तिलक कोइराला ।
शेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले केही दिन अघि “न टेक्ने ठाउँ, न समाउने समाउने हाँगो नै” भन्दै फेसबुकमा स्टाटस लेखे । उनको भाव शेयर बजारको अहिलेको अबस्थाप्रति लक्षित थियो भनेर बुझ्ने खालको थियो । हो, अहिलेको शेयर बजारको अबस्था ठ्याक्कै त्यस्तै छ ।
लगातार चार बर्षदेखि गुमाउँदै आएका शेयर बजारका लगानीकर्ताले अब के आधारमा लगानी गर्ने भन्ने ब्यापक अन्योल सिर्जना भएको छ ।
बजारमा शेयरको मूल्य बेस्सरी घटेको बेलामा नै राम्रा कम्पनीहरुको शेयर उठाउनुपर्छ र दीर्घकालीन लगानी गर्नुपर्छ भन्दै अभियान चलाईएको थियो तर परिस्थितिले त्यस्तो अभियानलाई समेत असफल सावित गरिसकेको छ । अहिलेको अबस्थामा बजारमा लगानी गर भनेर कसैलाई उक्साउनु त झन् घातक देखिदै छ ।
कोरोना संक्रमण र त्यसलाई रोक्न गरिएको लगातारको लकडाउनका कारणले शेयर बजारमा प्रायः सबै कम्पनीहरुको वितरणयोग्य नाफा सुन्यतर्फ गईरहेको छ । यस बर्षको चौथो त्रैमासमा संभवतः धेरै कम्पनीहरुले शेयरधनीलाई नाफा बाँड्ने गरी शेयरधनी कोषमा पर्याप्त रकम जोहो गर्न सक्ने छैनन् । अहिले नाफामा देखिएका कतिपय कम्पनी पनि बर्षको अन्तिममा जगेडा घाटामा पुगे भने अनौठो नमाने हुन्छ ।
एकातिर लाभांश पाउन सक्ने अबस्था नहुने र अर्कोतर्फ लगानीकर्तामा फैलिने चरम निराशाले शेयरको मूल्य घट्ने क्रमले शेयर बजारमा अभुतपूर्व अवस्थाको सिर्जना गर्ने नै छ । माग भन्दा आपुर्ति बढी र पछिल्ला दुई दिनको कारोबारमा त खरिदकर्ता नै नभएर शेयर बिक्री गर्न चाहनेले समेत बिक्री गर्न नपाएको अबस्था हेर्दा बजार असामान्य चरणतिर गईरहेको छ भन्ने स्पष्ट संकेत दिन्छ ।
२०७२ साल साउन १२ यताको बजारको अबस्था हेर्दा अधिकांश लगानीकर्ताले गुमाएकै छन् । कतिपयले बैंकको ब्याज समेत हिसाब गर्दा शतप्रतिशत नै रकम गुमाएका हुनसक्छन् । कसैले कुनै शेयरमा नाफा गरे पनि अर्को शेयरमा गएर फसेकै छ । केही चाँही नाफा गरेर निस्कदा केही अपबादको रुपमा रहेका हुन सक्छन् । १८८८ को विन्दुमा नेप्से हुँदाको बजार पूँजीकरण, त्यस यता थपिएका बोनस, हकप्रद, एफपीओ र आईपीओको हिसाब गर्दा नेपालको पूँजी बजारले ५० प्रतिशत लगानी गुमाईसकेको छ । त्यसरी हेर्दा अधिकांश लगानीकर्ताको पोर्टफोलियो अर्थात शुरुको लगानीमा ५० प्रतिशत माथिको क्षय भईसकेको छ ।
यसरी विश्लेषण गरी विवरण प्रस्तुत गर्दा सरकारी पदमा रहेका र अहिले सत्ताधारी दल बनेको नेकपाका कतिपय नेताहरु शेयर बजारलाई जूवाको संज्ञा दिदै त्यसरी गुमाउनु स्वभाविक भएको तर्क गर्छन । शेयर बजार जूवाको खाल हो भन्ने तर्क गर्नेहरुलाई भन्नुपर्छ जूवा खेलाउने त सरकार नै हो । नेप्से र सीडीएससी मार्फत सर्बसाधारण लगानीकर्ता फसाउँन सरकारले नै खाल थापेको छ । त्यसमा खेल्न जानेहरुलाई फसाएर सरकारले छिर्कनको रुपमा कर र कमिशन खाएको छ । सरकारले जहिले पनि जितिरहेको छ र सर्बसाधारण लगानीकर्ताले जहिले पनि हारिरहेका छन् । अब यसरी जूवा खेलेर कोही हार्न चाहँदैन, बरु सरकारले जुवा खेलाउने काम नै बन्द गरोस भन्नुपर्छ ।
बर्तमान सरकारका अर्थमन्त्री र केही नेताहरु शेयर बजारलाई शोषक, सामन्त, पूँजीपतिहरुले मात्र लगानी गर्ने ठाउँ भनी संझन्छन् । यो क्षेत्रलाई आठ भरोसा मिल्ने र राहत पुग्ने कुनै पनि काम गर्नु अपराध जस्तै ठान्निछ । यदि त्यसो हो भने यो पूँजीबादी अखडा सरकारले किन बन्द गर्दैन ? आफ्नो रगत पसिनाले आर्जेको सम्पति लगाएर कम्पनी खोलेकाहरु, प्राथमिक बजार र दोस्रो बजारमा थोरै थोरै लगानी गरेर शेयर किन्ने, बिद्यार्र्थी, गुहिणी, श्रमिक, बेरोजगार पनि त्यही शोषक, सामन्त र पूँजीपति हुन् भने उनीहरुलाई सरकारले किन लगानी गर्ने छुट दिईरहेको छ ? जूवा खेल्ने दोषी हो भने खेलाउने पनि दोषी हो भनेर हालै अग्रवाल जुवाडेहरुलाई सरकारले समातेकै थियो, शेयर बजारको मामिलामा सरकार चाँही पानी माथिको ओभानो हुनसक्दैन ।
नीति, नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती नगरी सरकारले खेलाईरहने जूवाको खालमा च्याखे थापेर अब कोही पनि लगानीकर्ता फस्नु हुँदैन । सरकारको अस्थिर नीति नियम, अत्यन्त फितलो र झारा टराईपूर्ण कार्यान्वयन र बजारमा हुने खतरनाक खेलका कारण पूँजी बजारमा आएका हजारौ लगानीकर्ता मर्नु कि बाँच्नुको अबस्थामा पुगेका छन् । मुस्किलले १०, २० कित्ता शेयर किन्ने र दोस्रो बजार खोल्नुपर्छ, कारोबार गर्न पाउनुपर्छ भन्ने फेसबुकेहरुलाई के थाहा कि बजारमा संकटको गहिराई कति छ ? अहिलेको बजारमा उचित प्रबन्धन नगर्ने हो भने १०, २० लाख रुपैयाँ लिएर छिर्नेहरु हप्ता दिन नहुँदै थेग्न नसकिने गरी गुमाएर भाग्न पर्ने अबस्था आउँछ । कसैले कुनै ठूलो कम्पनीको एक लाख कित्ता शेयर किन्छु भने पनि त्यस कम्पनीमा आउने आपुर्तिको बाढी रोक्न सक्ने छैन ।
सरकारले जबसम्म राहतका प्याकेज ल्याएर शेयर बजारका लगानीकर्ताको मनोबल उकास्ने काम गर्दैन, तबसम्म शेयर बजारलाई उठाउँन संभव छैन । शेयर बजारमा लागेर डुबेकाहरुलाई उद्धार गर्न किन लाग्ने भन्दै प्रश्न गर्नेहरुलाई मखुभरीको जवाफ दिनुपर्छ, त्यसो भए शेयर बजारबाट सरकारले कमिशन र नानाथरीको कर चाँही किन असुल्ने ? ?
कसै कसैले सोचेका छन् कि ब्यक्तिगत लगानीकर्तालाई लाग्दै आएको पाँच प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम हो भन्ने हो भने लगानीकर्ता ह्वार्ह्वारर्ती शेयर किन्न आउँछन् । कसैले सोचेका छन्, अर्थमन्त्रीका ज्वाइँ संचालक रहेको नागरिक लगानी कोषको स्टक डिलरले भोलि नै बजारको सबै शेयर उठाईदिन्छ र बजारमा खरिद चाप पर्छ । कसैलाई लागेको हुँदो हो, कोरोना संकट र लकडाउनले गर्दा अरुतिर लगानी जाने ठाउँ छैन, पैसा सबै शेयर बजारमै आउँछ । यी सबै मनको लड्डु घिऊसँग खाने उपाय भन्दा केही हैन ।
कसैलाई लाग्ला, नकारात्मक कुरा किन लेखेको, सकारात्मक कुरा पो लेख्नुपर्छ । अबस्था र परिबन्द नै नकारात्मक र निराशापूर्ण छ भने हामीले यसलाई नबदली सकारात्मक वातावरण निर्माण गर्नैसक्दैनौ ।
वास्तविकता के हो भने अहिले शेयर बजार अभुतपूर्व संकटमा छ र सरकार नै नलागीकन बजारको उद्धार संभव छदैछैन । तर यो पनि यथार्थ हो कि सरकार लाग्ने त परै जाओस, सहानुभुति समेत राख्दैन ।नेप्से र सीडीएस जस्ता संस्थाहरुलाई च्यापेर बसेको सरकार शेयर बजारसम्बन्धी मनोगत चाहनाले ग्रसित रहेको बेला बजारलाई उद्धार गर्ने शक्ति अरुसँग हुने कुरै भएन । यही अफ्ठेरोबाट हामी गुज्रिईरहेका छौ, अबस्था अत्यन्त पीडादायी छ ।
नीति, नियम, पुर्वाधार र प्रविधि ठीक भए बजारमा गुमाई र कमाईको हिसाब किताब स्वभाविक रुपमा चल्नथाल्छ तर यहाँ त ती सबै कुरा बेठिक भएकाले रुवाबासी चलेको हो । पूँजी बजारमा विस्वासको वातावण सिर्जना गर्न सरकार र निमायकको अहंम भुमिका हुन्छ, त्यो नभएकैले अहिलेको अबस्था आएको हो ।
लकडाउनको बीचमा खुलेर फेरि बन्द भएको नेप्से खुल्नु अगाडि नै धेरै कुरा सोच्ने र गर्ने समय छ । यो बहुमुल्य समयको सदपयोग गरी बजारलाई ब्यवस्थित पार्न चुकेको अबस्थामा फेरि रोई कराई गर्नुपर्छ । एकले अर्कोलाई धारे हात लगाउँदै रुवाबासी गर्नुको विकल्प हुने छैन । शेयर बजारलाई लगानीको एउटा विस्वासिलो क्षेत्र बनाउने कि जूवाको खाल नै राखेर सधैं रुवाबासी गराईरहने ? सोचौं है साचौं ।