नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमाशिक समीक्षा गर्दै बैंक तथा बित्तीय संस्थाहरुले दिने कर्जाको ब्याज दर घटाउने रणनीति अख्तियार गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ ।
बैंकहरुले जथाभावी कर्जाको प्रिमियम तोकेर ऋणीहरुबाट असुलेकोमा राष्ट्र्र बैंकले अब नियमित रुपमा अनुगमनसहित कडाई गर्ने भएको छ ।
राष्ट्र बैंकले आईतबार साँझ जारी गरेको मौद्रिक नीतिको समीक्षामा नेपालमा तरलताको मुख्य श्रोतको रुपमा रहेको शोधनान्तर बचत स्थितिमा केही सुधार हुँदै गएकोले तरलताको स्थिति पनि केही सहज हुन थालेको उल्लेख गरेको छ ।
राष्ट्र बैंकले आगामी दिनमा सरकारी वित्त व्यवस्थापनलाई दृष्टिगत गर्दै केही वस्तुको आयात व्यवस्थापन गर्न लिइएका नीतिगत व्यवस्थाहरुलाई क्रमश: खुकुलो बनाउँदै लैजाँदा तरलता र ब्याजदरमाथि परेको चाप केही समय कायमै रहने पनि उल्लेख गरेको छ ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिने जनाएको छ ।
राष्ट्र बैंकले कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्ने गरी कडाई गरेको छ ।
तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिने भएको छ ।
चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गर्ने भन्दै उद्योगी, ब्यापारीहरुबाट दिइएको दबाबलाई सम्बोधन गरेको छ ।
तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने गरी सहजीकरण गरेको छ ।