अनलाईन कारोबार प्रणालीले राम्रोसँग काम नगरेको भन्दै लगानीकर्ताले ब्यापक गुनासोका वीच शेयर बजारमा कारोबार रकम साताको पहिलो दिन एक अर्ब नाघेको छ । लकडाउन खु्ले यताका अघिल्ला दिनहरुमा ५० करोड रुपैयाँ मुनी दैनिक कारोबार हुँदै आएको थियो ।
हालै आईपीओ बिक्रीमा ल्याएको नेपाल पुनर्बिमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएर ३ लाख ८४ हजार कित्ता शेयर किनबेच भई १५ करोड बढीको कारोबार हुँदा कारोबार रकम उचालिन सहयोग पुगेको हो । त्यसैगरी बाणिज्य बैंकहरुको शेयर मूल्यमा पनि बढोत्तरीका साथ उच्च कारोबार भएको छ । केही लघुवित्त लगायतका कम्पनीहरुको शेयर मूल्य बढेका छन् ।
अनलाईन कारोबार प्रणालीको नेप्सेको प्रणाली (नट्स) र ब्रोकरको प्रणाली (टीएमएस) मास समस्या देखिएर गत सोमबार कारोबार खुलेदेखि नै कयौं लगानीकर्ताहरु किनबेच गर्नबाछ बंचित छन् । नेप्सेको प्रणालीमा सही विवरण प्रबाह नहुने मात्रै हैन, कसैले युजर आईडी र पासवर्ड प्रयोग गरेर लग ईन नै गर्न नसक्ने, कसैले किन्न वा बेच्न नपाउने, कसैकोमा ईन्टरफेस नै नदेखिने जस्ता समस्याहरु लगानीकर्ताहरुले भोग्दै आएका छन् । कतिपयले खातामा शेयर हुँदाहुँदै पनि बेच्न पाएका छैनन् भने कतिपयले लिमिट लिएको भए पनि किन्न पाएनन् ।
समस्या समाधानका लागि नेप्से लगायतका सरोकारवाला निकायहरुमा शेयर लगानीकर्ता दबाब समूह लगायतका लगानीकर्ताहरु ध्यानाकर्षण गराउँदा पनि प्रणाली ठीक गर्ने काम भएको छैन ।
यस्तो अबस्थामा पनि एक सय ७२ कम्पनीको शेयर कारोबार भई ६७ वटा कम्पनीको अघिल्लो दिन भन्दा मूल्य बढेर नेप्सेमा ९.३५ अंकले बृद्धि भई सुचक १२६५.४५ कायम भएको छ भने एक अर्ब ३ करोडको कारोबार भएको छ ।