तिलक कोइराला ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूँजी बजारलाई आगामी दिनमा एशियाली पूँजी बजारसँग सहकार्य गराउने कुरा अघि सारेका छन् ।
कम्तिमा पनि सार्कस्तरमा पूँजी बजारलाई जोडेर प्रविधि हस्तान्तरण र पूँजी परिचालन गर्नुपर्ने उनको कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ । तर नेपालमा अनौठौ खाले रोग नीति निर्माता र प्रशासकहरुमा रहेको पाईन्छ । बोल्ने एउटा, गर्ने अर्को ।
झण्र्डै दुई बर्ष अघि शुरु गरिएको कथित पूर्ण अनलाईनलाई बैंक ईन्टिग्रेशन गराएर लकडाउनमा पनि चलाउन नसकिएको, झण्डै तीन महिनादेखि पूँजी बजार ठप्प भएर अन्तर्राष्६्रिय बेईज्जत भएको, बर्षौदेखि उठ्दै आएको गैर आवासीय नेपालीहरुलाई पूँजी बजारमा ल्याउन नसकिएको, एउटा मात्र रहेको स्टक एक्सचेन्जलाई सरकारी चंगुलबाट मुक्त गरेर पुनःसंचरनासहित स्वच्छ, पारदर्शी र छिटो छरितो रुपमा काम गर्नसक्ने बनाउन नसकिएको, बजारमा संस्थागत लगानीकर्ताहरुको पकड कायम गराउन असफल रहेको जस्ता कमजोरीहरु बर्षेनी दोहारिएको अबस्थामा एशियालीस्तरमा यहाँको पूँजी बजारलाई जोड्ने कुरा एकदम हास्यास्पद छ ।
नीति नियम, पुर्वाधार र प्रविधि बिस्तारको लागि झारा टार्ने र सकेसम्म अल्झाउने अनि एशियालीस्तरमा पूँजी बजारमा जोड्ने कुरा बेतुकको मात्रै छैन, लगानी सुरक्षा भएन भनेर आन्दोलनको मैदानमा उत्रिएका लगानीकर्ताहरुको हदै उपेक्षा पनि गर्ने खालको छ ।
लुते छोरा जन्माएर बलियासँग दौडाउने खालको जुन रणनीति अर्थमन्त्री अंगिकार गर्न खोज्दैछन्, त्यो पूँजी बजारको अहिलेको संकटप्रति आँखा चिम्लिएको प्रमाण हो । छिमेकी भारत र बंगलादेशको पूँजी बजार कहाँ छ ? नीति, नियम, पुर्वाधार र प्रविधि कति उच्चस्तरको छ भन्ने कुरालाई ख्यालै नगरी गरिएको भाषणबाजी मात्रै हो यो ।
अहिलेको जस्तो अस्थिर नीति नियम र कमजोर पुर्वाधार तथा प्रविधि भएको नेप्सेले एशियालीस्तरमा प्रतिस्पर्धा गर्ने कुरा तत्कालका लागि कल्पना भन्दा बाहिरको हो । एशियालीस्तरमा प्रतिस्पर्धा र सहकार्य भाषण गर्ने अर्थमन्त्रीले पहिले आफैले गठन गरेको र प्रतिबेदन स्वीकार गरेको अध्ययन समितिको ५८ बुंदे सुझाव कार्यान्वयन गरेर बजारलाई बलियो बनाउने हिम्मत किन गर्र्दैनन ? धितोपत्र बोर्ड, राजश्व परामर्श समितिले सिफारिस गरेको पूँजी बजारसम्बन्धी बिषयलाई बजेटमा समाबेश गर्नबाट किन रोक्छन् ? शेयरको भारित औसत गणना, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लाभकरको स्लावसहित अन्तिम कर घोषणामा उनको हात किन काम्छ ?
अघिल्लो बर्ष अर्बौ अर्बका ठूला कम्पनीहरुलाई पूँजी बजारमा ल्याउने उनको कुरा अहिले कहाँ हरायो ? अर्बोअर्बको शेयर खरिद गर्ने माग सिर्जनामा उनले किन आँखा चिम्लिए ? कम्पनीहरुले बिक्रीमा ल्याएका आईपीओ नै बिक्री नभएर किन अन्डरराईटरहरुको भागाभाग भयो ? गत बर्ष डिबेन्चर मार्केटको कुरा गरेर ६० अर्ब भन्दा बढीको डिबेन्चर बिक्री गराएका उनले दोस्रो बजारमा माग सिर्जना गर्ने नीतिगत र पुर्वाधारगत भुमिका किन खेलेनन् ? आईपीओ बिकेन भने मलाई भन्नुहोला भनेर गरेको त्यो भाषणको भिडियो नै देखाएर प्रमाणसहित कुरा गर्नुपर्ने हो ?
गर्नुपर्ने काम चाँही नगरेर आन्तरिक बजारलाई संकटग्रस्त बनाउँदै जाने, लगानीकर्तालाई हरिकंगाल बनाउने अनि एशियालीस्तरमा सहकार्य र प्रतिस्पर्धाको कुरा गर्नु हावादारी बाहेक केही हैन । जाबो पाँच अर्बको पूँजी भएको नागरिक स्टक डिलरलाई बजार प्रबेश गराउन नसक्ने र आफ्ना ज्वाइँलाई सकेसम्म कोषलाई बजार। प्रबेश गर्नबाट रोक्न लगाउने अर्थमन्त्रीले पूँजी बजारको साँच्चै बिकास गर्छन भन्नु पत्यारिलो छैन । धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र राष्ट्र बैंकलाई च्यापेर राख्ने, एक पाईला सर्न नदिने तर गफ चाँही ठूला गर्ने यो काईदा हेर्दा उनको गफलाई कसैले पत्याउँदैन ।
यदि साँच्चै उनी पूँजी बजारसम्बन्धी संकुचित मानसिकता र प्रतिशोधपूर्ण सोचाईबाट बाहिर आएका हुन् र नेपालको पूँजी बजार सुधार र बिस्तार गर्न चाहन्छन् भने कोरोना संकटबाट पीडित लगानीकर्तालाई राहत घोषणा गर्दै नीति नियम पुर्वाधार र प्रविधि बिकासको काम तीब्र गर्न गराउन ब्यवहारमै तदारुकता देखाउन् । नत्र उनको भाषणबाजी “मुखमा राम राम बगलीमा छुरा” नै हो ।
नेप्से भित्रको रोग अहिले क्रोनिक भईसकेको छ । यसको सफल उपचार नगरेसम्म नेपालको पूँजी बजार सुध्रन्न । त्यसका लागि कि नयाँ स्टक एक्सचेन्ज ल्याउनु पर्यो कि विदेशी रणनीतिक साझेदार वा स्वदेशी संस्थागत लगानीकर्ताहरुलाई सरकार र राष्ट्र बैंकको शेयर बिक्री गर्नु पर्यो । यो भन्दा अर्को उपाय छैन ।
पहिले हाम्रो बजारलाई ठीक गरौं । नीति, नियम, पुर्वाधार र प्रविधिले बलियो र ब्यवस्थित पारौं । बजारमा लगानी गरिरहेकाहरुलाई विस्वास दिलाउँ अनि को कोसँग सहकार्य र प्रतिस्पर्धा गर्न सकिन्छ गर्दै जाउला । नेपालको शेयर बजार विश्वका लागि नै खुला गरे पनि हुन्छ । जुसुकै पनि यहाँ आएर आफ्नो बैंक खाता र हितग्राही खोलेर लगानी गर्नसक्छन् ।