नेपाल रणनीतिक महत्वको देश भएकाले छिमेकी भारत र चीनका बैंकहरु नेपालमा सम्पर्क कार्यालय र शाखा खोली आफ्नै बैंकमार्फत कारोबार बढाउँन ईच्छुक देखिएका छन् । नेपाल विदेशी बैंकहरुको आकर्षणको केन्द्र बन्नुमा ती देशहरुका ब्यवसायीहरुले नेपालमा लगानी बढाउनु मुख्य कारण मानिएको छ ।

विदेशी ठूला बैंकहरुले नेपालमा प्रतिनिधि राख्न र शाखा खोल्न धेरै इच्छुक देखिँदा केहीले नेपाल राष्ट्र बैंकबाट अनुमति पाइसके भने केही प्रक्रियामा रहेका छन् ।

कतारको दोहा बैंक, दुबईको मस्रेक बैंक, भारतको आईसीआईसीआइ बैंक लगायतका धेरै बैंकहरु नेपालमा आफनो प्रतिनिधि राखेर कारोबार बिस्तार गर्न शाखा खोली नेपालका स्थानीय बैंकलाई ऋण उपलब्ध गराउन आतुर देखिन्छन् ।
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्था गर्न गत बर्षबाट बिदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरको थियो । चालु बर्ष देखि बिदेशी संस्थाबाट समेत पैसा ल्याउन पाइने व्यवस्था गरेको छ ।

नेपालमा लगानीको ब्यापक संभावना र पुँजी अभाब भएकोले यसको मौका विदेशी ठूला बैंकले छोपेको हुनसक्छ । नेपाल लाई २०२२ सम्ममा विकसित मुलुकको सुचीमा ल्याउने सरकारको लक्ष्यलाई भने यस्ता लगानीले धेरै हद सम्म सघाउने विश्वास गरिएको छ ।

भौगोलिक विकटता, राजनैतिक अस्थिरता, अत्याधिक जोखिम जस्ता कारण देखाई बारम्बार लगानी बाहिरिएको अवस्थामा बैंकिङ क्षेत्रतर्फ भने आर्कषण बढेको छ ।

गत साता मात्रै मस्रेक बैंकले माछापुच्छ्रे बैंकलाई एक करोड डलर ऋण उपलब्ध गराएको थियो भने अब लक्ष्मी बैकलाई पनि ऋण दिन लागेको छ ।

गत डिसेम्बर २०, २०१८ बाट सञ्चालनमा आएको कतारको दोहा बैंकले फण्ड प्लेसमेन्ट, एलसीको कारोबार गर्न समेत सहयोग गर्दै आइरहेको छ ।

भारतको निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठुलो बैंक आइसीआइसीआइ बैंकले पनि नेपालमा प्रतिनिधि राखी शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्विकृति पाइसकेको छ । अब पुर्ण स्विकृति पश्चात यसले आफ्नो कार्य थाल्ने छ । सो बैंकले पनि नेपालका स्थानीय बैंकलाई ऋण प्रदान गर्नेछ ।

भारत र चीनका ठेकेदार कम्पनीहरुको सहजीकरणको लागि समेत ती देशका बैंकहरु नेपालमा आउँन चाहन्छन् ।

हालसम्म आधदर्जन बैंक तथा वित्तीय संस्थाले साढे ३ अर्ब रुपैयाँ विदेशबाट ऋण लिइसकेका छन । यस्तै १० अर्ब लिने प्रक्रियामा रहेका छन ।
यसरी प्रतिनीधि शाखा खोली सेवा प्रदान गर्न चीन थाइल्याण्ड लगायतका देशका केही बैंकहरु पनि इच्छुक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here