तिलक कोइराला ।

शेयर बजार अन्य कुराहरुको साथसाथै माग र आपुर्तिमा आधारित भएर चल्छ । माग धेरै भयो, आपुर्ति कम भयो मूल्य बढ्छ र आपुर्ति धेरै भयो, माग कम भयो भने मूल्य घट्छ । यी दुबै कुरा सन्तुलित भईरहँदा पनि शेयर बजारमा सामान्य घट्बढ भईरहेको हुन्छ, जसमा अरु कुराको प्रभाव हुन्छ । घट्बढ् भईरहनु शेयर बजारको नियमै पनि हो ।

पछिल्ला समयमा नेपाल सरकार र नियमनकारी निकायहरुले शेयर बजारबाट सकेसम्म लगानीकर्ता भगाउने र भएभरको आपुर्ति शेयर बजारमा खन्याउने रणनीति अख्तियार गर्दै आएको आभाष आम सर्बसाधारण लगानीकर्ताले गरेका छन् ।

लगानीकर्तालाई आतंकित पार्दाको परिणाम

धितोपत्र बोर्डबाट प्रबाह भएका सम्पति शुद्धिकरण, केवाईसी लगायतका कुराहरुको प्रभाव होस् वा करका दरहरुसम्बन्धी सरकारले अख्तियार गरेका रणनीतिहरु नै किन नहुन, शेयर बजारबाट लगानीकर्तालाई भगाउने अस्त्र बनिरहेका छन् । त्यसमाथि अर्थमन्त्रीले नै शेयर बजारमा लगानी गर्दा धेरै जोखिम हुन्छ, बैंकमा निक्षेप राख्यो भने सुरक्षित भईन्छ जस्ता अभिब्यक्तिहरु दिँदा लगानीकर्ताको मनोबल कमजोर भएर बजारमा आपुर्ति बढेको छ । यसको अर्थ शेयर बेचेर बजारबाट बाहिर निस्कनेहरु बढेका छन् । पछिल्लो कर बिबादले त झन् लगानीकर्ताहरुमा आशंका र अन्योल बृद्धि गरेको छ । सरकारको नीति तथा कार्यक्रम अनि बजेटमा पूँजी बिस्तार र लगानीकर्तालाई आश्वस्त पार्ने कार्यक्रमहरु आउँन नसक्दा निराशा चुलिएको छ ।

बजारमा लगानीकर्ताको संख्या र लगानी थपिनुको सट्टा खुम्चिएका छन् भने कम्पनी र उनीहरुको शेयर कित्ता दिनदिनै थपिएर गएको छ । यसले माग भन्दा आपुर्ति बढाईदिएको अबस्थामा शेयरको मूल्य घटेको छ र बजारमा लगानी गरिररहेका लगानीकर्ताहरुले थाम्नै नसकिने घाटा खाएका छन् ।

बजारलाई अरु संकट तर्फ जान नदिने केही रणनीतिक उपायहरु अबलम्बन गर्नेपर्छ । नकारात्मक प्रचारबाजी गर्न छाडेर सरकारी अधिकारीहरुले माग बढाउने उपाय निकालेनन्, बजारमा धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई आकर्शित गर्ने वातावरण निर्माण गरेन्न् भने भोलि कम्पनीहरुले बिक्रीमा ल्याउने साधारण शेयर किनिदिने पनि लगानीकर्ता नहोला्न भन्ने खतरा छ ।

शेयर बजार भनेको लगानीकर्ताको मनोबल र मनोबिज्ञान पनि हो । त्यो खल्बलियो भने अरु कुरा ठीकै भए पनि थाम्न गाह्रै पर्छ ।

आँकडा केलाउँ

साउन भित्रमा कम्तिमा २५ अर्बको शेयर बिक्रीमा आउने पक्का जस्तै अबस्था छ ।

यो आँकडामा हकप्रद बिक्री गर्दा शेयरधनाीको दावी नपरेको प्रभु बैंक, कुमारी बैंक लगायतकाको लिलाममा आउने शेयरहरुको हिसाब संलग्न छैन । यो बर्षमा प्राथमिक शेयर जारी गर्ने प्रस्ताब पारित गराएर धितोपत्र बोर्ड जान पहिलो बर्षको बित्तीय विवरणको पखाईमा रहेका बीमा कम्पनीहरुको शेयरको हिसाब पनि यसमा जोडिएको छैन । आउने भदौतिरबाट नयाँ बीमा कम्पनीहरुको आईपीओ बिक्रीमा आउने संभावना छ ।

दोस्रो बजार बलियो भए मात्र पहिलो बजार टिक्छ

दोस्रो बजार बलियो भए मात्र पहिलो बजार बलियो हुन्छ । अहिले दोस्रो बजार निकै खस्किएको अबस्थामा सामुहिक लगानी कोषहरुको नयाँ ईकाई बिक्रीमा आयो भने पनि कसैले लगानी गर्दैनन् । दोस्रो बजारमै १० रुपैयाँ भन्दा सस्तोमा ईकाईहरु पाईराखिएको अबस्थामा कसले १० रुपैयाँको दरले नयाँ म्यृचुृअल फण्डको ईकाई किन्ने ? अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पनि सामुहिक लगानी कोषमा जोड दिईरहेका छन् तर लगानीकर्ताको मनोबल बलियो नबनाई सामुहिक लगानी कोषहरुलाई पनि लगानी जुटाउँन गाह्रो छ ।

पछिल्लो समय एनआईसी एशिया र सीबीआईएल क्यापिटल म्युचुअल फण्डको सबै ईकाईहरु नबिकेबाट पाठ सिक्नैपर्छ । बुटवल पावरको एफपीओ सबै नबिकेर प्रत्याुभुति गर्नेहरुले सकार्नु पर्दाको समस्या आफ्नै ठाउँमा छ भने एनएमबी र नेपाल बैंकको एफपीओ के हुने हो भन्ने कुरा पनि बहसमा आएको छ ।

लाभांश दिने नै कतिपय कम्पनीहरुको शेयरलाई दोस्रो बजारमा १०० रुपैयाँ वा आईपीओ लागत मूल्यमा नै पाईएको छ । अहिलेसम्म कम्पनीहरुको आईपीओ बिक्री भईरहे पनि थप नयाँ साधारण शेयर अर्थात एफपीओ बिक्री नहुने अबस्था आईसक्या, कम्पनीहरुको हकप्रद बिक्न छाडु्यो भने सरकारले हल्ला गरे जस्तै अर्बौ अर्ब पूँजी भएका कम्पनीले बिक्रीमा ल्याउने करोडौ कित्ता शेयरहरु कसले किनिदिने ? भन्ने प्रश्न उब्जिनसक्छ ।

हो, आपुर्ति त रोक्न सकिदैन तर भएकालाई उत्साहित बनाएर नयाँलाई आकर्शित गर्न त सकिन्छ ।

बजार बिस्तारका कामहरुलाई थाती राखेर आपुर्ति मात्रै बढाउने नियमनकारीहरुको कृयाकलाप आत्मघाती छ । शेयर बजारलाई ऋणपत्रमुखी बजारमा बिकास गर्ने बहानामा अहिले बजारमा लगानी गरिरहेकाहरुलाई भगाउने रणनीति खतरनाक मात्रै छैन, पूँजी बजारलाई भडखालोमा जाक्ने षडयन्त्र प्रेरित पनि छ । भएकालाई भगाएर नयाँ ल्याउँछु भन्नु मुर्खतापूर्ण कदम पनि हो ।

 

1 COMMENT

  1. उत्पादन वृद्धि भै कम्पनीले दिने लाभांश र कंपनीको सुदृढ आर्थिक अवस्थाबाट शेयर मूल्य प्राकृतिक रूपमा र अर्थशास्त्रको नियमबाट निर्धारण भए पो शेयर मूल्य दिगो हुन्छ, उदाहरणको लागि भारत लगायत विश्वका अन्य देश अमेरिका, जापान र बेलायत।

    तर हाम्रो देशमा त दलाल अर्थतन्त्र छ जसले गर्दा उद्योग उत्पादन ध्वस्त छ, कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, रोजगारी अवस्था दयनीय छ। व्यापार घाटा, वैदेशिक ऋण, भ्रष्टाचार भयावह छ। यो समस्या नसुल्झेसम्म जति नै शेयर मूल्य उतार चढाव भए पनि त्यसको पछाडी टाठाबाठाको चलखेल छ, उनीहरू घरजग्गामा जस्तै एउटै शेयर पटक पटक किनबेच गराई नाफाको भार बढाउदै शेयर मूल्य उच्च गराउँछन् । आफुलाई अनुकुल हुने गरी बेच्दछन् बजारमा अनेक प्रपोगन्डा, अफवाह गर्छन् चाहेजस्तो भाउमा घटाउछन अनि फेरि किन्छन्, यहाँ त अर्थशास्त्रको नियम नै फेल ख्वाइन्छ, जसलाई बुझ्न नसकेका लगानीकर्ता मात्र फस्ने र घरको न घाटको हुने हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here