र त ब्यक्तिगत हिसाबले प्रपर्टी जम्मा पार्ने लाईनमा गएका हुन् । एमालेका नेता, कार्यकर्तालाई हेर्नुस, प्रायः जम्मै कुनै न कुनै बैंक वा कर्पोरेट ईन्ष्टिच्युशनका सेयरहोल्डर छन् । कोही बैंकका अध्यक्ष र संचालक छन् कोही हस्पिटल र एजुकेशनल ईन्ष्टिच्युशन्समा छन् । कहीँ न कहीं सेयरहोल्डर नभएको एमालेका कमै नेता र कार्यकर्ता होलान् । मैले कतिपय एमाले नेता, कार्यकर्ताहरुको लालपूर्जा, सेयरपुर्जा हेर्दा खेरी यो देशको अर्थतन्त्र डाँवाडोल भयो, सेयर बजार डुब्यो भने त एमाले डुब्छ । इकोनोमी क्र्यास भयो भने एमाले त खत्तम हुन्छ । कसैले आफैलाई जानी जानी घाटा हुने काम गर्छ त ? नबुझ्नेहरुले यस्तो हल्ला गरेका हुनसक्छन् ।

पहिलेको कार्ल माक्र्स र माओको जमाना गईसक्यो, अब मार्केट ईकोनोमीले विश्वलाई रुल गरिसक्यो । ईन्भेष्टमेन्ट फ्रेण्डली पोलिसीमा नगई सुखै छैन । चीनमै हेर्नुस कम्युनिष्ट ब्यवस्था छ तर डाउन साईज अफ ईकोनोमीबाट अपर साईजमा जाँदा अर्थतन्त्रको बिकास कसरी भएको छ, लगानी कसरी ओईरिएको छ, आर्थिक बिकास कसरी भएको छ ? उ वल्र्ड ईकोनामिक पावर भएर आईसक्यो । मल्टी विलिनियरहरु चीनमा छन् तर प्रणाली त कम्युनिष्ट छ नि त्यहाँ ।

यहाँ पनि बाम गठबन्धन भएपछि स्टेट रन अर्थात नियन्त्रित अर्थ ब्यवस्था हुने छैन । ओलीजीको बोली त सुनिहाल्नु भयो । स्टक मार्केटलाई अरु बलियो र ब्यापक बनाउनुपर्छ भनेर उहाँले भनिसक्नु भयो ।

चीन बाहेक अरु देशले नेपाललाई के दिए भन्दा खाली उपभोगका कुरा मात्रै दिए । चीनले हामीलाई उत्पादन बढाउने कारखानाहरु बनाईदिएको छ, उद्योगहरु खोलेर लगानी गरिदिएको छ । वान बेल्ट वान रोडकै कुरा गर्दा पनि नेपालको लागि धेरै ठूलो संभावना हो ।

चीनले नेपालमा कहिल्यै राजनीतिक हस्तक्षेप गर्न खोजेको छैन र गर्दैन पनि तर अरु देशको कुरा गर्नुभयो भने डाईरेक्ट पोलिटिक्स र ईकोनोमीमा हिट गर्न खोज्छन् । एमाले र माओबादीलाई पनि चाईनाले नै हिन्स दिएको हो दाजुभाईहरु मिल भनेर । मिलेर आर्थिक विकास गर भन्नु कुनै हस्तक्षेप हैन । अरु फुटाउँन चाहन्छन्, उ जुटाउँन चाहन्छ । फरक यत्ति हो ।

सेयर कारोबारमा ब्रोकरले असुल गरेको कमिशनमा भ्याट लगाउने कुरालाई चाँही कसरी हेर्नुहुन्छ ?

हेर्नुस, भ्याट भनेको कन्जम्शन ट्याक्स हो । जुन बस्तु अन्तिम उपभोक्ताले उपभोग गर्छ, त्यसमा भ्याट असुलिन्छ । यो त उपभोग गर्ने चिज हैन, किन्ने र बेच्ने हो । सेयर कारोबार, बैंक, बित्तीय संस्था, सहकारी, बीमालाई बस्तु भन्ने कि बित्तीय सेवा भन्ने ? कम्जम्शन गुड्स हो भने भ्याट लाग्ने हो । अर्कोतर्फ ऐन कानुनले नै स्पष्ट शब्दमा बित्तीय सेवा भनेर परिभाषित गरेको छ भने त्यसमा भ्याट लाग्ने कुरा कहाँबाट आयो ? तपाइँ पुरै सेयर कारोबार भन्नुस वा त्यसबाट असुल गरेको कमिशन भन्नुस, त्यसमा भ्याट लगाउने कुरा बिबाद खडा गर्ने र सेयर बजारमा अन्योल थप्ने कुरा मात्रै हुन् । सरकारी अधिकारीहरुले बुझेर पनि बुचपचाएका कुरा हुन् । आफैले बनाएको कानुनलाई तोडमरोड गरेर सरकारी अधिकारीहरुले अन्योल बढाउँन खोजेका छन् जस्तो लाग्छ । सेयर बजार बिशुद्ध फिनान्सियल सर्भिस हो र भ्याटको कुरा ल्याउनुहुन्न ।

उसोभए लगानीकर्ताको मनोबल खस्कुनको कारण चाँही के हो त ?

यसमा मास र रेस्नल साईकोलोजीको फरक पाटो छ । फाईदा कहिले बुक गर्ने भन्ने कुरा आउँछ । कम्पनीका बोनस सेयरहरु आईरहेका छन् । हकप्रद सेयरपछि मूल्य समायोजन भईरहेका छन् । कतिपय राम्रा बाणिज्य बैंककै मूल्य दोब्बरले घटेको छ । यसमा बुकिड. द प्रफिटले पनि काम गरेको छ । हामीले एउटै कम्पनीको हाई प्राईसमा पनि सेयर किन्न सक्छौ, लो प्राईसमा पनि किन्न सक्छौ । एकपछि अर्को राम्रो कम्पनीको सेयर मूल्य घटिरहेको छ भने मैले त पैसा लगाउने हो नि, मैले लगाईरहेको पनि छु । जब मार्केट बढ्छ, सेयरलाई नगदमा रुपान्तरण गर्ने र जब मार्केट घट्छ, नगदलाई सेयरमा रुपान्तरण गर्ने । यो एउटा कन्भर्सन प्रोसेस हो ।

मास साईकोलोजी भनेको कस्तो भने उनीहरु रियुमर एण्ड रियाक्टमा बढी जान्छन् । यसलाई ईर्यास्नल साईकोलोजी भन्छौ । अर्को अर्थमा सेन्टिमेन्टल रेस्पोन्स भन्छौ । ईन्फरमेशनलाई एनालाईसिस गरेर रेस्नल साईकोलोजी बनाउने हैन कि मास साईकोलोजी लहै लहैमा जान्छ, अहिले भईरहेको त्यही हो, ईर्यास्नल साईकोलोजीले काम गरेको छ ।

यस्तो बेलामा कन्भटिंड. क्यास ईन्टु सेयर गर्ने हो अर्थात आफुसँग भएको पैसाले राम्रा, राम्रा कम्पनीेका सस्तो मूल्यमा झरेका सेयर किन्ने हो । मैले कन्भर्टिड. क्यास इन्टु सेयरको सुत्र लागु गरिरहेको छु ।

जीवन जम्मा चारवटा पुर्जाले चलेको हुन्छ । यसमध्ये रियल एसेस्ट अर्थात लाल पुर्जा, फिनान्सियल एसेस्ट भनेको सेयर पूर्जा हो । लाल पुर्जा र सेयर पूर्जा कुनमा जाने भन्दा अहिले त मानिसहरु लाल पुर्जामा भन्दा सेयर पुर्जामा गईरहेका छन् । लाल पुर्जामा समस्या आउँछ कि भन्ने छ, त्यसलै सेयर पुर्जा बेचेर तुरुन्तै क्यापिटल गेन गर्नसक्छ, क्याँस बनाउँन सक्छ ।

मार्केट केही फल भएको अबश्य हो तर बियरिस भएको हैन, यस्तो बेलामा आँत्तिने भन्दा धैर्य हुनुपर्छ । यसमा पनि मेरो अलग थ्यौरी छ ।

बोनस सेयर भनेको जिरो ईन्भेष्टमेन्ट हो । पहिले नम्बर अफ सेयर कम थियो, मार्केटमा सेयर मूल्य महंगो थियो, अहिले बोनस र अरु सेयर थपिएपछि मूल्य त तल आउँछ नि । यसलाई प्राईस एड्जस्ट भएको मान्नुपर्छ, घटेको हैन । कम्पनीहरुको सेयर संख्या चाँही बढ्यो तर उसको आम्दानी सोही अनुपातमा भएन, हामी यसलाई स्टक स्पिलिट ईफेक्ट भन्छौ ।

यहाँले भनेको कुरा आफ्नो ठाउँमा सही होला तर पहिले जस्तो बजारको कारोबार रकम पनि छैन नि । जुन प्रकारको सेयरको माग हुनुपर्दथ्यो बा पहिले जुन तहको कारोबार रकम हुन्थ्यो अहिले त आधा भन्दा बढी नै घटेको छ नि । यसलाई कसरी हेर्ने ?

यसमा चाँही रेगुलेटरहरुको कमजोरी देख्छु म । उनीहरुले मार्केटलाई फेस्सिलेट गर्नुपर्ने थियो तर विभिन्न किसिमका ह्यास्सलहरु ल्याएर ह्यारेसमेन्ट गरिरहेका छन् । स्टक मार्केट भनेको टेक्नोक्र्याटिकल्ली चल्नुपर्नेमा ब्युरोक्र्याटिकल्ली चलाउन खोजियो । सेबोन, राष्ट्र बैंक, बीमा समिति, नेप्से सबै ठाउँमा ब्युरोक्रेसी हावी छ र त्यसले ह्यास्सलहरु क्रियट गरेको छ ।

एउटा उदाहरणकै कुरा गरौं । पहिले राईट कल हुँदा एउटा सेयरधनीले जत्ति पनि भर्न पाउँथ्यो, त्यो प्रिगेटिभ राईट्स अफ सेयरहोल्डर्स थियो । त्यो सेयरहोल्डर्स भन्दा बाहिर जाँदैनथ्यो । तर अहिले सिमित संख्यामा भर्नपर्ने अनि नबिकेको अक्सन गरेर बेच्ने गर्दा त सेयरहोल्डर्सको राईट कहाँ गयो ? कम्पनीले नाफा गर्ने चाँही भयो तर रेगुलेटर्सहरुको कमजोरीले बिकृति के ल्याईदियो भने मेजोरिटी प्रमोटरर्सहरुले मनलाग्दी गर्न थाले । माईनोरिटी सेयरहोल्डर्सहरुको हित सुरक्षा भएन । अहिले सेयरहोल्डर्सको प्रपर्टी अक्सन गरेर मालप्राक्टिस गरिएको छ । डाईलुट अफ अनरसिप गरिएको छ । एउटा घरमा तीन जना दाजुभाई छन् भने बाहिरको एकजना ल्याएर चार जनालाई अंश लगाए जस्तो प्राक्टिस गरिएको छ ।

यसले एकातिर सर्बसाधारण सेयरधनीको सम्पतिको मूल्य घटाईदिएको छ भने दोस्रो बजारमा आउनुपर्ने  पैसा अक्सनतिर गएको छ । दोस्रो बजारको टोटल ट्रान्जेक्शनमा यो अक्सनको पनि प्रभाव छ । सप्लाई अफ सेयर बढेपछि मार्केट फल हुन्छ, मार्केट फल भएपछि क्र्यासको पनि संभावना हुन्छ ।

कम्पनीका प्रमोटर र म्यानेजरहरु हार्डवर्क गर्ने भन्दा पनि ईजी मनीतिर गए । यसको लंगटर्म ईफेक्ट चाँही जरुर पर्छ ।
रेगुलेटर्सहरुमा फार साईट भएन, सेयरहोल्डर्सको राईटलाई भ्वाईलेशन गरियो र जथाभावी गरियो ।

यस्ता कुरा त लगानीकर्ता संघहरुले उठाउनु पर्ने हैन र ?

तपाइँ कुन लगानीकर्ता संघको कुरा सोध्दै हुनुहुन्छ ?

यहाँ वास्तविक लगानीकर्ताको आवाज बोल्ने कुनै लगानीकर्ता संघहरु रहेको मैले पाएको छैन । जे जत्ति संघहरु छन् र उनीहरु आफूलाई लगानीकर्ता संघ भन्छन्, सबैमा ईन्टे्रष्ट अफ कन्फ्लििक्ट छ । आफ्नो स्वार्थमा धक्का लाग्ने कुरा कोही बोल्न चाँहदैनन् । कोही कुनै कम्पनीका प्रमोटर छन्, कोही कुनैंको डाईरेक्टर, उनीहरुले आफ्नो कम्पनीको कुरा बोल्ने कि आम लगानीकर्ताको हितमा बोल्ने ? आफ्नो ईन्भेष्टमेन्ट कम्पनीको पक्षमा बोल्ने कि समग्र ईन्भेष्टर्सको पक्षमा वकालत गर्ने ? उनीहरुबाट यस्ता कुराको बिरोध हुने कल्पनै नगर्नुहोस् ।

कतिपयलाई त त्यस्ता संघहरु कमाउने भाँडो भएको छ । ईन्भेष्टर्स आफै जागरुक हुनुपर्छ । तत्काल त्यो पनि संभव देख्दिन ।

उसो भए ईन्भेष्टर्सको राईटका लागि के गर्नुपर्ला त ?

सबैंभन्दा महत्वपूर्ण कुरा ईन्भेष्टर्स प्रोटेक्शन एक्ट ल्याउनुपर्छ । त्यस्तो एक्ट ल्याएपछि कुनै संघले नबोले पनि ईन्भेष्टर्स आफैले आफ्नो अधिकार खोज्नसक्छ । अरु देशमा यस्तो एक्टले नै ईभेष्टर्सको राईट सेक्योर गरेको हुन्छ । हामी कहाँ सेबोनले ध्यानै दिएको छैन ।

रिलायवल डेभ्लपमेन्ट बैंक, हिमालयन जनरल, हामा फाईनान्स जस्ता धेरै ईस्युहरुमा लगानीकर्तालाई मिसलिड गरियो, त्यो एक्ट भईदिएको भए त्यसले नै काम गर्दथ्यो नि । अहिले त कम्पनीले जे गरे पनि हुन्छ, ईन्भेष्टर्सले आफ्नो राईटको भ्वाईलेशन भएको कुरा भन्ने कुनै कानुनी आधार छैन ।

उजुरी गर्यो भने पनि सेबोनले केही कारबाही गरेको जस्तो गर्छ, आखिरमा कम्पनीकै संचालकको हात माथि पर्छ । कतिपय अबस्थामा त सेबोनले हाम्रो जानकारीमै छैन भन्छ । सेबोनले यसरी ईग्नोरेन्स गर्न मिल्छ ?

एउटा सेयरधनीको मृत्यु भयो भने उसको सेयर नामसारी गर्न ३५ दिने सूचना निकाल्नुपर्ने, पत्रिकामा सूचना निकालेको पैसा पनि ईन्भेष्टरले नै ब्यहोर्नपर्ने र अनेक कागजी प्रक्रिया पुरा गरेर पनि ६ महिना कुर्नुपर्ने बाध्यता छ । सबै प्रक्रिया पुगेको छ र कागजात जुटाईएको छ भने यस्तो दुख सेयरधनीलाई किन दिने ? यहाँ धेरै मिलेमतो गरेर खाने चलन रहेछ । यो सबै बेथिति ईन्भेष्टर्स प्रोटेक्शन एक्ट नभएर नै हो । त्यसलाई तत्काल ल्याउने ब्यवस्था गर्नुपर्छ ।

अहिलेको अबस्थामा सेयर बजारलाई बुझ्दै नबुझेको वा कम बुझेको लगानीकर्ताले के गर्ने होला त ?

रेस्नल जजमेन्ट गर्नुपर्छ । त्यो भनेर सबै कुरा बुझेर, बिश्लेषण गरेर लगानी गर्ने भनेको हो । कम्पनीको अबस्था बुझ्ने, उसको ट्रयाक रेकर्ड हेर्ने, कम्तिमा पाँच बर्षको । धेरै गहिरो एनालाईसिस गर्यो भने पनि प्यारालाईसिस हुने संभावना हुन्छ तर  रेस्नल चाँही हुनैपर्छ ।

मैले अहिलेका साना लगानीकर्तालाई भन्ने कुरा के हो भने साना लगानीकर्ता भनेर हेपिनुहुन्न । मूल्य घटेको बेलामा थोरै थोरै किन्दै जाने, २०,३० कित्ताको दरले किन्ने बेच्ने बेलामा १००-१०० कित्ता बेच्ने ।

सेयर किन्ने सवालमा पनि राम्रो ग्रोथ भएका कम्पनीको सस्तो सेयर किन्ने । मैले पाँच हजार कित्ता किन्नेहरुलाई एकैचोटी त्यसरी नकिन भनेर सम्झाउँछु तर मान्दैनन् । थोरै -थोरै किन्दा रिस्कको मात्रालाई कम गराईदिन्छ र एभरेस प्राईस कम हुनसक्छ । क्यापिटल गेन पनि धेरै हुन्छ ।

नबिल बैंकको मैले सुरुमा किनेको १० कित्ता नै हो तर अहिले ३ हजार कित्ता छ । १० कित्ता भनेर हेप्नु र हेपिनु हुन्न । थोपा थोपा गरेर नै सागर बन्छ । राष्ट्रिय बीमा कम्पनीमा मैले ४६० रुपैयाँ मात्रै लगानी गरेको हो, आज मसँग त्यसको साठी लाख रुपैयाँ बराबरको सेयर छ ।

मार्केटमा अहिले रिभर्सल ईफेक्ट छ । यस्तो हुनु नपर्ने हो तर भईरहेको छ । कम्पनीहरुले बोनस डिक्लेयर गर्दा मार्केटमा नेगेटिभ ईफेक्ट देखिएको छ र मूल्य झरेको छ । नेगेटिभ ईफेक्टमा मौकामा चौका हान्नसक्नुपर्छ ।

राईट सेयर भनेको १०० रुपैयाँमा किन्ने हो, बोनस सेयर भनेको जिरो ईन्भेष्टमेन्ट हो । प्रिजेन्ट भ्यालु क्यास, फ्युचर भ्यालु बोनस, ईन्क्ल्यिुजिड. भ्यालु राईट भन्ने मेरो मान्यता छ । यही लगानी मान्यतालाई आत्मसात गर्दा म जहिल्यै पनि उत्साहित र हंसिलो मुहार बनाएर हिड्न सकेको छु ।

ब्ल्युचिप्स कम्पनीहरुको सेयर मूल्य तल आएको छ, तिनीहरु मज्जाले किन हुन्छ । राम्रा बाणिज्य बैंकहरुकै सेयर ३०० रुपैयाँ भन्दा तल आएको छ भने यो मौका हो । डाउटफुल बाणिज्य बैंकहरुबाट भने जोगिनुस । मैले अरुलाई भनेको मात्रै छैन, आफु पनि मूल्य तल आएका ब्लुचिप्स कम्पनीका सेयरहरु किनिरहेको छु ।

नराम्रो कम्पनीलाई चाँही तुरुन्तै फालेर राम्रा कम्पनीमा लगानी डाईभर्सिफाई गर्नुपर्छ । नराम्रो कम्पनी जस्तो नेशनल हाईड्रो जस्ताको सेयर पालिराखेर लगानीकर्तालाई बर्षौसम्म पनि फाईदा हुँदैन । रोगलाई किन पाल्ने ? ब्याड कम्पनीलाई बेचेर लस मिनिमाईज्ड गर्नुपर्छ । ब्याड पोर्टफोलियोबाट बेटर पोर्टफोलियामा जान सक्नुपर्छ । यसो गर्न हिम्मत चाहिन्छ, हिम्मत गर्नेले नै हो सेयर बजारबाट सुरक्षित रुपमा कमाउने ।

नेपालको सेयर बजारलाई बिकास र बिस्तार गर्न चाँही के गर्नुपर्ला ?

सबैभन्दा पहिले नेपालको सेयर बजारलाई ब्युरोक्र्याटको हातबाट टेक्नोक्र्याटको हातमा ल्याउनुपर्छ । त्यो पुरै शासकीय मामिला हो । कर्मचारीले सरकार चलाउने कि ब्युरोक्र्याट्सले भन्ने कुरा नै पहिले डिफाईन हुनुपर्छ ।

ईन्टरन्याशनल प्राक्टिसमा पूँजी भएको मान्छेले पूँजी बजार चलाउने हैन, दिमाग भएको मान्छेले चलाउने हो । मान्छेले क्यापिटल ईन्भेष्टमेन्ट गर्छ । लाईन अफ डिमार्केशनले ईन्भेष्टमेन्ट एण्ड ईन्डष्ट्री भनेर छुट्याईसक्यो । जस्तो ईण्डियामा टाटा बिरलाले अब कमर्शियल बैंक खोल्दैन तर हामी कहाँ त्यही मान्छेले कमर्शियल बैंक खोलेर लोन लिएपछि कसरी त्यो बैंक राम्रो हुन्छ ? हाम्रो गभर्नरले पनि यो कुरा उठाउनु भएको हो । लाईन अफ डिमार्केशन हुनैपर्छ । ब्युरोक्र्याटले चलाउने कि टेक्नोक्र्याटले चलाउने हो भन्ने र नन एक्जुकेटिभ डाईरेक्टर्सको कन्सेप्टबारे सुस्पष्ट भएर जानैपर्छ ।

अर्को ईन्टरन्याशनल प्राक्टिसमा स्टक एक्सचेन्ज भन्ने कुरा स्वायत्त हुन्छ र त्यहाँ प्राईभेट सेक्टर र ब्रोकरहरुको ईनभल्भमेन्ट हुन्छ । मैले न्युयोर्क स्टक एक्सचेन्ज, बम्बै स्टक एक्सचेन्ज सबैतिर हेर्दाखेरी यही कुरा देखें । सरकारले नियमन मात्रै गर्छ । तर यहाँ त केन्द्रिकृत अर्थ ब्यवस्थाको जस्तो सरकारले स्टक एक्सचेन्जलाई होल्ड गरेर राखेको छ । स्टक एक्सचेन्जमा पनि सरकार आफै, नियमन गर्ने सेबोनमा पनि सरकार आफै छ अनि पूँजी बजारको बिकास कसरी हुन्छ ?

अहिले भएको नेप्सेलाई निजीकरण गर्नुपर्छ भन्दिन, रिस्टक्चरिड.चाँही अनिबार्य रुपमा गर्नुपर्छ । पहिले नेप्सेमा ब्रोकर र प्राईभेट सेक्टरको सहभागिता बढाउनुपर्छ । सबै हिस्सेदारी आफैले लिएर कसरी सरकारले पूँजी बजारको बिकास गर्नसक्छ ?

भएकैलाई राम्रो बनाउने हो, अहिले नयाँ ल्याउने कुरा गर्नुहुन्न । नेप्सेको एउटा सफ्टवेयर त हामीले फेर्न सकेका छैनौ, डेट एक्सपाएर सफ्टवेयर चलाईरहेका छौं । नयाँ स्टक एक्सचेन्जको कुरा गर्दा साईज अफ मार्केटले थेग्न सक्दैन । अर्को स्टक एक्सचेन्ज ल्याउन साईज अफ द मार्केट नै पुगेको छैन । एक अर्ब कारोबारको मार्केटले दुई स्टक एक्सचेन्ज धान्दैन, ओभरल्यापिड. हुन्छ, त्यसपछि झन् धेरै बिकृति र समस्या आउँछ । अहिले माईक्रोफाईनान्सको पनि त्यही भईरहेको छ । संस्थापकहरुले सेयर बेचेर भाग्ने, नयाँ मान्छे फस्ने हुन्छ ।

नेप्सेसँग पैसा नभएको हो र ? सेबोनको भन्दा बढी पैसा छ । आर्थिक स्रोत नभएकाले काम गर्न नसकेको हुँदै हैन । अर्थ मन्त्रालय र राष्ट्र बैंकका खरदार सुब्बाहरु त्यहाँ बोर्ड डाईरेक्टर छन्, ब्युरोक्रेसी हावी छ, त्यसैंले काम गर्न नसकेको हो । भत्ता खाएर बेपत्ता हुनेहरुको जमात त्यहाँ छ, त्यसकै कारणले नेपालको स्टक एक्सचेन्ज पछि परेको हो ।

अर्को कुरा सेबोन एपेक्स रेगुलेटर, नेप्से फ्रन्टलाईनर रेगुलेटर हो । यी दुईको बीचमा बाउ छोराको जस्तो समन्वय र सम्बन्ध हुनुपर्ने हो, त्यो नभएर पनि बिग्रेको हो । एउटा छोरा जड्याहा भयो भन्दैमा अर्को छोरा पाउने हैन, पहिले जन्माएको छोरालाई नै सुधार्नु पर्यो नि ।

यस्तो बईज्जतिपूर्ण अबस्था छ कि अस्ति मात्रै पाँच घण्टा सर्भर फेल भयो । टेक्नोलोजीलाई अपडेट गर्नु पर्यो । एडभान्स टेक्नोलोजी ल्याउनु पर्यो । सेबोनले ईन्टरन्यास्नल्ली टेष्टेड, ट्रष्टेड सिष्टम ल्याउ भनेको छ, नयाँ बनाईदै गरेको त्यो हो कि हैन ? पुर्वाधारै छैन भने कसरी पूँजीबजारको बिकास हुन्छ ? राम्रो मान्छेलाई राम्रो सेवा सुबिधा दिएर ल्याउँने हैन, उल्टै कमिशन खाएर खराब मान्छे ल्याईन्छ भने यस्तो संस्थालाई रिस्टक्चरिड. नगरी पूँजी बजारको बिकास संभवै छैन ।

यहाँ त नेप्सेको मात्रै हैन, सेबानको पनि रिस्टक्चरिड. गर्नुपर्छ । ट्रेड युनियनले लबिड. गर्छ, के निमायक भनेको ट्रेड युनियनलाई चलाउन दिने ठाउँ हो ? यी दुबै निकायलाई एकै ठाउँमा राखेर हुन्न, अपरेटर र रेगुलेटरको भुमिका फरक हुनुपर्छ । अहिले नै सेबोन र नेप्सेले दोहोरो शुल्क असुलिरहेका छन् भने अर्को स्टक एक्सचेन्ज आयो भने के हुने ?

सबैतिर हस्तक्षेपै हस्तक्षेप छ । सबोन र नेप्सेमा अर्थ मन्त्रालयको हस्तक्षेप, राष्ट्र बैंकको हस्तक्षेप, राष्ट्रिय बीमाको हस्तक्षेपले पूँजी बजार अघि बढ्न सकेको छैन । यहाँ सबै पुराना बिचारका मान्छेहरु बसिरहेका छन् । नयाँ सोचले काम गर्न उनीहरु चाँहदै चाहन्नन् । त्यहाँ सही भावना र नयाँ बिचार भएका मान्छे कहिल्यै पनि पुग्न सक्दैन । राष्ट्र बैंकमै हेर्नुस, ईण्डिपेण्डेन्ट डाईरेक्टर भनेर जसलाई ल्याईन्छ, कसैको भाई भतिजा, कसैको नाता, केही न केही आधारमा राखिएको छ । बाहिरै बसेका हामी जस्ता मान्छेहरुले च्यालेन्ज गरेका छौं ।

पुराना मान्छेहरु छन् । उनीहरुलाई त पेन्सन दिएर घर पठाउनुपर्ने हो । पुराना बिचार लिएकाहरु सिमसिम बाजेको पालाको जस्तो काम गरिरहेका छन्, नयाँ सोच बिचार भएकालाई छिर्नै दिदैनन् अनि कसरी पूँजी बजारको बिकास हुन्छ । हालै देख्नु भएन, जागिर समाप्त भएर घर जानु पर्ला भन्ने डरले तीस बर्षे सेवाअबधि नै संशोधन गर्ने प्रयास भएको । युवामा केही काम गरौं भन्ने भावना हुन्छ, पुरानामा उही ठगठाग गर्ने, गुलामी गर्ने प्रबृत्ति हावी हुन्छ ।

विश्वमा प्रोफेशनलहरुलाई बोर्ड र ब्यवस्थापनको जिम्मा दिने, ईफिसियन्सीमा बिस्वास गर्ने चलन बढ्दो छ । हामी पनि अब त्यो बाटोमा नगई सुखै छैन ।

ब्रोकर मार्फत मार्जिन लेण्डिड.को कुरालाई चाँही कसरी लिने ?

त्यसैका लागि यहाँ ब्रोकरको क्यापिटल बढाउने कुरा भयो । ब्रोकर र बैंक बीचको लाईन अफ क्रेडिट खै त ? मार्जिन लेण्डिड.को काम ब्रोकर आफैले पनि गर्नसक्छ । यसमा ब्रोकरको ट्रयाक रेकर्ड पनि  कुरा हुन्छ । मुख्य कुरा लगानीकर्ताले कस्तो सुबिधा पाउँछन् र स्टक मार्केटको बिकास कसरी हुन्छ भन्ने हो ।

सेयर ब्रोकरको संख्या थप्नुपर्छ र बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्छ भन्ने कुरा पनि आएको छ नि ?

यो कुरा नेप्से र सेबोनको रिस्टक्चरिड. नगरेसम्म भन्न सकिन्न । यी दुबै निकायको रिस्टक्चरिड. नगरेसम्म साईज अफ मार्केट कत्रो हुन्छ भन्न सकिन्न । भईरहेका ब्रोकरले काम पाईरहेको छैन भने नयाँ ब्रोकर थपेर के गर्ने ? बबलिड. हुने खतरा हुन्छ । अमेरिकामा  आएको संकट जस्तै नआउला भन्न सकिन्न ।

अब बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा पनि लाईन अफ डिमार्केशन नभई हुन्न । त्यही काम ब्रोकरले गर्ने र त्यही काम बाण्ज्यि बैंकले गर्ने हो भने लाईन अफ डिमार्केशन खै त ? अब ब्रोकरले पनि खाता खोल्ने र डिपोजिट लिन पाउने हुन्छ त भन्ने कुरा आउँछ । बैंकहरुले त डिपोजिट लिने र लोन दिने मात्रै हो नि ।

बाणिज्य बैंकहरुले क्यापिटल र म्युचुअल फण्डमार्फत स्टक सम्बन्धी कामहरु गर्न पाईरहेकै छन् नि । बरु त्यसलाई अरु ब्यापक कसरी बनाउने भनेर सोच्न सकिन्छ । म्युचुअल फण्ड धेरै भए भने स्टक मार्केट राम्रो हुन्छ । कामको डुप्लिेकेशन्स नहोस् भन्नेमा नियायकहरु सतर्क हुनैपर्छ ।

नेपालको सेयर बजार र ब्रोकरहरुको कुरा गर्दा पुरानाहरु सुतेर बसेका छन्, नयाँले प्रगति गरे भनिन्छ नि । यहाँको बुझाई के छ ?

यो धेरै राम्रो कुरा गर्नुभयो । ब्रोकरकै कुरा गर्दा पुरानाहरु अघाएर घाँटीसम्म आयो भन्दै काम गर्न धेरै रुची दिएका छैनन् भने नयाँले कारोबार पनि धेरै गरेका छन् र नयाँ प्रबिधि, कर्मचारी ब्यवस्थापनमा पनि अगाडि छन् ।म्युचुअल फण्डहरुहरुलाई सहयोग गरेको छ । २५ वटा ब्रोकर चाहिन्छ भन्दा त्यतिखेर कोही अर्थ मन्त्रालयबाट रिटाएर भएका मान्छेहरुले ब्रोकर हात पारे र कमाए । लगानीकर्तामा पनि त्यही प्रबृत्ति देखिन्छ । तर अहिलेको अबस्था हेर्नुहोस्, नयाँले धेरै पैसा कमाईरहेको छ । नियमनकारी निकायहरुले काम गर्न खोज्ने नयाँ ब्रोकरहरुलाई सहजीकरण गर्न सकेको छैन । नियमनको नाममा खाली अल्झाईरहेको मात्र छ ।

एनआरएन र बिदेशी लगानीकर्ताहरु चाँही नेपालको सेयर बजारमा कसरी आउँन सक्लान् ? उनीहरु आएपछि बजारको अबस्था कस्तो हुनसक्ला ?

करको दर न्युन हुने र उनीहरुको लगानी फिर्ताको सुनिश्चितता नगरीकन एनआरएन र बिदेशी लगानी आउँदैन । पहिले चाँही आउ आउ भनेर बोलाउने, आईसकेपछि चाँही कर र अरु कुराको तगारो राखेर कमाएको रकम र लाभांश बाहिर लैजान नपाउने हो भने कोही पनि आउँदैन । अहिले स्टान्डर्ड चार्टर्ड बाहिर जान खोजिरहेको छ । स्टान्डर्ड चार्टर्डले क्यापिटल एडुकेसी भन्ने र राष्ट्र बैंकले चाँही पेड अफ क्यापिटल भन्ने कुरामै मतभेद जस्तो देखिन्छ । ईन्टरनेशनल बैंकिड.मा पेड अफ क्यापिटल हैन, मेथोडलाई बढी मान्यता दिने भन्ने मान्यता छ ।

एनआरएनलाई आउन दिने हो भने उनीहरुले पाउने फेसिलिटी के हो भन्ने स्पष्ट हुनुपर्यो र आउनेहरु वास्तवमै एनआरएन हुन् कि हैनन् भन्ने पनि यकिन हुनुपर्यो । नक्कली एनआरएन कि सक्कली एनआरएन ? अस्ति जापानमा केही करोड पैसा बदमासी गरेको मान्छे पनि एनआरएन बनेर आयो भन्ने कुरा आएको थियो । लाईन अफ डिमार्केशन क्लियर हुनुपर्यो ।

अहिले सेबोनमा पनि एनआरएनहरु गए र लगानीको प्रस्ताब राखे भन्ने कुरा न्युज हुँदै भ्युज बनिरहेको अबस्थामा को एनआरएन भन्ने कुरा नै पहिले स्पष्ट हुनुपर्यो । उनीहरुले लगानी गर्ने मुद्रा, फिर्ता लैजाने मुद्राको डिमार्केशन र उनीहरुले पाउने सुबिधा स्पष्ट हुनुपर्यो । वातावरण र पुर्वाधार बनाए लगानी आउनु त ठूलो कुरा हैन ।

नेपालको स्टक मार्केटमा अहिले लगानी गर्नेले भबिष्यमा कस्तो प्रतिफल पाउलान् ?

बाणिज्य बैंकहरुको अब कन्स्ट्याट्न्ट रिटर्न हुन्छ । अहिले धेरै रिस्की फेक्टर भनेको माईक्रोफाईनान्स हो । क्यापिटल एडुकेसी एकदमै कम छ । हाईड्रोमा केही सिमित कम्पनी मात्र राम्रा छन् । केही हाईड्रो कम्पनीमा ज्यादै रिस्क छ ।

बीमा कम्पनीहरुमा पनि संस्थागत सुशासन बलियो बनाउने, कम्पनीका संस्थापकहरुलाई स्वार्थ बाझिने खालका कामहरुमा रोक लगाउने हो भने राम्रो हुनसक्छ । तर हैन, सेयरको भाउ बढाएर संस्थापक सेयरलाई साधारणमा बदल्दै बेच्न दिने र अनेक काण्डहरुमा संस्थापकहरु मुछिदै जाने हो भने त्यहाँ पनि खतरा देख्छु ।

एकैचोटी धेरै कम्पनीलाई अनुमति दिँदा क्राउड ईफेक्ट पर्नसक्छ । पहिलेका अध्यक्षले केही कम्पनीलाई मर्जरमा जान दबाब दिएका थिए तर नयाँ अध्यक्षले आएर बाटो खोल्दिए मात्रै हैन, मनलाग्दी किसिमले नयाँलाई स्वीकृति दिए ।

नियमन राम्रो हुने अबस्थामा बीमा क्षेत्र पनि संभावनाकै क्षेत्र हो । नयाँ भन्दा पनि ब्यवसाय बिस्तार गरेका पुराना कम्पनीहरुमा लगानी सुरक्षित र बढी प्रतिफलको संभावना छ ।

नेपाल टेलिकम छदैछ । अरु नयाँ कम्पनीहरु पनि आईरहेका छन् र आउने तयारीमा छन् ।

आउने दिनमा कति रिटर्न पाउने भन्ने कुरामा सेबोनले कत्ति राम्रोसँग रेगुलेट गर्छ र अरु रेगुलेटरको ब्यवस्था कसरी गर्नसक्छौ भन्ने कुरामा भरपर्छ । सेबोनलाई अर्थ मन्त्रालय र राष्ट्र बैंकका केही मानिसहरुले जागिर खाने भाँडो मात्र बनाईरहेको अबस्थामा अर्बौ अर्ब लगानी भएका कम्पनीलाई रेगुलेट गर्न सकेन भने डरलाग्दो अबस्था आउँछ । पैसा कमाउँन त्यहाँ पुग्नेहरुको कारणले स्टक मार्केटमा रिस्क नबढोस भन्ने कुरालाई बढी ध्यान दिनसक्नुपर्छ । स्वच्छ छवी, अनुभव र ज्ञान भएका मानिसहरु रेगुलेटरी बडीहरुमा पुगे भने अहिले राम्रा कम्पनीहरुको सस्तो सेयरमा लगानी गर्नेहरुले भबिष्यमा राम्रो रिटर्न पाउँछन्, । हैन नियमन राम्रो भएन र कम्पनीहरु रोगी भएर गए भने गुमाउनेको संख्या पनि उत्तिकै होला ।

सेयर बजारमा हावा हल्लाको भरमा लगानी गर्नेहरुलाई के भन्नुहुन्छ ?

सबै लगानी एउटै बास्केटमा हाल्नु धेरै जोखिमपूर्ण हो । नेपालमा टेक्निकल र फण्डामेन्टल एनलाईसिस भनेर खुबै हल्ला गर्छन । एउटै पोर्टफोलियोमा लगानी गर्नेहरु कि मालामाल हुन्छन्, कि काल हुन्छ । कम्तिमा १५, २० राम्रा कम्पनीहरुमा डाईभर्सिफाई गर्नुपर्छ । सिंगल पोर्टफोलियोमा कुनै हालतमा जानुहुन्न । सेक्टरवाईज लगानी गर्नुपर्छ । एउटै सेक्टरबाट पनि फरक फरक कम्पनीमा लगानी गर्नुपर्छ ।

किन्दा पनि दुई रुपैयाँ तलमाथि भए पनि किन्ने र बेच्दा पनि दुई रुपैयाँ कम हुने भए पनि बेचेर नाफा बचाउने हो । सेयरको भाऊ अरु बढ्यो भने अर्कोले कमाउँछ नि । धेरै लोभ गर्नुहुन्न ।

ईन्भेष्टरहरुमा चेतनास्तर बढिरहेको छ तर अलिकति नमिलेको कुरा राम्रो कम्पनीको मूल्य घटिरहेको छ, नराम्रा कम्पनीको मूल्य घटेको छैन वा बढिरहेको छ । राम्रोको धेरै घटिरहेको छ भन्ने कुरालाई बजारमा छानी छानी किन्ने मौका आएको छ भनेर बुझ्नुपर्छ, यही बेला चौका हान्नुपर्छ । मार्केट अझ घटला कि भनेर सोच्ने हो भने पनि यो त किन्ने बेला हो ।

 

 

 

 

 

4 COMMENTS

  1. पात पत्रकार कती बरस सम्म जागीर गरन मिलछ पनी था छैन रहेछ
    ४० बरस पढ़ायो रे
    हैट के के देखन पाईनछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here