-तिलक कोइराला ।

सस्तो बेसाहाले पखाला लाग्छ भन्ने उखानलाई एकैछिन पर राखेर शेयर बजारका सस्ता शेयर मूल्य भएका कम्पनीहरुको अबस्थाका बारेमा अध्ययन गर्ने हो भने रोचक तथ्यहरु फेला पर्छन । शेयर बजार घटेर तल्लो बिन्दुमा आएको बेला सबैभन्दा सस्तो शेयर मूल्य भएका कम्पनीहरु कस्ता रहेछन् त भन्ने बारेमा यहाँ २०० रुपैयाँ प्रतिकित्ता भन्दा तल मूल्य आएका कम्पनीहरुको बारेमा अध्ययन प्रस्तुत गरिएको छ ।

यहाँ विवरण प्रस्तुत गरिएका ५० कम्पनी मध्ये कयौंको शेयर मूल्य प्रतिशेयर नेटवर्थ हाराहारीमा आएको, १० प्रतिशत हाराहारीमा लाभांश वितरण गर्नसक्ने क्षमता रहेको, मुल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेको देखा पर्छ, जसलाई लगानी सुरक्षा हिसाबले महत्वपूर्ण मान्नुपर्छ ।

कतिपय नकारात्मक नेटवर्थ भएका, प्रतिशेयर आम्दानी सुन्य वा सो भन्दा तल झरेका र मूल्य आम्दानी अनुपात धेरै गुणा माथि रहेका, विगतमा कुनै लाभांश दिन नसकेका र आउने बर्षहरुमा पनि दिन नसक्ने कम्पनीहरु पनि छन्, ती चाँही जत्ति सस्ता शेयर मूल्य भए पनि लगानीकर्ताका लागि खतरा हुन् । त्यस्ता कम्पनीबाट लगानीकर्ताहरु टाढै रहनुपर्छ नत्र सस्तो बेसाहाले पखाला लाग्ने संभावना अत्यधिक छ ।

बाणिज्य बैंक

नेपालको शेयर बजारमा सबैभन्दा बलियो देखिएका बाणिज्य बैंक मध्ये चार वटा कम्पनीहरुको शेयर मूल्य २०० रुपैयाँ भन्दा तल रहेको छ । उनीहरुको अबस्था बिश्लेषण गर्दा गत बर्ष १० प्रतिशत हाराहारीमा लाभांश दिएको र आउने साधारणसभामा पनि १० प्रतिशत हाराहारी लाभांश खान सकिने र अबस्था सुधारोन्मुख नै रहेको हुनाले सस्तो मूल्यको शेयरमा लगानी गर्नु कम जोखिमपूर्ण रहेको देखिन्छ ।

आफुले बनाउने लगानी सम्बन्धि पोर्टफोलियोमा यी कम्पनीहरुलाई पनि समाबेश गर्ने बारेमा बिचार गर्न सकिन्छ । तर यी भन्दा पनि धेरै राम्रा बाणिज्य बैंकहरु छन् र उनीहरुमा प्रतिफलको संभावना पनि उत्तिकै धेरै छ ।

बिकास बैंक

बिकास बैंकहरुमा नकारात्मक नेटवर्थ भएका भन्दा बाहेकका कम्पनीहरु जसको प्रतिशेयर आम्दानी १० रुपैयाँ हाराहारीमा छ, प्रतिशेयर नेटवर्थकै हाराहारीमा शेयर मूल्य आएको छ, बिगतमा लाभांश बाँडेको र आउने बर्ष पनि बाँड्ने क्षमता राख्छ, निस्क्रिय कर्जा अनुपात कम छ, त्यस्ता कम्पनीहरुमा लगानी कम जोखिमपूर्ण हुने देखिएको छ ।

यहाँ पनि सस्तो भयो भन्दैमा नकारात्मक नेटवर्थ भएका कम्पनीमा आँखा लगाउनु भनेको आँखा पाक्ने रोग सर्ने संभावना बढी हुनु हो ।

फाईनान्स

फाईनान्स कम्पनी भन्दैमा हेप्नु हुँदैन भन्ने कुरा तथ्य विवरणले प्रष्ट गर्छ । फाईनान्सहरुमा कतिपयको संस्थागत सुशासन र बित्तीय अवस्था निकै दयनीय रहे पनि कतिपय भने सााँच्चै लगानीकर्ताका लागि फाईदाजनक छन् भन्ने देखिन्छ ।

तर सात वटा फाईनान्सहरुमा लगानी बढाउँदा जोखिमको मात्रा अत्यधिक र प्रतिफलको संभावना अत्यन्त कमजोर देखिन्छ । राम्रा छान्नेलाई यहाँ पनि अवसरहरु छन् ।

जलबिद्युत

जलबिद्युत कम्पनीहरु मध्येमा सस्ता शेयर छन् भन्दैमा आँखा चिम्लिएर किन्नु घातक छ भन्ने देखिदै छ ।

खासगरी संस्थागत सुशासन अस्तब्यस्त र बित्तीय अबस्था अत्यन्त कमजोर भई विगतमा लाभांश बितरण नगरेका, अब पनि गर्ने क्षमता नभएका र नकारात्मक नेटवर्थ र संचालन घाटामा रहेका कम्पनीहरु लगानीकर्ताका लागि खतराका सूचक हुन् ।

लगानी कसरी गर्ने ?

सबैभन्दा पहिले यहाँ प्रस्तुत गरिएका तथ्यहरुलाई आफैले अध्ययन बिश्लेषण गरी भिडाउनुहोस् । सबै कुरा उचित लागेको अबस्थामा १० देखि १५ वटा सस्ता शेयर मूल्य भएका तर राम्रा कम्पनीहरु छनौट गर्नुहोस् र लगानी विविधिकरण गर्नुहोस् ।

यहाँ उल्लेख भएका भएका सस्ता कम्पनी बाहेक अरु बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, बीमा, लघुवित्त, जलबिद्युत र अन्य कम्पनीहरु पनि सही विकल्प हुनसक्छन् । खासगरी केही चुनिएका बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, बीमा र आठ वटा जत्ति पूँजी आधार र प्रगति राम्रो भएका लघुवित्तसहितको पोर्टफोलियो बनाएर लगानी गर्नु बुद्धिमानी हुनसक्छ ।

एउटै कम्पनीमा आफुसँग भए भरको पैसा लगानी गर्नु र एकैपटक एउटै कम्पनीको शेयर किनेर थुपार्नु धेरै जोखिमको कुरा हो ।

शेयर बजार घटेको बेला सस्तो मूल्य भएको तर राम्रो कम्पनीहरुको शेयरमा लगानी गर्ने हो भने बढेको बेला उच्च फाईदा पाउन सकिन्छ र शेयर बजारमा भईरहने घटबढको जोखिम मोलेर दीर्घकालीन लगानी गर्दा कम्पनीले दिने लाभांशले झन् धेरै फाईदा हुन्छ ।

शेयरको मूल्य कति बढ्ला भनेर हैन, कम्पनी कस्तो छ र लाभांश कति पाईएला, त्यो लाभांशले आफुले हालेको मूल्यलाई खाम्छ कि खाम्दैन भनेर हरदम बिचार गर्नु सही तरिका हो । कसैको लहै लहैमा लागेर नराम्रो कम्पनीमा फसियो भने अरुलाई दोष दिनु बेकार हो, आफ्नोे लगानी डुब्छ ।

हावादारी लगानीकर्ता र फेसबुके बिश्लेषकहरुको पछाडि नलाग्नु मै सही लगानीकर्ताको कल्याण छ । जे गर्ने हो आफ्नो अध्ययन, बिश्लेषण र निर्णयबाट गर्नुपर्छ । सुरक्षित लगानी गर्नेहरुको भबिष्य नेपालको बिकास हुँदै गरेको शेयर बजारमा सुरक्षित छ ।

तथ्यमा फरक पर्नसक्ने कुरा

यहाँ प्रस्तुत गरिएका आँकडाहरु कम्पनीहरुको तेस्रो त्रैमासको बित्तीय विवरण, साधारण सभाको सूचना र २०७५ साल असार २१ गते नेपाल स्टक एक्सचेन्जमा भएको कारोबार बिबरणमा आधारित छन् ।

चौथो त्रैमासको अन्तिम समय आएकाले अबको बित्तीय विवरणले यहाँ प्रस्तुत आँकडामा ठूलो फेरबदल ल्याईदिनसक्छ । कम्पनीहरुले बिक्री गरेको हकप्रद र जारी गरेका बोनस शेयर सुचिकरण भएको अबस्थामा यहाँ प्रस्तुत आँकडा र तथ्यमा फरक पर्नसक्ने संभावना छ ।

यस अध्ययनले लगानीकर्तालाई मोटामोटी आधार मात्र दिन्छ, जोखिमबाट पुरै बचाउँछ र लगानीको सुरक्षा प्रत्याभुत गर्छ भन्ने हैन । आफैले पर्याप्त अध्ययन, बिश्लेषण गरेर शेयर बजारमा लगानी विविधिकरण गर्नु उपयुक्त हुन्छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here