नेपाल ईन्भेष्टर्स फोरममा आबद्ध लगानीकर्ता दुर्गा तिवारीले चैत्र ३ गते शेयर कारोबारकै समयमा आफ्नो फेसबुकमा नौलो स्टाटस राखेपछि लगानीकर्ताहरुमा तरंग सिर्जना भयो ।
बजारका केही लगानीकर्ताहरुले आफ्नो खातामा नभएको शेयर बेचेर नाफा सुरक्षित गर्ने र शेयर किन्नेलाई घटेको मूल्यमा शेयर किनेर दिन सेटलमेन्ट समय सारिएको भन्ने उनको भनाईले लगानीकर्ताहरुमा कौतुहल सिर्जना गर्यो ।
खातामा नभएको शेयर बेचेर क्लोज आउटमा परेपछि सेटलमेन्ट समय नै सार्न नेप्से र सीडीएससीकै मिलेमतो भएको भन्नेसम्मको आरोप निकै गंभीर बिषय हो ।
लगानीकर्ताहरुको संस्था नेपाल ईन्भेष्टर्स फोरमकै जिम्मेवार पदाधिकारी तिवारीले यस्तो स्टाटस राखेपछि लगानीकर्ताहरु बिषयमा तातो बहस हुनु स्वभाविक थियो । उनको स्टाटसमा मंगलबार बिहानसम्म झण्डै दुई सय जनाले मन पराउनु र ७४ जनाले प्रतिक्रिया जनाउनु साथै २९ जनाले साझा गरेका छन् ।
केही लगानीकर्ताहरुले नियोजित रुपमा बजार घटाउँन आफुसँग नभएको शेयर बिक्री गरेर कलोज आउटमा पर्नबाट जोगिन सेटलमेन्ट समय नै सारेको भन्ने अभिब्यक्ति गंभीर भए पनि नेप्से, सीडीएससी र नेपाल धितोपत्र बोर्डले मंगलबार बिहानसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् तर तिवारीको स्टाटसमा कमेन्ट गर्ने लगानीकर्ताहरुले यस्तो बदमासी गर्नेहरुका बिरुद्ध कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
कतिपय लगानीकर्ताले आफुले शेयर किनेको एक साता भन्दा बढी समय भइृस्क्दा पनि हितग्राही खातामा शेयर नआएको भन्दै तिवारीको अभिब्यक्ति सही रहेको तर्क गरेका छन् ।
यस बिषयमा नेप्सेका अधिकारीहरुले आफुलाई केही थाहा नभएको बताएका छन् । नेप्सेका प्रबक्ता मृुराहारि पराजुलीले आफु बिदामा रहेकाले केही जानकारी नभएको जवाफ दिनुभयो भने प्रमुख कार्यकारी चन्द्रसिंह साउद सम्पर्कमै आउनु भएन ।
धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले सेटलमेन्ट समय नै सारिएको बारेमा आफुलाई जानकारी नभएको जवाफ दिनुभयो ।
यसरी खुल्यो रहस्य
स्टक ब्रोकर एशोसियशनका अध्यक्ष भरत रानाभाटसँग सम्पर्क गरी के भएको हो भन्ने बारेमा प्रश्न गर्दा उहाँले भने रहस्य खोल्नु भएको छ ।
गत साता धेरै शेयर बिक्रेताले आफुसँग नभएको शेयर बेच्रदा कलोज आउटमा परेपछि शुक्रबार नेप्से र ब्रोकरहरुबीच बैठक भएर सेटलेमन्ट समय सारेर अक्सन मार्केट नभएसम्मका लागि समस्या समाधान गर्ने सहमति भएको थियो ।
रानाभाटका अनुसार नेप्सेसँगको छलफलपछि ५० वटै शेयर दलालहरुलाई आन्तरिक सूचना प्रबाह गरी खातामा शेयर नभएको अबस्थामा बेच्दा क्लोज आउट परेको अबस्थामा किन्ने ब्रोकरको समेत सहमति लिएर सेटलमेन्ट समय सार्ने र शेयर भएर पनि नदिनेको सवालमा २० प्रतिशत जरिवाना असुल्ने रणनीति अख्तियार गरिएको हो ।
पहिले डिल नै क्याििन्सल हुने गरेको थियो तर २० प्रतिशत जरिवानाको नियम लागू भएपछि शेयर खातामा नभएपनि भुलबश बेचेर क्लोज आउटमा पर्नेहरुको सवालमा शेयर नै किनेर खरिदकर्ता ब्रोकरलाई दिने अभ्यास भएको रानाभाटले बताउनु भयो ।
रानाभाटले भने- अहिले अक्सन मार्केटको ब्यवस्था नभएको अबस्थामा लगानीकर्ता र ब्रोकरलाई गंभीर आर्थिक क्षति रोकन यो नै एक विकल्प हो भन्ने हामीलाई लागेको छ, लगानीकर्ताकै हितमा यो छ तर उहाँहरुले कुरा बुझ्नु भएन ।
क्लोज आउटमा पर्दा लगानीकर्ताले १० करोड रुपैयाँ जरिवाना तिर्नु परेको र त्यस वापतको २ करोड भन्दा बढी सरकारलाई गएको समाचार गत साता बाहिर आएपछि ब्रोकरहरुले अक्सन मार्केट नहुँदाको विकल्पमा नयाँ सहमति गरेको रानाभाटको तर्क छ ।
लगानीकर्ता वा ब्रोकर जसको पैसा गए पनि अक्सन मार्केट नहुँदा धान्नै नसक्ने आथिृक क्षति ब्यहोर्नु परेको छ । तत्कालै अक्सन मार्केट संचालन हुन सक्दैन भने अरु के विकल्प हुनसक्छ त ? – रानाभाटले उल्टै प्रश्न सोध्नुभयो ।
क्लोज आउटमा पर्दा कतिपय ब्रोकरले २० प्रतिशत जरिवानाको नियम कार्यान्वयन गर्ने त कतिपयले किन्ने र बेच्नेबीचआपसमा सहमति गरी शेयर नै किनेर दिने गरेका थिए तर सीडीएससीलाई बुझाउनु पर्ने ५ प्रतिशत नगद भने उपलब्ध गराईन्थ्यो ।
रानाभाटले भन्नुभयो- आज शेयर बजार घटेको बेला नयाँ कुराले कसैलाई घाटा लाग्यो होला तर बढेको बेला भए त शेयर किन्नेलाई फाईदा नै हुन्थ्यो नि । हामीले गरेको अभ्यास लगानीकर्ताकै हितमा छ ।
अक्सन मार्केट नहुँदा कुनै भुलबस खातामा शेयर नभएको बिक्रेतालाई गंभीर आर्थिक क्षतिबाट रोक्न सरोकारवालाहरुबीचमा नयाँ सहमति बन्नु जरुरी रहेको ब्रोकर एशोसियशनको भनाई छ ।