तिलक कोइराला ।

कोरोना संक्रमण र लकडाउनको प्रभावले शेयरको मूल्य धेरै घट्छ भनेर केही मानिसहरु शेयर बजार बन्दै राख्नुपर्ने तर्क गर्छन । बजार खोल्यो भने यति अंक नेप्से घट्छ र उति अंक घट्छ भन्दै आतंकित हुन्छन् । वास्तबमा यो वाहियात चिन्ता हो ।

चिन्ता त त्यहाँ हुनुपर्ने हो, जुन कोरोना संक्रमण र लकडाउनबाट राहत दिन सरकारले के गर्यो, सुधार र बिस्तारका काम के भए भन्ने छ ।

शेयर बजार र लगानीकर्तामा सधै विरोधाभाष देखिन्छ । किन्नुपर्ने पक्षले बजार खोल्नुपर्छ भन्छ, पहिले शेयर किनेर बसेका र बेच्नुपर्ने पक्षले घट्ने संभावना देखिएपछि बजार बन्द गर्नुपर्छ वा खोल्नु हुँदैन भन्छ ।

बजारमा खरिदकर्ता र बिक्रेताको सहज पहुँच कायम हुने वातावरण खडा गरिएको अबस्थामा शेयरको मूल्य घट्बढ स्वभाविक हुन्छ । शेयर बजारमा मूल्य घट्ने संभावना जति हुन्छ, खरिद गर्नेहरु पनि उति नै हुनसक्छन् किनभने एउटाले जोखिम देखेको बजारमा अर्कोले किन्ने मौका वा अवसर देखिरहेको हुन्छ ।

लगानीकर्ताहरुको विपरित सोचाईले नै बजारलाई चलायमान बनाउँछ । घटबढ नै शेयर बजारको जीवन्त आत्मा हो । त्यसैले घट्छ वा बढ्छ भन्ने बहस छाडेर मुख्य कुरातिर केन्द्रित होऔं ।

लकडाउनको झण्डै तीन महिना हुँदा शेयर बजारका लगानीकर्तालाई राहत, बजार सुधार र बिस्तारका के काम भयो ? यो मुख्य प्रश्न हो ।

के पाँच प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम कर हो भनी लगानीकर्ताको मनोबल बलियो पार्ने काम भयो ? पाँच प्रतिशत अन्तिम कर नै हो, अहिलेसम्म कसैले पनि शेयर बिक्रीमा भएको लाभमा कर चुक्ता लिँदा त्यो भन्दा बढी कर तिर्नु परेको छैन । लगानीकर्तामा आशंका रहेको अबस्थामा त्यसलाई स्पष्ट पार्दा लगानीकर्ताको मनोबल बढ्ने थियो । धितोपत्र बोर्डले यो गर्छु पनि भनेको छ तर खै ? 

के कोरोना संक्रमण र लकडाउनबाट पीडित लगानीकर्तालाई मार्जिन लोनको सिमा ६५ बाट ८० प्रतिशत पुर्याउने काम भयो ? धितोपत्र बोर्डले नैै ७५ प्रतिशत पुर्याउँन राष्ट्र बैंकलाई भनेको छ ।

के अहिलेको अभुतपुुर्व संकटको बेलामा कम्तिमा ३ महिनासम्म मार्जिन कल गरिने छैन भन्ने घोषणा गरेर लगानीकर्तालाई आश्वस्त पारियो ? सामान्य अवस्थामा कसैले पनि मार्जिन कल गर्न हुँदैन भन्नुहुँदैन तर अहिले त बिशेष अबस्था हो ।

के असार मसान्तसम्म असुल नहुने सावाँ ब्याजलाई पूँजीकृत गर्ने वा नोक्सानी ब्यवस्थामा राख्न नपर्ने कुनै स्पष्ट निर्देशन राष्ट्र बैंकले गर्यो ? यो किन जरुरी छ भने शेयर बजारमा बैंक तथा बित्तीय संस्थाको हिस्सा ७० प्रतिशत छ र उनीहरुको आय र लाभांश वितरण क्षमतामा ह्रास आउँदा बजारमा प्रत्यक्ष प्रभाव पर्छ ।

के सूचीकृत होटल वा लामो समयसम्म प्रभावित हुुने सूचीकृत कम्पनीहरुलाई दुई बर्षसम्म आयकर छुट सुविधा प्रदान गरेर ब्यवसाय संरक्षण गरी लगानीकर्तालाई उत्साहित पारियो ?

के झण्डै दुई बर्ष अगाडि संचालनमा ल्याईएको कथित अनलाईन प्रणालीमा लकडाउन अवधिको सदुपयोग गरेर बैंक र हितग्राही खाता ईन्टिग्रेट गरियो ?

के मार्जिन ट्रेडिड्को सहुलियतपूर्ण ब्याज दरसहित लगानीकर्ताले कुनै निश्चित मितिबाट सेवा पाउने सुनिश्चितता भयो ?

के नागरिक स्टक डिलर र अरु संस्थागत लगानीकर्ताले शेयर बजार खुलेको दिनबाट आफ्नो हस्तक्षेप बजारमा बढाउने सुनिश्चितता भयो ?

के सात बर्षदेखि सरकारी निकायहरुले भन्दै आएको गैरआवासीय नेपालीहरुलाई शेयर बजारमा भित्र्याउने सबै बन्दोबस्त पुरा भयो ?

के सक्षम ब्रोकर र संस्थागत लगानीकर्ताले डिलरशीपको काम गर्न पाउने ब्यवस्थासहित निश्चित मितिबाट त्यो लागु हुने ब्यवस्था भयो ?

के ब्रोकरहरुलाई आधिकारिक प्रतिनिधि मोडलमा क्षेत्र विस्तारमा जान सक्ने ब्यवस्था कार्यान्वयन भयो ?

के फुल ब्रोकर र कमिशन ब्रोकरको प्रावधानसहित सक्षम ब्रोकरहरुलाई प्रोत्साहित गरियो ?

के कम्पनी खडा भएर तयारीसाथ बसेका बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिर्ईयो ?

के ब्रोकर कमिशन घटाएर लगानीकर्तालाई उत्साहित पार्ने काम गरियो ?

के २०७५ साल असार मसान्तसम्म गरिसक्नुपर्ने भनी अर्थ मन्त्रालयले किटान गरेको ५८ बुँदाको पूँजी बजार सम्बद्ध २० वटा मुख्य कामहरु भईसक्यो ?

यस्ता कयौं प्रश्नहरु छन्, जुन लकडाउनका बीचमा गर्न सकिन्थ्यो तर फिटिक्कै भएन ।

धेरै कामहरु सरकार र नियमनकारी निकायले एक रुपैयाँ पनि खर्र्च नगरी गर्न सक्दथे तर गरेका छैनन् । यो नालायकी हो ।

यस्ता कामहरु नहुनु भनेको बजारमा फेरि पनि जोखिमको अत्याँसलाग्दो अबस्था विद्यमान रहनुु हो ।

अहिले घटेको मुल्यमा बिशाल समूह लगायतका ब्यापारिक घरानाहरुले ठूलो परिमाणमा शेयर किन्ने तयारी गरेका हुनसक्छन् । त्यसले बजारमा शुरुका दिनहरुमा अत्याँसलाग्दो घटाईको सिर्जना गर्नसक्छ र धेरै सर्बसाधारण लगानीकर्ताले आँत्तिएर शेयर बेच्न सक्छन् । ब्रोकरहरुले बक्यौता उठाउँन लगानीकर्तालाई शेयर बिक्रीको दबाब सिर्जना गरेकै छन् ।

घट्छ तर आँत्तिने कुरै छैन किनभने शुरुमा बिक्री चाप नै देखिन्छ । सर्बसाधारण लगानीकर्ताको बाहुल्यता र संस्थागत लगानीकर्ताको न्युन उपस्थिति भएको बजारमा रोई कराई सामान्य कुरा हो । घट्दा रोई कराई गर्ने र बढेर टुप्पोमा पुगेपछि उफ्रिएर शेयर किन्नेहरु सर्बसाधारण लगानीकर्ता नै हुन् । उनीहरु डुबेका छन् र फेरि पनि डुब्छन् ।

सुधार र विस्तारका काम गर्नु पर्दथ्यो र लगानीकर्तालाई बलकडाउनको अबरोध छिचालेर बजारमा सहज पहुँच कायम गर्न र आबश्यक तयारी गर्न एकसाताको पुर्व सूचना दिएर बजार खोल्नुपर्छ । घट्छ वा बढ्छ भन्ने कुराबाट नियमनकारी निकाय गाईडडेड हुन मिल्दैन तर आफुले गर्नुपर्ने काम नगरी हात बाँधेर बस्न पनि मिल्दैन ।

बजारको यो जोखिमको पाटोलाई हेरेर सरकार र नियमनकारी निकायहरुले नीति, नियम, प्रविधि र पुर्वाधार सुनिश्चित गर्ने कदम चाल्नुपर्ने हो, त्यो भएको छैन । मुख्य चिन्ताको बिषय नै अहिले यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here