कोरोना संक्रमण रोक्न लागु गरिएको लकडाउनको बीचमा खुल्ने शेयर बजारमा आजदेखि नयाँ नियम लागु भएको छ ।

१. हेरक शेयरधनीले आफ्नो हितग्राही खातामा भएको शेयर मात्र बिक्री गर्न पाउने गरी आजदेखि ब्रोकरको ट्रेड मानेजमेन्ट सिष्टम (TMS) मा डीपी अन लागु हुनेछ । लगानीकर्ताले अनलाईन प्रणाली वा ब्रोकरको कार्यालयमा रहेको अफलाईन प्रणालीमार्फत शेयर बिक्री आदेश राख्दा स्वतः हितग्राहीको खातामा बिक्रीयोग्य शेयर रहे, नरहेको जाँच हुने भएको छ । शेयर नभएको अबस्थामा बिक्री आदेश स्वतः रद्द हुने जनाईएको छ । यो कार्यको बन्दोबस्ती मिलाउने जिम्मा ब्रोकरको रहेकाले उनीबाट बदमासी नियन्त्रण गर्ने प्रयास भएको अवस्थामा आपुर्ति कम हुने संभावना छ । बदमासी भएको अवस्थामा नेप्सेको सर्भिलेन्स वा धितोपत्र बोर्डको नियमनले कसरी काम गर्छ भन्ने कुरा पनि महत्वपूर्ण छ ।

२. बिक्री गरिएको शेयर मेरो शेयर सफट्वेयर मार्फत ब्रोकरलाई ईडिआईएस गर्नुपर्ने अनिबार्य भएकाले लगानीकर्ताको खातामा रहेको शेयर ब्रोकरले आफुखुशी बेचिदिन गाह्रो पर्नेछ । कुनै अनलाईन लगानीकर्ताले मेरो शेयर सफट्वेयरको युजर आईडी र पासवर्ड लिएको छैन भने यसअघिको ५० रुपैयाँ शुल्कको सट्टा असार मसान्तसम्म निशुल्क रुपमा प्राप्त गर्नसक्छ । त्यसैगरी अनलाईनको युजर आईडी र पासवर्ड पनि असार मसान्तसम्म निशुल्क रुपमा लिन सकिने प्रबन्ध गरिएकोले हरेक लगानीकर्ताले मेरो शेयर र अनलाईन कारोबार प्रणालीमा आबद्ध भएर मात्र कारोबार गर्नु राम्रो हुन्छ । असार मसान्तपछि अनिबार्य अनलाईन कारोबार हुने भएकाले अहिले नै युजर आईडी र पासवर्ड लिएर अनलाईन कारोबार गर्नु पर्नेहुन्छ ।

३. बिक्री गरिएको शेयरको भुक्तानी शेयर दलालले राफसाफ भएकै दिन लगानीकर्ताको बैंक खातामा विद्युतीय हस्तान्तरण (कनेक्ट आर्यपीएस वा अन्य माध्यम) मार्फत सिधै पठाउनु पर्ने भएको छ । लगानीकर्ताले पनि सकेसम्म विद्युुतीय हस्तान्तरण मार्फत नै पठाउनुपर्ने छ, लगानीकर्ताको सवालमा यो नियम असार मसान्तपछि अनिबार्य हुनेछ ।

४. शेयर खरिद गर्नुअघि ब्रोकरकोमा अनिबार्य रुपमा अग्रिम रकम बुझाएर कारोबार लिमिट लिनुपर्ने भएकाले अनलाईन वा अफलाईन दुबैमा शेयर खरिद गर्दा ब्रोकरको लिमिट अर्थात कारोबार सिमा प्राप्त गर्नु अनिबार्य भएको छ । ब्रोकरकोमा कारोबार पूर्व रकम जम्मा गर्नु अनिबार्य गरिएकाले यसबाट ब्रोकरलाई राफसाफमा सजिलो हुनेछ ।

५. शेयर बजारमा कति धेरै उतार चढाव होला भनी आँत्तिनु बेकार छ । कुनै पनि शेयरको मूल्य शुरुमा १ प्रतिशत बढेर वा घटेर आदेश राख्न पाईने छ । बीचमा अर्को एक पटक र अन्तिममा एक पटक बढेर वा घटेर किनबेच आदेश गर्न पाईने छ । ३ प्रतिशत भन्दा तल वा माथि मूल्य घटबढ् हुन नसक्ने भएकाले शेयरको मूल्यमा ठूलो उतार चढाव आउने छैन । पहिले शुरुमा प्रिओपन सेसनमा पाँच प्रतिशत र त्यसपछि २ प्रतिशतका दरले १० प्रतिशतसम्म मूल्य तल वा माथि गर्न सकिने ब्यवस्था थियो । लकडाउनपछि खुलेको बजारमा धेरै उतार चढाव नहोस भनी यस्तो ब्यवस्था गरिएको हो, जसको लाभ साना लगानीकर्तालाई हुने संभावना छ ।

६. समग्र बजारको नेप्से सूचक घटाई वा बढाईमा पनि ठूलो उतार चढाव हुने छैन । सूचक २ प्रतिशत तल वा माथि जानासाथ बजार दिनभरका लागि बन्द हुने भएकाले लगानीकर्तालाई जोखिमबाट बचाउँने उचित प्रबन्ध भएको छ । नेप्से धेरै अंक अन्तरले घट्यो भन्दै आँत्तिनु पर्ने छैन ।

७. कारोबारको बारेमा कुनै समस्या आएमा वा गुनासो भएमा नेप्सेले स्थापना गरेको सहयोग कक्ष अर्थात हेल्पडेस्कमा सम्पर्क गर्न सकिने भएको छ । यसका लागि १६६००१२५०२५ टोल फ्रि नम्बर ब्यवस्था गरिएको छ ।

८. यस अघिको दैनिक पाँच घण्टाको सट्टा दैनिक दुई घण्टा अर्थात विहान ११ बजेदेखि १ बजेसम्म मात्र कारोबार खुल्ने भएकाले कारोबारको समय पर्याप्त हो, त्यसैले आत्तिएर किनबेच गर्नु उचित छैन ।

९. कारोबारका लागि कुनै समस्या परी आफु बसेको स्थानबाट डीपी वा ब्रोकरको कार्यालयसम्म जानु परेमा एकदिनका लागि धितोपत्र बोर्डबाट पासको ब्यवस्था हुने जनाईएको छ । ब्रोकरहरुले आफ्ना एक तिहाई कर्मचारीलाई कार्यालय आउ जाउ गर्नका लागि यस्तो पास लिईसकेका छन् ।

१० लगानीकर्ताले आफुसँग भएको राम्रा कम्पनीको शेयर सस्तो वा घाटामा बिक्री गरेर बजारबाट भाग्नुपर्ने अवस्था छैन । लगानीका अन्य क्षेत्र नभएकाले अबको केही समय लगानीयोग्य रकम शेयर बजारमै आउनसक्ने संभावना पनि छ । सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेटमा पूँजी बजार मैत्री राम्रा कुराहरु आउने आशा लगानीकर्तामा बढेको पाईएको छ ।

११. कारोबारका क्रममा लगानीकर्ताको मनोबल के हुन्छ भन्ने कुराले बजारको दिशा निधार्रण गर्छ । बजार खुलेर कारोबार नहुँदासम्म पूर्व अनुमानहरु काम लाग्दैनन् । बजारमा क्षेत्रगत रुपमा वा कुनै कम्पनीमा केन्द्रित भएर लगानीकर्ताहरुले कारोबार गर्नसक्ने र हालै प्रकाशित तेस्रो त्रैमासको बित्तीय विवरणहरुले प्रभाव पार्नसक्ने संभावना छ । अहिलेको अवस्थामा कम्पनीहरुको तेस्रो त्रैमासको बित्तीय विवरणमा मात्रै आधारित रहेर किनबेच गर्नु घातक पनि हुनसक्छ किनभने सबै कम्पनीहरु असहज अबस्थाबाट गुज्रिएका छन् ।

१२. लगानीकर्ताहरुमा छोटो सोचाई भन्दा पनि दीर्घकालीन सोच, जोखिमबहन तथा धैर्यधारण क्षमता एकदम महत्वपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here