तिलक कोइराला ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले विरामी भएर पनि देश बनाउने काममा अहोरात्र खटिईरहनु भएको छ । अरु ब्यक्तिहरु मृगौला डाईलाईसिस गर्नुपर्ने गरी त्यति विरामी भएको भए अस्पताल भर्ना भएर काम बन्द गरिसकेका हुन्थे तर प्रधानमन्त्री ओली आफ्नो रोगसँग लड्दै सारा देशबासीलाई समृद्ध र स्वस्थ बनाउने अभियानमा निरन्तर कृयाशील हुनुहुन्छ, त्यो सबै नेपालीका लागि गर्वको कुरा हो ।

चित्रमा देखाईएको नेप्सेको कारोबार विवरण आईतबारको हो

देशको अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजारका लगानकिर्ताहरु अहिले प्रधानमन्त्री ओलीको दृढ ईच्छाशक्ति र आत्मबलको प्रशंसा गर्दैछन् तर चार बर्षदेखिको संकटग्रस्त पूँजी बजारका कारण आफै विरामी परिसकेका छन् । प्रधानमन्त्री ओलीका निकट सहयोगी, अति विस्वासपात्र र बिज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाको गलत औषधीको प्रयोगले पूँजी बजार थला मात्रै बसेको छैन, कम्पनीहरुले बिक्रीमा ल्याएका आईपीओ समेत ८० प्रतिशत नबिकेर कम्पनीका मालिकहरु नै थाल खाउँ कि भात खाउँको अबस्थामा पुगिसकेका छन् ।

प्रधानमन्त्री ओली चाँडै पूर्ण स्वस्थ भएर देश बिकासको काम अरु मजबुत रुपमा अगाडि बढाउनुहोस् भन्ने कामना गर्दागर्दा पनि पूँजी बजारका लगानीकर्ताहरु अर्थमन्त्रीका कारण सरकारप्रति नै धारे हात लगाउँदै छन् र कतै त्यो धारे हात विरामी प्रधानमन्त्रीतर्फ नै सोझिन्छ कि भन्ने त्रास वर्तमान सरकारप्रति समर्थन गर्ने आम जनसाधारणमा पर्न थालेको छ । त्यसो भयो भने ज्यादै दुर्भाग्यपूर्ण हुनेछ ।

पूँजी बजारप्रति सरकारको दृष्टिकोण र नीति स्पष्ट पारी तत्काल पूँजी बजार सुधार तथा बिस्तारका प्रभावकारी कदमहरु चाल्नुपर्ने आवाजलाई प्रधानमन्त्री ओलीका अति विस्वासपात्र अर्थमन्त्री खतिवडाबाट जबरजस्ति वेवास्ता भएकाले लामो समयदेखिको लगानीकर्ताको निराशा अब सरकारका विरुद्धमा आक्रोशको रुपमा सोझिदै छ । पूँजी बजारमा आएको संकटले धेरै लगानीकर्ता सडकमा आएर घर न घाटको बन्दा त्यसले सबैभन्दा धेरै देशको अर्थतन्त्र र सरकारलाई क्षति पुर्याउनेवाला छ । ब्यापार ब्यवसाय चौपट्ट छ, घरजग्गामा संकट शुरु भईसकेको छ, र पूँजी बजार समेत गंभीर संकटमा फस्दा अर्थतन्त्रले धान्नै नसक्ने अबस्था आउँदैछ ।

प्रधानमन्त्री ओलीले आफुप्रति सदासयता राख्ने, स्वास्थ्य लाभको कामना गर्ने र उहाँको नेतृत्वमा देश बनोस भन्नेहरुको भावनालाई आत्मसाथ गरी अहिले अर्थमन्त्री खतिवडालाई कडा रुपमा निर्देश गरेर तत्काल पूँजी बजार सुधार गर्न नलगाउँनै पर्छ ।  अस्वस्थताका वीचको सक्रियतालाई मनन् गर्दै पूँजी बजारका सारा शुभचिन्तकहरु यही कामना गरिरहेका छन् । आफै विज्ञ र घमण्डी अर्थमन्त्रीलाई सारा लगानीकर्ताको रोदन र क्रन्दन सुनिदिन एकपल्ट भन्नुभयो भने प्रधानमन्त्रीप्रति लगानीकर्ताको ठूलो आर्शिवाद लाग्ने छ । आफु त रोगी भईएकै छ, देशको अर्थतन्त्रको मेरुदण्ड पूँज्ीबजारलाई पनि किन रोगी बनाउँदै हुनुहुन्छ भनेर अर्थमन्त्रीलाई एकपल्ट झपारीदिनुभए सारा लगानीकर्ताहरुले प्रधानमन्त्रीको फेरि पनि पटक पटक जयजयकार गर्ने थिए ।

देश र जनताको पक्षमा काम गर्न तपाइँ साताको तीन पटक डाईलाईसिस गराएरै पनि सक्नुहुन्छ । जति महंगो अस्पतालमा जति खर्च गरेर पनि तपाइँ स्वस्थ बन्नुहोस्, अर्को पाँच बर्ष पनि प्रधानमन्त्री नै बनेर देश हाक्नुहोस भन्ने आमलगानीकर्ताको भावना छ तर जब तपाइँको भलो चिताउने लगानीकर्ताहरु नै मरिसकेका हुन्छन् भने तपाइँको स्वास्थ्य लाभको कामना कसले गर्ने प्रधानमन्त्रीज्यू ?

पूँजी बजारको संकट समाधानमा खेलाँची गरियो भने यसले सरकारलाई नै बदनाम बनाउने छ । प्रधानमन्त्री ओलीले विरामी भएर पनि देश विकासका लागि देखाएको सक्रियता बालुवामा पानी हाले सरह हुनेछ । प्रश्न यहीँ छ, विरामी प्रधानमन्त्रीलाई शेयर बजारका सारा लगानीकर्ताले धारे हात लगाउँने अवस्था किन बनाउनु ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here