तिलक कोइराला ।

शेयर बजारमा लगानी गर्नेहरुका लागि अल्पकालीन लगानी गरेर छोटो बाटो जाने कि विविधिकरणसहितको दीर्घकालीन लगानी गरे लामो बाटो हिड्ने भन्ने बिषय एकदम महत्वपूर्ण हुन आउँछ । पर्याप्त अध्ययन र योजनासहितको लगानीले मात्र शेयर बजारबाट लाभ लिन सकिन्छ ।

छोटो बाटो गए छिटो पुग्न त सकिन्छ तर बाटो यति अफ्ठेरो छ कि डरलाग्दो भीर, तल तीब्र गतिमा बगेको नदी, हिलाम्य, चिप्लोे छ र माथिबाट ढुंगा र पहिरो खसिरहन्छ । त्यसलाई छिचोलेर गन्तब्यमा पुगियो भने जितिन्छ तर बीचैमा जीवन सखाप हुने खतरा धेरै हुन्छ । आफु चढेको सवारी साधनको अबस्था ठीक छ र बाटामा भीड छैन, दुर्घटनामा परेर मरिएन भने पनि अंगभंग हुने संभावना धेरै हुन्छ । यस्तो यात्रामा कमै लगानीकर्ता मात्रै जितेर सुरक्षित रुपमा गन्तब्यमा पुग्छन् ।

छोटो बाटोमा घना जंगल पनि हुनसक्छ र बाघ भालु लाग्ने डर पनि उत्तिकै हुन्छ । त्यसबाट जोगिएर अगाडि बढ्दा पनि अनेक चुनौतिहरु हुनसक्छन् ।

लामो बाटो जाने हो भने भीड कम छ, दुर्घटनामा पर्ने संभावना कम छ, गन्तब्यमा पुग्न सकिन्छ । लामो बाटो हिड्दा थकाई र पट्यार अबश्य लाग्छ । लामो हिडाईले थकित भए पनि गन्तब्यमा पुगेपछि बिछट्टै मज्जा आउँछ । ठूलो बाढी र पहिरो आयो भने लामो बाटो हिड्नेहरुलाई पनि असर नगर्ने त हैन तर छोटो बाटो हिड्नेहरु जसरी ज्यानै जाने खतरा कम हुन्छ । केही समयपछि फेरि यात्रालाई जारी राखेर गन्तब्यमा पुग्न सकिन्छ ।

बाटो राम्रो छ भनेर अरुले उक्साएको भरमा गन्तब्यतिर लम्कदा गलत परिणाम पनि भोग्नुपर्ने हुनसक्छ । बीच बाटोमा पहिरो र बाढी आएर बगाउँन पनि सक्छ । त्यसैले एकदम सोची विचारी बाटो तय गरेर गन्तब्यतर्फ लाग्नुपर्छ ।

छोटो बाटो जानेहरु एउटै गाडीको भरेर जोखिमपूर्ण यात्रा गर्छन र दुर्घटनामा पर्न सक्छन् तर लामो यात्रा गर्नेहरु राम्रा कम्पनीहरुमा लगानी विविधिकरण गरेर जान्छन् । यसमा छोटो बाटो वालाहरु कम्पनीको अबस्था र लाभांश नहेर्न सक्छन् र पूँजीगत लाभमा मात्रै जोड गर्छन भने लामो बाटो हिड्नेहरुले कम्पनीको अबस्था, लाभांश र पूँजीगत लाभ पनि हेरेका हुन्छन् ।

कुन बाटो हिड्ने भन्ने कुरा लगानीकर्ताको नितान्त ब्यक्तिगत सोचाई र निर्णय हो । यसमा यही बाटो हिड्नुपर्छ भनेर कसैले पनि जोड गर्न मिल्दैन । जोखिम कति लिने भन्ने कुरा मात्रै हो । सोची बिचारी आफैले गरिएको निर्णयद्धारा चयन गरिएको बाटोमा हिड्दा दुर्घटना वा अलपत्र परियो भने उद्धार गर्न भने कोही आउँदैन ।

चाहे छोटो बाटो हिड्नुहोस् वा लामो बाटो, जोखिम दुबै ठाउँमा छ । जोखिम मोलेर हिड्नेहरुले दुबै बाटोमा जितेका हुन्छन् । जसले जोखिम ब्यवस्थापन गर्न सक्दैन र धेरै लोभ गर्छ, दुबै बाटोमा जाँदा हार्छ । त्यसैले लगानी कौशल र जोखिमबहन क्षमता लगानीकर्तामा अति आबश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here