तिलक कोइराला ।
शेयर बजारमा सर्बसाधारण लगानीकर्ताको मनोबलमा असर पार्ने गरी कयौं हल्लाहरु चलाईन्छन् । यहाँ चलाईने धेरै हल्लाहरु नियोजित नै हुन्छन् । नेपालको सन्दर्भमा शेयर दलालको कार्यालयबाटै हल्लाको शुरुवात हुन्छ र त्यसले आम रुप धारण गर्ने गरेको छ । सर्बसाधारण लगानीकर्तालाई वनको बाघले नखाए पनि मनको बाधले बेस्सरी खान्छ र लगानी गुमाएर भाग्छन् ।
जो हल्ला र अफवाहको पछि लागेर आफ्नोे लगानीसम्बन्धी निर्णय गर्छन् शेयर बजारमा उनीहरुले जीवनमा उठ्नै नसकिने गरी गुमाउने गरेका छन् । एउटा हल्ला आउँदा आँखा नहेरी उचालिएर शेयर किन्ने र अर्को हल्ला आउँदा जतिमा बिक्री हुन्छ, बेचेर बजारबाट कुलेलम ठोक्ने लगानीकर्ताहरुको बजारमा कमी हुँदैन र त्यस्ताहरु नडुबेसम्म बजारले सही गति पनि पक्डिदैन ।
शेयर बजार माग र आपुर्तिमा आधारित भएर चल्छ र त्यसलाई निर्देशित गर्ने काममा लगानीकर्ताको मनोबलको पनि ठूलो भुमिका हुन्छ । यही कुरा बुझेकाहरुले कहिले लगानीकर्ताको मनोवल बलियो बनाईदिने हल्ला गर्छन भने कहिले खस्काएर हदैसम्म कमजोर बनाउँन विभिन्न हल्ला चलाउँछन् । निहित स्वार्थ अनुकुल चलाईने यस्ता हल्लाबाट बचेर सही तरिकाले लगानी गर्ने मात्र टिकिरहनसक्छ ।
शेयर बजार जोखिमको क्षेत्र हो । यहाँ जोखिमबहन क्षमता उच्च बनाई राम्रा शेयरहरुमा लगानी विविधिकरण गर्नसक्ने, सही समयमा सही निर्णय गर्नसक्ने र धैर्यवान लगानीकर्ताहरु मात्र टिकिरहनसक्छन् । भेडाको हुल जसरी आउँने लगानीकर्ताहरु त्यसैगरी हराउँछन्, एउटा भेडा खाल्टामा हाम्फाल्यो भने पछि लागेका सयौं भेडा खाल्टामै हाम्फाल्छन् । भेडाको बधान मात्रै भएको शेयर बजार कहिल्यै उभो लाग्दैन किनभने त्यहाँ संस्थागत लगानीकर्ताको बाहुल्यता नभई स्थिरता हुँदैन ।
यसरी भाग्दा कति त भीडमा किचिएर शारिरीक रुपमा कति मानसिक र आर्थिक रुपमा अशक्त भईदिन्छन् र कहिल्यै शेयर बजारमा फर्किदैनन् । कपितय फर्किए पनि सधै त्रसित नै भईरहन्छन्, अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ जस्तै बनिरहने पनि हुन्छन् । यस्तो भागदौड स्वस्थ शेयर बजारका लागि भने आम रुपमा हानिकारक नै हुने गर्छ ।
आफ्नो अध्ययन विश्लेषण, निर्णय र आत्मवलको सट्टा अरुको लहै लहै, हल्ला र अफवाहमा हिड्नेहरुले अधिकांश रुपमा गुमाएकै छन् । यहाँको बजारको सवालमा प्यान, भ्याट, सम्पति शुद्धिकरण लगायतका विभिन्न हतियार प्रयोग गरेर लगानीकर्तालाई अनाहकमा तसाईने काम गरिदै आएको छ । केही दलालले मिडियाको सहारामा लौ अब शेयरमा भ्याट लाग्ने भयो भन्ने हल्ला चलाए, कयौं लगानीकर्ताहरु आँत्तिएर भागे । फेरि अनिबार्य प्यानको नाटक मन्चन गरियो, त्यसैगरी लगानीकर्ताहरु भागे । सम्पति शुद्धिकरण र कालो धनको कुरा आयो, लगानीकर्ताहरु कुलेलम ठोके । अहिले फेरि धितोपत्र बोर्डले सम्पति विवरण बुझाउँन निर्देशन जारी गर्यो भन्दै हल्ला पिटाईएको छ । लगानीकर्ता झन् आफ्नो लगानी सुरक्षित हुने भयो भन्दै यस्ता कदमहरुको स्वागत गर्नुपर्नेमा उल्टै आतंकित भईदिन्छन् र गुमाएर भाग्छन् । यसमा दलालको कार्यालय, सामाजिक संजाल र मिडियाहरु नराम्ररी उपयोग भईदिन्छन् ।
कालो धन, आतंककारी तथा विध्वंशात्मक कृयाकलापमा भएको लगानी, दुई नम्बरी पैसा, चोरेको पैसा, लुटेको पैसा कसैले शेयर बजारमा लगाएको छ भने तिनीहरु मात्र हुन्, शेयर बजारमा शुद्धताको कुरा आउँदा आँत्तिने । यदि कसैले आफ्नै मेहनतको धन शेयर बजारमा लगानी गरेको छ भने उ त यस्ता कुराहरु आउँदा अझ उत्साहित हुनुपर्छ किनभने शेयर बजारमा कालो धन नभएको प्रमाणित हुँदा सही लगानी गर्नेहरुको झ्न सुरक्षा हुन्छ । अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेर देश नै कालो सूचीमा पर्दैन र सम्पुर्ण नागरिकलाई सुरक्षाको अनुभुति हुन्छ ।
पाँच बर्षदेखि लगातार गिरावटको सामना गरेर आफ्नो पुरै सम्पति ५० प्रतिशतदेखि २५ प्रतिशतसम्म खुम्याएर बस्नु परेका लगानीकर्ताहरुको धन कालो हो कि सेतो हो भनेर अहिले खोजी गर्ने काम धितोपत्र बोर्डले गर्नु भनेको पनि काशी जाने कुतिकै बाटो हो । बजार सुधार र बिकासका रणनीतिक कामहरु गर्न छाडी यस्ता अर्थ न बर्थका कुरा बेला न कुबेला बाहिर ल्याउन बोर्डका पदाधिकारीहरुलाई पनि बेला बेलामा दिमाग कसरी सडकिदो हो ?
धितोपत्र बोर्डले पाँच लाख भन्दा माथिको कारोबारमा प्यान अनिबार्य लागू गरेको कयौं महिना बितिसकेको छ तर अहिले पनि शेयर बजारमा पाँच लाख भन्दा बढीको एउटै किनबेच गर्दा प्रणालीले कुनै ठाउँमा पनि प्यान माग्दैन । प्यान विना नै पनि मज्जाले किनबेच गर्न सकिन्छ । त्यसैले बजारमा चलाईने अनेक हल्लाले कसलाई मार पार्छ भन्ने कुरा यकिन गर्न सकिदैन । कतिपय भन्नका लागि मात्रै पनि भनिएको छ ।
नयाँ आउने लगानीलाई बैकिड. प्रणालीमा नै जाँच गरे यस्ता हल्लाखोरहरुको बाटै बन्द हुुन्छ । लगानीकर्तामा अनाबश्यक हल्ला फैलाउनेहरुलाई प्रोत्साहित नगर्ने हो भने भने यस्ता हल्लाका खेती गर्ने शेयर दलाल र नियोजित स्वार्थ भएका केही लगानीकर्ताहरुलाई पहिले धितोपत्र बोर्डले कारबाही गरेर देखाओस । हैन भने सबैभन्दा धेरै कालो धनवाला, चोर डाकाहरु त्यहीँ धितोपध बोर्डमा रहेको प्रमाणित हुन्छ किनभने बेला बेलामा यस्ता वाहियात हल्ला फैलाउने मसला दिएर बोर्डले किन बजारलाई झ्न संकटग्रस्त पारिरहन्छ ?
यति हुँदा हुदै पनि बजारमा चलाईने अनेक खाले हल्लाबाट लगानीकर्ताहरु विचलित नभई नियमित कारोबारमा लागिरहनु् नै उत्तम विकल्प हो । हल्ला र अफवाहकै पछि लाग्नेहरुलाई लाग्न दिउँ किनभने यस्ता हुल्लड लगानीकर्ता जहाँको बजारमा पनि हुन्छन्, थोरै र धेरै भन्ने मात्र हो । यसरी हल्ला, अफवाह र लहै लहैमा लगानी खरानी पार्नेहरुको ठेक्का पनि कसैले लिनसक्दैन । बजारमा जोखिम छ र त कमाउँने अवसर पनि छ ।