सीडीएससीको मेरो शेयर प्रणालीमा समस्या आएका कारण सर्वसाधारणले शेयर भर्न नपाएको गुनासो गरेपछि नेपाल धितोपत्र वोर्डले रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने अवधि दुई दिन थपेको छ । बैशाख १० गते मंगलबार बैंकिङ सयमपछि बन्द हुने भनिएको शेयर आवेदनको म्याद बैशाख १२ गते बैंकिङ समयसम्म थप गरिएको हो ।


धितोपत्र वोर्डले मंगलबार साँझ सीडीएससी र विक्री प्रबन्धकहरुलाई शेयर आवेदनको अवधि दुई दिन थप्न निर्देशन दिएकाले आगामी विहिबार बैंकिङ समयभित्र ईच्छुक लगानीकर्ताले दुई वटै कम्पनीको शेयरमा आवेदन दिन सक्ने छन् ।
सीडीएससीको मेरो शेयर प्रणालीको क्षमताले नधान्दा गत आइतबारदेखि लगानीकर्ताले शेयर आवेदन गर्दा ठूलो सास्ती ब्यहोर्नु परेको थियो । मेरो शेयरमा लगइन नहुने, आवेदन रिजेक्ट हुने तथा अचानक लगआउट हुने जस्ता समस्याका कारण इच्छुक लगानीकर्ताहरु आवेदन दिनबाट बञ्चित भएका छन् ।

बैशाख ६ गतेदेखि आवेदन खुला गरिएको रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमा तेस्रो दिन नै माग भन्दा बढी आवेदन परेको थियो । चौथो दिन मंगलबारको आवेदन समेत जोड्दा साञ्जेनमा २ दशमलव ५१ गुणा र रसुवागढीमा १ दशमलव ६८ गुणाले बढी आवेदन परेको विक्री प्रबन्धकहरुले जनाएका छन् । शेयर आवेदनको म्याद दुई दिन थपिएकाले माग अझै बढ्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here