तिलक कोइराला ।
दलाल भन्ने बित्तिकै नेपालका सर्बसाधारणले नाक खुम्चाउने गर्छन । विदेशी दलाल, केटी बेच्ने दलाल, बैदेशिक रोजगारीको नाममा गडबडी गर्ने दलाल, मानव तस्करीको दलाल, कमशल जग्गा भिडाउने दलाल, दुई नम्बरी कारोबारका दलाल, हुण्डीका दलाल लगायत अनेक प्रकारले दलालहरुको बेईज्जति भईरहेकै छ ।
शेयर कारोबार गर्ने धितोपत्र दलाल भने सम्मानित पेशा हो । यसलाई स्टक ब्रोकर भनिन्छ । सरकारले नै दलाल भनेर लाईसेन्स दिएकाले यिनीहरुबाट बैध र कानुनी काम मात्र हुन्छ । त्यसैले माथि चर्चा गरिए जस्तो शेयर दलाल भन्ने बित्तिकै नाम खुम्च्याउनु पर्दैन । तर केही दलालहरुको अपारदर्शी कृयाकलाप र लगानीकर्ताहरुप्रतिको ब्यवहारले शेयर दलाललाई पनि माथिकै कोटीका दलालको रुपमा हेर्नेहरु पछिल्ला दिनमा बढेका छन् । केही ब्रोकर खराब होलान् तर धेरै असल नै छन् । थोरैले गरेको बदमासीको भार धेरैले बोक्नु परेको हुनसक्छ ।
शेयर दलालहरुले समग्र शेयर बजार र आम लगानीकर्ताको हित भन्दा बाहिर गएर आफ्नो मात्रै हित र फाईदाका लागि काम गर्न थाल्दा उनीहरुमाथि आक्षेप लगाउनेहरु बढेर जान्छन् । “लगानीकर्ता बाँचे न हामी बाँच्छौ, तब न कमिशन आउँछ” भन्ने सोच स्टक ब्रोकरमा हुनैपर्छ ।
शेयर बजारका लगानीकर्ता (हाल नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष) छोटेलाल रौनियारले “शेयर दलालहरु चोर हुन् ” नेप्सेकै प्रांगणमा भाषण गरेपछि ब्रोकरहरुले रौनियार बिरुद्ध मोर्चाबन्दी नै गरे । उनीहरुले रौनियार बिरुद्ध मुद्धा हाल्ने मात्रै चेतावनी दिएनन्, कुनै पनि ब्रोकरबाट शेयर कारोबार नै गर्न नदिने धम्की समेत दिएको कुरा त्यतिखेर चर्चामा आयो । पछि रौनियारले सबै ब्रोकरलाई चोर नभनेको र अब कहिल्यै त्यसो नभन्ने प्रतिबद्धता ब्यक्त गरेपछि मात्र ब्रोकरहरु पछि हटेका थिए ।
रौनियारले पहिले ब्रोकरहरुले “युनियनबाजी , सिण्डीकेट र कोर्टेलिड. ” गर्दै आएको भनेर ब्रोकर एशोसियशनको खुला विरोध गर्ने गर्थे, यद्यपी उनको चर्को आवाज अहिले सुनिएको छैन ।
भ्याट प्रकरण, प्यान प्रकरण, कारोबार कर प्रस्ताब लगायतका अनेकौ मामिलामा ब्रोकर र लगानीकर्ताबीचमा लुकामारीको खेल खेलिएको स्पष्ट नै छ । ब्रोकर कमिशनको सवालमा त यी दुई पक्षबीच कहिल्यै सहमतिको संभावना देखिएन ।
सबै ब्रोकर दुधले नुहाएका छैनन् र सबै लगानीकर्ता पनि ईमानदार छैनन् । केही बदमास छन् भन्दैमा सबै ब्रोकर र लगानीकर्तालाई एउटै कोटीमा राख्न मिल्दैन ।
नेपालका शेयर लगानीकर्ता र ब्रोकरवीचमा लामो समयदेखि आरोप प्रत्यारोप चल्दै आएको छ । ब्रोकरहरुले लगानीकर्ताको हित र पूँजी बजारको विस्तार भन्दा पनि ब्रोकरकै मात्र हित हेरेर काम गर्ने गरेको आरोप पुरानै हो । ब्रोकरको दृष्टिमा पनि लगानीकर्ता भनेका बेईमान, शेयर किनेपछि रकम भुक्तानी नगर्ने खालका हुन्छन् भन्ने भ्रम परेकै छ ।
हालैको लकडाउन वीचमा खुलेको शेयर बजारमा पनि लगानीकर्ता र ब्रोकरवीचको यही अन्तरद्धन्द र अविस्वासले काम गर्यो । धितोपत्र बोर्डले लगाएको नयाँ नियमको सफल कार्यान्वयन हुन नसकेपछि माग र आपुर्तिबीचमा कृत्रिम खाडल देखा परेर केही स्वार्थी तत्वहरुले खेले । यसको कारणले दुई दिनमै कारोबार बन्द गर्न धितोपत्र बोर्ड र नेप्से बाध्य भयो । त्यो दुई दिनको कारोबार रद्द गर्नुपर्ने आवाज लगानीकर्ताहरुले अहिले उठाईरहेका छन् ।
ब्रोकर र लगानीकर्तावीचको अन्तर विरोधले गर्दा सरकार र नियमनकारी निकायहरुले पूँजी बजार सुधार र बिस्तारका लागि गर्नुपर्ने काम पनि नगरी बसेका छन् । लगानीकर्ता र ब्रोकरबीचको अन्तरद्धन्द सरकार र नियमनकारी निकायहरुलाई काम नगर्ने बहानाबाजी बन्नु नेपाली पूँजी बजारको बिडम्बना हो ।
लगानीकर्तामा रहेको ब्रोकरप्रतिको अविस्वास हटाउँन काम गर्ने अहिले सही समय आएको छ । लकडाउनको बीचमा बैंक र हितग्राही खाता ईन्टिग्रेशन गर्न नेप्से र धितोपत्र बोर्डलाई दबाब दिएर ब्रोकरहरुले लगानीकर्ताबीचको अविस्वास सदाका लागि समाप्त पार्न सक्छन् । उनीहरुले यसो गरे भने सेटलमेन्टमा भोग्दै आएको समस्याको स्वतः समाधान हुन्छ । ब्रोकरहरु बैंक ईन्टिग्रेशन गर्न चाहँदैनन् भनी लाग्दै आएको आरोपलाई असत्य प्रमाणित गरेर उनीहरुले यसपटक देखाउँन सक्नुपर्छ ।
बैंक ईन्टिग्रशेन गर्दा केही वास्तविक लगानीकर्ता, जो उधारोमा शेयर किन्छन् र पैसा नै नबुझाई बिक्री गरेर ब्रोकरलाई अफ्ठेरोमा पार्छन, उनीहरुलाई अबश्य नै गाह्रो हुनसक्छ । केही डमी लगानीकर्ता तयार गरी शेयर किनबेच गर्दै आएका ब्रोकरलाई पनि मुस्किलको सामना गर्नुपर्ला । तर यसबाट आम लगानीकर्ता र पूँजी बजार लाभान्वित हुनेछ । कसैले ब्रोकरले लिमिट दिएन वा शेयर बेचिदिएन भन्ने गुनासो दोहोर्याएर सुन्नुपर्ने छैन ।
ब्रोकर र लगानीकर्ताबीचको जारी अन्तरविरोधलाई समाधान गर्ने यही मौका हो, जसका लागि ब्रोकरले नै अग्रसरता लिनुपर्छ । शेयर ब्रोकर वास्तबमै सम्मानित पेशा हो भन्ने प्रमाणित गर्न पनि ब्रोकर नै अगाडि सर्नुपर्छ ।