तिलक कोइराला ।
शेयर बजारमा लामो समयदेखि लगानी गरी घाटा खाँदै आएका लगानीकर्ताहरुले अब भने सावाँ ब्याजसहित फाईदै फाईदा असुल्ने अवसर प्राप्त हुने संभावना बढेको छ ।
पूँजी बजारलाई ध्वस्तै पार्छु भनेर अर्थमन्त्री हुनासाथ अनेक वितण्डा मच्चाएका डा. यूवराज खतिवडा अब भने पूँजी बजार मैत्री नीतिहरु ल्याउन हतारिएका मात्रै छैनन, सत्ताधारी नेकपामा रहेको विरोधी भावना समेत सकारात्मक बनाउँन उनले भुमिका खेल्न थालेकाले बजार सुधार तथा बिस्तार हुने ढोका खुलेको छ ।
फागुन २० गतेसम्मको म्याद पाएका अर्थमन्त्री खतिवडा फेरि राष्ट्रिय सभामा दोहोरिने संभावना कम छ तर उनी पदमा रहँदा नै पूँजी बजार विरोधी भनी आफुलाई लागेको दाग हटाउँन र पाप पखाल्न लागिपरेको पर्याप्त संकेतहरु देखिएका छन् ।खतिवडा गए पनि र बसेपनि अब पूँजी बजारलाई केही फरक पर्दैन किनभने नेकपाको सरकार आफै बजार मैत्री हुन प्रयास गरिरहेको छ ।
बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुहुन्न भनी सत्ताधारी नेकपा भित्र भएको जठजोड कमजोर अबस्थामा पुगेर ढल्न लाग्दा नागरिक लगानी कोष र कर्मचारी संचय कोषले डिलरशीपको लाईसेन्स बोकेर बजार छिर्ने तयारी गरेका छन् । यसले शेयर बजारमा रहेको केही ब्यक्तिहरुको युनियनबाजी, सिण्डिकेट र कार्टेलिङ समाप्त पार्न ठूलो भुमिका खेल्ने नै छ ।
नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी दर्ता गरिसकेको हुनाले अब उसले नचाही नचाही पनि त्यो काम गर्नुपर्ने भएको छ, जुन २९ बर्ष अगाडि नागरिक लगानी ऐन जारी हुँदा नै परिभाषित थियो । यतिका बर्षसम्म झारा टारेर बस्ने कोषलाई सस्तो दरमा राम्रो कम्पनीको शेयर बेचेर पछि फेरि आफैले महंगो दरमा त्यो शेयर किन्नुपर्ने गल्ति अब हामी सर्बसाधारण लगानीकर्ताहरुले किन गर्ने ?
एकपछि अर्को राम्रा कुराहरु आउँदा अब पूँजी बजारको बिस्तारको उत्साहजनक माहौल आफै बन्दैछ ।
स्टक डिलरहरुले शेयर बजारबाट सस्तो मूल्य भएको बेलामा शेयर उठाउँछन् र मूल्य महंगो हुन लागेपछि बेचेर फेरि आपुर्ति बढाई बजारलाई सन्तुलनमा ल्याउँछन् । बजारमा आपुर्ति बढी भएपछि फेरि शेयर किन्छन । यो क्रम निरन्तर चलिरहन्छ ।
अहिलेको अबस्थामा मूल्य आम्दानी अनुपात १५ गुणा तल भएका र लाभांश दिदै आएका कम्पनीहरुको शेयर बिक्री गर्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो । त्यही शेयर स्टक डिलरले किन्छ र फेरि हामीलाई महंगो मूल्यमा भिडाउँछ । अहिले कौडीको भाउमा रहेका राम्रा कम्पनीका शेयर सून भएपछि फेरि किन्ने मुर्खता नगरौ, सकेसम्म शेयर आफैसँग राख्ने प्रयास गरौं ।
यसो भन्दा कसैले पनि शेयर बेचेनन् भने बजार कसरी चल्छ, शेयर दलाल र नेप्सेले कमिशन कसरी पाउँछ भनेर कसैले चिन्ता जाहेर गर्नसक्छ, त्यो चिन्ता हामीले गर्नु आबश्यक छदैछैन किनभने ब्यवसाय चलाउने ठेक्का उनीहरुको हो । यदि कसैलाई आर्थिक गर्जो टार्न, पोर्ट फोलियो परिवर्तन गर्न शेयर बेच्नु परेको छ भने खराब कम्पनीका, मूल्य आम्दानी अनुपात धेरै रहेका, कहिल्यै लाभांश नदिएका, मूल्य उचालिएका र केही समूहले खेलाईरहेका शेयर बेचौं । यस्ता शेयर त स्टक डिलरले पनि किन्दैन ।
पुराना लगानीकर्ता निर्मल प्रधानले भनेजस्तो आफु बसिरहेको घर बेचेर शेयर बजारमा लगानी गर्ने मुर्खता नगरौं, बरु आफुले जोहो गर्नसक्ने सस्तो पैसा खोजेर लगानी बढाऊँ ।
कौडीको भाउमा राम्रो शेयर किनेर करोडपति हुने बेला यही हो । आज गरिएको लगानी भोलिका दिनहरुमा दोब्बर, तेब्बर हुने पर्याप्त संभावनाहरु रहेका छन् । यस्तो बेलामा नेप्से कहाँसम्म चढ्ला र कहाँबाट झर्ला भन्ने रत्नपार्कका जोखाना हेर्ने सुगा ब्यापारीको पछि कुद्नुभयो भने अवसर चुक्ने निश्चित छ । ती सुगा ब्यापारीलाई आफ्नै भूत भबिष्य थाहा छैन भने विचाराहरुले शेयर बजारको कसरी भबिष्यबाणी गरुन् ।
यो सुनौलो अबसर छोप्नबाट शेयर बजारमा लगानी गरिरहेका, अध्ययन विश्लेषण र जोखिम ब्यवस्थापन गरी लगानी गर्नसक्नेहरु कोही नचुकौ । अर्काको लहै लहैमा हैन, आफ्नै निर्णयले लगानी गरौं । राम्रो बैंक, बीमा, होटल, हाईड्रो, केही लघुवित्तका कौडीको मूल्यमा रहेका शेयरहरु कम्तिमा तेब्बर मूल्य नआएसम्म बिक्री गर्दा पछुताउनु पर्ला ।