तिलक कोइराला ।

विश्वमा कहीं नभएको कर नीति ल्याएर हकप्रद र बोनस शेयरको अंकित मूल्य भन्दा माथि अग्रिम कर लगाउने सरकारको प्रयास असफल भएको छ । शेयर लगानीकर्ताहरुले तीन दिनसम्म शेयर बजार बन्द गरेर दबाब दिएपछि सरकार आफ्नो योजनाबाट तत्काल पछाडि हट्न बाध्य भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको दायरालाई साँघुरो बनाउने, लगानीकर्ताहरुलाई करको भारी थपेर भगाउने र नयाँ लगानीकर्ताहरुलाई बजारमा आउँन नदिने रणनीति स्वरुप अख्तियार गरेको कर नीति अहिलेलाई फेल खाएको छ । यसमा शेयर बजारका बारेमा खासै जानकारी नभएका अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागका अधिकारीहरुले पनि पछाडि फर्कन पर्नुको पाठ सिकेकै होलान् । अलिकति फरक ढंगले हेर्दा लगानीकर्ताको ढाड भाँचिने र अन्यायपूर्ण कर ब्यवस्था लागु गर्न सरकारलाई साथ सहयोग दिने नेप्से, धितोपत्र बोर्ड र सीडीएससीका अधिकारीहरुले आगामी दिनमा कसरी लगानीकर्ताको हितमा काम गरेको प्रगति विवरण पेश गर्लान् हेर्न लायक हुने नै छ ।

यसमा अर्थमन्त्रीको एकल सोचले मात्रै काम गरेको थिएन, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र केही मात्रामा शेयर दलालहरुबीचको सहमतिले पनि काम गरेको थियो भन्ने स्पष्ट भएको छ ।

सरकारलाई अहिले अनुदार नीति अख्तियार गर्नबाट रोक्न मात्र सकिएको हो, अहिलेको आन्दोलनको सफलताले पूँजी बजार बिकासको ढोका खोलेको हैन । सरकारले अब्यवहारिक र कर सम्बन्धी स्थापित सिद्धान्तले आधार नदिने कुरा ल्याएर शेयर बजारलाई समस्यामा पार्न अझै उद्धत छ भन्ने कुरा अर्थ मन्त्रालयले उत्तरकुमार खत्रीको संयोजकत्वमा गठन गरेको समिति ज्युँदै रहनु नै ठूलो प्रमाण हो ।

अहिले हकप्रद र बोनस शेयर बिक्रीमा घाटा भएको अबस्थामा अग्रिम कर तिर्नु नपर्ने र पुरानै गणना विधि अनुरुप कर हिसाब हुने मात्र पक्का भएको हो । यसबाहेक केही बदलाव आएको छैन । आन्तरिक राजश्व विभागले सीडीएससी, नेप्से धितोपत्र बोर्डलगायतका निकायलाई लेखेको पत्र मात्रै स्थगत गरिएको हो । उपलिब्धको रुपमा लगानीकर्ताले यत्ति मात्रै बुझे हुन्छ ।

यसपटक लगानीकर्ताहरुले जुन प्रकारको एकताबद्ध प्रयास गरे, त्यसबाट सरकार र अर्थ मन्त्रालयका अधिकारीहरुलाई ठूलै दबाब महसुस गराएको छ । पूँजी बजारका बारेमा नीति ल्याउँदा ब्यापक अध्ययन गरी, त्यसले पार्ने प्रभाव जोखेर मात्रै ल्याउनु पर्ने रहेछ भन्ने चेत उनीहरुमा अब पलाएको हुनुपर्छ ।

आफुलाई बिज्ञ अर्थमन्त्री दावी गर्ने डा. युवराज खतिवडाले ठूलो झट्का ब्यहोरेका छन्, संभवत उनको जीवनमा पहिलोपल्ट पछि फर्कनु परेको घटना यही होला ।

मंगलबारसम्म विज्ञ अर्थमन्त्री खतिवडा पूँजीबजार बिरोधी कर नीतिबाट पछाडि फर्कने सोचमा थिएनन् तर जब पुरै शेयर बजार ठप्प भएको समाचार देश विदेशमा फैलियो, उनीमाथि थाम्नै नसक्ने दबाब पर्यो र बुधबार बिहान उनले अर्थ मन्त्रालयका अधिकारीहरुलाई फोन गरेर आन्तरिक राजश्व विभागको पत्र स्थगन गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयका सचिवहरु तत्कालै काममा जुट्ने भन्दा पनि अझै टार्न सकिन्छ कि भनेर अनेक बहानाबाजी गरिरहेका थिए । आधा दिन त उनीहरुले बहानाबाजी गरेरै बिताए तर शेयर लगानीकर्ताहरुको दबाबले उनीहरु अन्तिममा आन्तरिक राजश्वलाई पत्र फिर्ता गर्न निर्देशन दिन बाध्य भए । शेयर बजारका बारेमा बुझदै नबुझी पर्याप्त अध्ययन, बिश्लेषण नगरी लहडको भरमा ल्याईएको कर नीति तत्काललाई फेल भएको छ तर शेयर बजारमाथिको संकट पुरै टरेको भने छैन । अझै धेरै काम गर्ने अभियान जारी राख्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here