तिलक कोइराला ।

शेयर लगानीकर्ता दबाब समूहको नाममा पछिल्लोपल्ट हामीले शेयर बजार सुधार, बिस्तार र कोरोना संक्रमण तथा लकडाउनबाट राहतका लागि अभियान शुरु गरेका थियौं, त्यसबेला शेयर बजार बन्द थियो । बीचको समयमा दुई दिन कारोबार खुलेर बन्द भएको अबस्थामा फेरि बजार खोल्नु अघि पर्याप्त तयारीहरु होस भन्दै हामीले २५ बुँदे माग अघि सारेका थियौं ।

हामीले अगाडि सारेका २५ बुँदे मागमा बजार खोल्नु अघि सरकार र नियमनकारी निकायहरुबाट गरिनुपर्ने तयारीबारे धेरै कुराहरु उल्लेख गरिएका छन् । त्यसलाई धितोपत्र बोर्डले चासोका साथ सम्बोधन गर्ने प्रयास गरेको छ र सरकार तथा अरु सरोकारवाला निकायहरुसँग पहल पनि गरिरहेको छ । वास्तवमा धितोपत्र बोर्ड बजार बिकास र लगानीकर्ताहरुको हित सुरक्षाको काम गर्ने सर्वोच्च नियमनकारी निकाय हो र उसले त्यही अनुसार पछिल्लो समयमा आफ्नो भुमिका प्रभावकारी बनाउँदै लगेको छ ।

नेप्सेको पूर्ण अनलाईन कारोबार प्रणालीले पूर्ण रुपमा काम गर्न नसकेको, धेरै लगानीकर्ताहरु अनलाईन कारोबार प्रणालीबाट बाहिर रहेको, कनेक्ट आईपीएस र अन्य विद्युतीय प्रणालीबाट ब्रोकरलाई रकम हस्तान्तरण गर्दा १० लाखको सिमा कायम रहेको अबस्थामा सहज खरिद र बिक्रीका लागि माग र आपुर्ति निर्माण प्रक्रियामा अनेकौ ब्यवधानहरु छन् । त्यसलाई समाधान नगरी अहिले कोरोना संकट र लकडाउनका बीचमा सहज कारोबार हुनैसक्दैन ।

अर्को तर्फ कोरोना संकट र लकडाउनका कारणले धेरै बैंक तथा बित्तीय संस्थाको वितरणयोग्य नाफा सुन्यतातिर जाँदै गरेको तर तिनै बैंक तथा बित्तीय संस्थाको हिस्सा शेयर बजारमा ७० प्रतिशत भन्दा बढी रहेको अबस्थामा राष्ट्र बैंकबाट हुनुपर्ने राहत तथा सुधारको काम धेरै महत्वपूर्ण हुन गएको छ । यसमा ब्याजलाई पूँजीकरण गर्ने कि नगर्ने भन्ने जस्ता अन्य ब्यवसायीहरुले उठाउँदै आएको मागका साथै धितोपत्र बोर्डले सिफारिस गरेका चार वटा कुराहरु एकदम महत्वपूर्ण छन् ।

हाम्रो शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति अति दयनीय रहेकाले बजारको जोखिमको गहिराई धेरै छ । कम्पनीहरुको वितरणयोग्य नाफामा हुने गंभीर गिरावट र अन्य हल्ला, प्रचारबाजी र खेलाडीहरुको रणनीतिले बजारलाई निकै खस्काईदियो भने फेरि लगानीकर्ताहरुको रुवाबासी हुनसक्छ । त्यस्तो नहोस भन्नका लागि नागरिक स्टक डिलर लगायतका संस्थागत लगानीकर्तालाई बजारमा हुल्न जोड दिईएको हो ।

एउटा उदाहरण हेरौं, नेपाल बैंकले २३ बर्षपछि पहिलोपल्ट गत बर्ष १५ प्रतिशत बोनस र १० प्रतिशत नगद दिएर लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको प्रमाणित गर्यो । उसको प्रतिशेयर नेटवर्थ ३०० रुपैयाँ र अहिलेको शेयर मूल्य २३७ रुपैयाँ छ जबकि दोस्रो बजारमा ३०० रुपैयाँ भन्दा माथिको मूल्य हाल्ने धेरै छन् भने एक करोड ७६ लाख कित्ता एफपीओ नै २८० रुपैयाँमा बिक्री भएको हो । अब बजारमा माग सिर्जना नगर्ने हो भने नेपाल बैंककै आपुर्तिलाई कसले थेग्नसक्छ ?

बजारमा माग पक्षलाई बलियो बनाउँन मार्जिन कर्जाको सिमा ६५ बाट बढाई ७५ प्रतिशत माथि कायम गर्ने, सस्तो ब्याज दरमा तत्काल ब्रोकर मार्फत मार्जिन कारोबार शुरु गर्ने जस्ता ब्यवस्थाहरु गर्नु एकदम जरुरी भएको हो । हामीले भनेका छौ कि मार्जिन कारोबार गर्दा अहिले नेप्सेले तोकेका ३१ वटा कम्पनी हैन, सबै बाणिज्य बैंक, सबै बीमा कम्पनी, होटल, गत बर्ष लाभांश दिएका हाईड्रो र अरु कम्पनीहरुको सूची सार्वजनिक होस र लगानीकर्ताले जम्मा गर्नुपर्ने ५० प्रतिशत रकमको सट्टा ३० प्रतिशत मात्र रकम जम्मा गरे हुने ब्यवस्थाका लागि जोड गरिरहेका छौं ।

यहाँ प्रश्न उठेको छ, धितोपत्र बोर्डले सिफारिस गरेका ४ बुँदा समेटेर बैंक तथा बित्तीय संस्थालाई एउटा निर्देशन जारी गर्न राष्ट्र बैंकलाई किन यति आपत् परेको हो ? सबै कुुरा गएर राष्ट्र बैंकमै अड्किदा पनि त्यो निकाय किन गंभीर छैन ? ५८ बुँदे कार्यान्वयन गर्नमा सबैभन्दा अगाडि देखिएको राष्ट्र बैंक त्यतिखेर हाईहाई हुने तर अहिले शंकाको घेरामा पर्ने किन ?

केही लगानीकर्ता र खेलाडीहरुलाई तत्कालै बजार खुलिहालोस र सकेसम्म घटाएर किन्न पाईयोस भन्ने लागेको छ र केहीलाई आफुसँग भएको शेयर बेचेर बजारबाट बाहिर निस्कन्छु भन्ने पनि हुनसक्छ । अरु देशको शेयर बजार खुल्यो हाम्रो देशको चाँही किन बन्द भन्ने प्रश्न पनि केहीको हुनसक्छ तर अरु देशको जस्तै नीति, नियम, पुर्वाधार र प्रविधि हाम्रोमा छ त ? शेयर लगानीकर्ता दबाब समूह त्यही चाहन्छ कि अरु देशमा भएको जस्तै यहाँ पनि होस् र कुनै पनि संकटको बेला शेयर बजार बन्द गर्नु नपर्ने गरी चाँडै कारोबार संचालन गरियोस । सबै कुरा ठीक गरिएको अबस्थामा बजारले आफ्नो बाटो आफै बनाउँछ, मूल्य घट्छ वा बढ्छ भनेर चिन्ता लिनै पर्दैन ।

असारको महिना छ, बैंकले ब्याजको दबाब दिन्छ, ब्रोकरले बक्यौता असुल्न बिक्रीको दबाब दिन्छ तर माग सिर्जना भएन भने के अबस्था हुन्छ ? भोलि कोरोना संक्रमण अरु ब्यापक भएर कडा खालको लकडाउन गर्न पर्दा पनि शेयर बजार बन्द गर्नु नपर्ने के उपाय हुनसक्छ ? नियनकारी निकायले कुनै एक पक्षको कुरा सुनेर र कसैको स्वार्थमा चल्ने हैन, समग्र बजारको जोखिम र आम लगानीकर्ताको हित हेर्ने हो । धितोपत्र बोर्डबाट अहिले त्यही भएको छ, जुन हुनुपर्ने थियो ।

हाम्रो पहलले पाँच प्रतिशत लाभकरलाई अन्तिम करको रुपमा आन्तरिक राजश्व कार्यालयले स्पष्ट गरेको छ । यसको लाभ सबै शेयरलगानीकर्ताहरुलाई हुने नै भयो । गैर आवासीय नेपालीहरुलाई शेयर बजारमा भित्र्याउने काम तत्काल गरोस भनी जोड गरिरहेका छौ, त्यसले बजारको अहिले खस्किएको माग पक्षलाई बलियो बनाउँछ् । संस्थागत विदेशी लगानीकर्ता (एफआईआई) र विदेशी पोर्टफोलियो लगानी (एफपीआई) जस्ता उपकरणहरु पनि खुला गरौं भनिरहेका छौ तर त्यो भन्दा अगाडि हामी स्वदेशी लगानकिर्ताहरु नै बलियो बन्नु परेन ?

लकडाउनको तीन महिनासम्म सरकार र नियमनकारी निकायहरुले बजार खोल्नु अघि शेयर बजारको नीति नियम, पुर्वाधार र प्रविधिगत सुधारमा केही नगरेको साँचो कुरा हो । उनीहरु निक्कम नै सावित भए तर केही पनि नगरिकन फेरि बजार खोल्दा गत बैसाखको अन्तिम दिनहरुको जस्तै रुवाबासी गर्ने कि नगर्ने ? हाम्रो जस्तो पछौटे शेयर बजारमा सबै कुरालाई निरपेक्ष रुपमा हेर्दा धोका हुनसक्ने संभावना धेरै छ । त्यसैले टेक्ने र समाउने ठाउँ नै नबनाई बजार खोल्न हुन्न र फेरि त्यही बहानामा अनन्त कालसम्म बजार बन्द गर्न पनि पाईन्न ।

हामी सबै लगानीकर्ताहरुको माग यही हो कि तीन दिन भित्रमा गर्नुपर्ने आबश्यक कामहरु गरेर यही साता शेयर बजार खोलौं, यसका लागि नेपाल राष्ट्र बैंक सामु आजै हामी पहल गर्दैछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here