शेयर बजारलाई माग र आपुर्तिको नियमले धेरै प्रभाव पार्छ भन्ने कुरालाई फेरि पनि प्रमाणित गर्दै पुस ७ गतेको कारोबारमा यस्ता कम्पनीको शेयर मूल्य बढे, जसको शेयर आपुर्ति बजारमा कम छ र तलुनात्मक पूँजीगत  लाभको संभावना समेत छ ।

साना बाणिज्य बैंकहरु मध्येमा १५ प्रतिशत जस्तो राम्रो लाभांश घोषणा गरेको र शेयर मूल्य सस्तो रहेको एनसीसी बैंकको शेयर मूल्य धेरै बढ्न सकेन तर सबैभन्दा बढी कित्ता शेयर उसैको किनबेच भयो । एउटै कम्पनीको एक लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा पनि मूल्य अघिल्लो दिनको भन्दा एक रुपैयाँ बढीले बढ्न मुस्किल पर्नु माग र आपुर्तिकै असर भएको देखिएको छ ।

एनसीसीले सोमबार १५ प्रतिशत बोनससहित १५।८९ प्रतिशत लाभांश प्रस्ताब सार्वजनिक गरेको थियो । शिवम सिमेन्टको सर्किट लाग्ने गरी शेयर मूल्य बढेर सबैभन्दा धेरै रकमको कारोबार हुँदा नागरिक लगानी कोषको सबैभन्दा धेरै शेयर मूल्य बढ्यो । जलविद्युत बिकास कम्पनीले १२ प्रतिशत नगद लाभांश प्रस्ताब गर्दा त्यसको शेयर किन्ने लगानकिर्ताहरुको संख्या पनि अधिक देखियो भने सपोर्ट लघुवित्त, गुराँस लघुवित्तको पनि मूल्य राम्रो बढ्यो । त्यस्तै सिर्जना फाईनान्सले १५ प्रतिशत बोनससहित लाभांश घोषणा गर्दाको प्रभाव पनि बजारमा देखियो ।

कृषि बिकास बैंक, नेपाल बैंक लगायतका कम्पनीहरुले राम्रो लाभांश घोषणा गरे पनि मूल्यमा ठूलो अन्तर नहुनु तर साना कम्पनीहरुको मूल्य बढ्नुले बजारले ठूलो लगानी भित्रने घडीको प्रतीक्षा गरेको रुपमा बुझ्न सकिन्छ । दीर्घकालीन लगानीका हिसाबले बाणिज्य बैंकको शेयर धेरै सुरक्षित भए पनि पूँजीगत लाभको हिसाबले अन्य कम्पनीमा लगानकिर्ताको आकर्षण बढेको पाईएको छ ।

शेयर बजारमा अघिल्लो दिनको भन्दा बढेर झण्डै ६० करोड रुपैयाँको कारोबार भएको छ भने सूचकमा १७.७७ अंकले बढोत्तरी भई ११६८.५८ मा पुगेको छ । बजार पूँजीकरण भने अघिल्लो दिनको भन्दा २४ अर्बले माथि गई १४ खर्ब ८४ अर्ब नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here