अर्जुन पौडेल ।

धेरै लगानीकर्ताहरुले सोचेका थिए कि यसपल्ट बाणिज्य बैंकहरुले दिने लाभांश खाएर बस्दा नै धेरै फाईदा हुन्छ । त्यसैले बोनस शेयरको मूल्य समायोजन हुनु अगाडि सकेसम्मको शेयर उठाउने लहर नै चल्यो ।

२१ प्रतिशत बोनस र १४ प्रतिशत नगद प्रस्ताब गर्ने एनएमबी बैंक होस् वा २३ बर्षपछि २५ प्रतिशत लाभांश प्रस्ताब गरेको नेपाल बैंक नै किन नहोस् । धेरै बोनस शेयर घोषणा गर्ने कम्पनीहरुको शेयर खरिद गर्ने लगानीकर्ताहरुको उत्तिकै चाप थियो, यद्यपी बुक क्लोज अगाडि नेपाल बैंकको शेयर मूल्य बढ्न सकेन । ३० प्रतिशत लाभांश प्रस्ताब गरेको कृषि बिकास बैंकको पनि त्यही हालत भयो ।

समग्र रुपमा घट्दो शेयर बजारमा लाभांश प्रस्ताब गरेर बुक क्लोज गरेका ठूला कम्पनीहरुको शेयर मूल्य दाँज्ने हो भने धेरै जसोमा लाभांश खानु भन्दा शेयर बेचेर बस्नेहरुले जितेको अबस्था छ ।

शेयर बजारमा बोनस शेयर शेयर वापतको मात्र शेयर मूल्य समायोजन हुँदै आएकोमा बजार आफैले नगद लाभांश वापतको समेत मूल्य समायोजन गर्न थालेको छ । नेप्सेको प्रणालीले साधारण शेयरको बजार मूल्यको १० प्रतिशत नगद लाभांश प्रस्ताब नभएको अबस्थामा नगद लाभांश वापत मूल्य समायोजन गर्दैन तर लगानीकर्ता आफैले नगद लाभांश वापतको समेत मूल्य घटाएर खरिद बिक्री गर्ने प्रबृत्ति बढेको देखिएको छ ।

एनएमबीको २१ प्रतिशत बोनस अघि ४०२ रुपैयाँ प्रतिकित्तामा कारोबार भएकोमा मूल्य समायोजनपछि ३३३ रुपैयाँ कायम भएको हो तर बजारले नगद लाभांश समेत समायोजन गरिदिएर अहिले मूल्य ३२३ रुपैयाँ प्रतिकित्तामा झरेको छ ।

त्यस्तै १५ प्रतिशत बोनस शेयर वापत नेपाल बैंकको शेयर मूल्य २७५ रुपैयाँ ६५ पैसा कायम हुनुपर्नेमा पुस १३ गते आईतबार बजारले १० प्रतिशत नगद वापतको समेत मूल्य समायोजन गरिदिएर २६७ रुपैयाँमा शेयर मूल्य झरेको छ ।

कृषि बिकास बैंकको ६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएर ३९४ रुपैयाँ कायम भएकोमा एकैदिन नगद लाभांशको समेत बजारले मूल्य समायोजन गरिदिएर ३७० रुपैयाँमा झरेको छ । यसरी हेर्दा घट्दो शेयर बजारमा बोनस र नगद खाने गरी शेयर राख्नु भन्दा बेचेर मूल्य समायोजन भई शेयरको मूल्य थप घटेपछि किन्दा फाईदा हुने गरेको देखिएको छ । बढ्दो शेयर बजारमा भने यस्तो आँकलन फेल खानसक्छ किनभने लाभांश वापतको मूल्य समायोजनलाई वास्ता नै नगरी लगानीकर्ताहरुले मूल्य बढाएर किन्ने प्रबृति हुन्छ र लाभांश खानेहरुलाई फाईदा हुनसक्छ ।

लाभांश वापतको मूल्य समायोजनले कस्तो प्रभाव पार्छ भन्ने कुरा सम्बन्धित कम्पनीको कति कित्ता शेयर दोस्रो बजारमा सुचिकृत छ भन्ने आधारमा फरक पर्नसक्छ । बजारमा थोरै कित्ता शेयर छरिएर रहेका कम्पनीहरुमा लाभांश वापतको मूल्य समायोजन हुँदा पनि शेयर मूल्य बढिरहेको पाईन्छ ।

बजार कस्तो अबस्थामा छ र कम्पनीको शेयर बजारमा कति धेरै आपुर्ति छ भन्ने कु्राले लाभांश खाँदा र नखाई मूल्य समायोजन हुनु अगावै शेयर बेच्दा फरक पर्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here