शेयर बजारमा साताको अन्तिम दिन मंसिर २६ गते बिहीबार बीमा कम्पनीको शेयर खाखोेसाखोस भएको छ ।

धेरै लगानीकर्ताले शेयर किन्न खोज्दै माग बढाएपछि आठ वटा बीमा कम्पनीको शेयर मूल्य थप बढ्न नदिन सर्किट नै लाग्यो भने अरु बीमा कम्पनीहरुको शेयरमा पनि खरिद चाप उच्च रह्यो ।

समूहगत सूचकमा निजीृवन बीमा ३३२ अंकले र जीवन बीमा २७८ अंकले बढ्दा लगानीकर्ताहरुमा नयाँ माहौल देखिएको प्रष्ट भएको छ । कारोबार रकममा धेरै कारोबार हुने १० कम्पनीमा ६ वटा बीमा कम्पनी नै रहे ।

लगानीकर्ताहरुले अघिल्ला दिनहरुमा धेरै मूल्य बढेका लघुवित्त कम्पनीहरुको शेयर समेत बिक्री गरेर बीमाको शेयर उठाउँदा समग्र कारोबार रकम अघिल्लो दिन भन्दा २० करोडले बढेर ७६ करोड नाघेको छ । बाणिज्य बैंक र बिकास बैंक, लघुवित्तहरुमा भने बिक्रीकर्ताकै चाप थियो । शुरुको केही समयबीचमा बिक्री चाप उच्च देखिएको थियो, त्यसपछि खरिद चापमा बजारले अर्को मोड लियो । यसलाई अघिल्ला दिनमा सस्तोमा शेयर किनेकाहरुले एकैचोटी बिक्री बढाउँदाको प्रभावको रुपमा बुझ्न सकिन्छ ।

साढे चार बर्षको लगातारको घटाईको क्रममा बीमाको शेयर मूल्य धेरै तल आएकाले पनि सस्तोमा शेयर उठाउनेहरु सक्रिय बनेका हुनसक्छन् । यद्यपी बीमाको शेयरमा खरिद चाप अघिल्लै दिनहरुमा पनि देखिएकै थियो ।

बीमा कम्पनीहरुको शेयरमा लगानी बढाउँदा अब चाँडै नै घोषणा हुने लाभांश समेत पाईने र पूँजीगत लाभ पनि हुने देखेर लगानीकर्ताहरु झुम्मिएका हुनसक्छन् । नयाँ बीमा कम्पनीहरुको प्राथमिक शेयर अर्थात आईपीओ आउँन समय लाग्ने भएकाले त्यसबीचको फाईदा उठाउन सकिने आँकलनले पनि काम गरेको हुनसक्छ ।

सबै सुचिकृत बीमा कम्पनीको शेयर संख्या जोड्दा पनि चार वटा बाणिज्य बैंकको शेयर बराबर नपुग्ने भएकाले माग र आपुर्तिमा हुने असन्तुलनले मूल्यबृद्धिमा सहयोग गर्ने गरेको छ ।

जुन रकमले बीमा र अन्य कम्पनीको शेयर किन्दा पूँजीगत लाभ हुन्छ, त्यस्तो पूँजीगत लाभ उठाउँन बाणिज्य बैंकमा तत्काल नसकिने आँकलनले पनि लगानीकर्ताको पोर्टफोलियो परिवर्तनको सोचाई बनेको हुनसक्ने कुरालाई नकार्न सकिन्न । बजारमा ठूलो लगानी ओईरिएपछि बाणिज्य बैंकहरुको शेयर मूल्य पनि बढ्न थाल्ने छ किनभने लाभांश र जोखिम ब्यवस्थापनका हिसाबले बैंकमा लगानी पनि उत्तिकै महत्वपूर्ण छन् ।

बिहीबार नेप्से सूचक ११.१७ अंकले बढेर ११७२.६५ विन्दुमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here