तिलक कोइराला ।

बजारमा शेयरको मूल्य धेरै घट्यो भनेर आतंकित हुने हैन, बरु उत्साहित हुँदै छानी छानी राम्रो कम्पनीको शेयर किन्नुपर्ने बेला आएको छ ।

शेयर बजारमा शेयरको मूल्य धेरै बढेको बेला नाफा सुरक्षित गर्न फाईदाका शेयरहरु बिक्री गर्ने अवसर हुन्छ भने बजार डरलाग्दो गरी घटेर लगानीकर्ताहरुको भागाभाग भएको बेला छानी छानी राम्रा कम्पनीका शेयरहरु किन्ने सुनौलो अवसर प्राप्त हुन्छ ।

बजार घटेको बेला जतिसक्दो घटाएरै शेयर किन्न सकिन्छ भने बढेको बजारमा राम्रा कम्पनीको शेयर किन्न मूल्य बढेरै बस्नुपर्छ ।

यस साताको आईतबार र सोमबारको बजार घटाईले कयौं लगानीकर्ताहरु त्रसित बनेका छन् तर हिम्मत हुने र लगानी कौशल भएका लगानीकर्ताहरुलाई भने शेयर बजारमा लगानी गरेर करोडौ कमाउँने अवसर जुटेको छ । राम्रा भनिएका कम्पनीहरुकै शेयर मूल्य दुई दिनमा १५ प्रतिशतसम्म घटेकाले यस्तो अवसर चुकाउनु बुद्धिमानी हुन्न ।

यस्तो बेला कतिपयले घाटा कम गर्ने भन्दै राम्रा कम्पनीका शेयर पनि घटाएर बिक्री गर्ने मुर्खता प्रदर्शन गर्छन तर विवेकपूर्ण लगानी गर्नेहरुका लागि त्यही नै अवसरको रुपमा देखापर्छ । बजारमा भर्खर प्रबेश गरेकाहरु समेत आँत्तिएर घाटामा शेयर बिक्री गरी भाग्न खोज्छन् र फेरि बजार बढेपछि त्यही आफुले घाटामा बेचेको शेयर महंगोमा किन्ने ब्यवहार देखाउँछन् । राम्रा कम्पनीको शेयर यस्तो बेलामा कुनै हालतमा बेच्नुहुन्न बरु नराम्रो कम्पनीको शेयर फालेर राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ ।

यस्तो बेला विगतमा मूल्य धेरै उचालिएर जोखिमपूर्ण विन्दु पार गरेका राम्रा कम्पनीको शेयर हैन, मूल्य धेरै बढ्न नसकेको तर घटाईको मारमा परेको कम्पनीको शेयर उठाउँन रत्तिभर डर मान्नु हुँदैन ।

नेपालको शेयर बजारमा कयौं कम्पनी यस्ता छन्, जसले विगतका बर्षहरुमा राम्रै लाभांश दिदै आए र अहिले पनि प्रतिशेयर आम्दानी १५ रुपैयाँमाथि र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तलै छन् । त्यस्ता कम्पनीमा लगानी गर्दा अहिले धेरै जोखिम छदैछैन । एउटा मात्रै कम्पनीको शेयरमा सबै पैसा लगानी नगरी कम्तिमा पाँच वटा फरक बर्गका कम्पनीहरुमा विविधिकरण गर्दा आगामी दिनहरुमा शेयर बजारबाट लिन सकिने फाईदा धेरै देखिन्छ ।

९६ अंकले सूचकमा घटाई भयो भन्दै नेप्से हेरेर भाग्ने हैन, नेप्से कहाँ पुग्ला भन्ने चिन्ता र चासो पनि रत्तिभर लिने हैन । शेयर बजारमा अनेक हल्ला चल्छन्, बजारमा शेयरको मूल्य तलमाथि भईरहन्छ र सूचकमा पनि त्यसको सीधा असर परिरहन्छ तर यो चिन्ताको बिषय नै हैन । आफ्नै भाग्य र भबिष्य नजान्नेहरुले गरेको नेप्से सूचक कहाँ पुग्ला भन्ने भबिष्यबाणीको कुनै मतलव नगरी अगासडि बढ्नुपर्छ । कम्पनी हेरेर लाभांश र पूँजीगत लाभको दुबै पाटो हिसाब गरी आफ्नो जोखिमबहन क्षमता अनुसार लगानी गर्ने हो भने कमाउँने अबसर आएको छ ।

कसैको बहकाउ र उक्साहटमा नलागी आफ्नै अध्ययन र विश्लेषणबाट सही कम्पनी छनौट गरेर लगानी गर्नुपर्छ । हरेक लगानीकर्तामा लगानी कौशल र ३० प्रतिशत नाफा भएको अबस्थामा फाईदा सुरक्षित गर्ने तत्तपरता हुनैपर्छ । शेयर बजार जोखिमको क्षेत्र हो र यहाँ लगानी गर्दा कम भन्दा कम जोखिम लिएर धेरै फाईदाका संभावनाहरु खोजी गर्नसक्नुमा सफलता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here