तिलक कोइराला ।

शेयर बजारमा शेयरको मूल्य बढ्दा एक खालको उत्साहको वातावरण छ । जति शेयरको मूल्य बढ्दै जान्छ, लगानीकर्ताहरु त्यति नै धेरै उत्साहित हुँदै बजार प्रबेश गर्ने र लगानी बढाउने प्रबृृत्ति हुन्छ तर बढ्दो बजारमा जोखिम पनि बढिरहेकै हुन्छ । यसलाई कसरी ब्यवस्थापन गर्ने र आफु बच्ने भन्ने बारेमा लगानीकर्ताले सावधानी अपनाउनैपर्छ ।

दुई महिनाको अवधिमा कतिपय शेयरको मूल्य तेब्बर त कतिपयको मूल्य दोब्बरले बढिसकेको छ । कतिपय कम्पनीको शेयरको मूल्य १५ रुपैैयाँ पनि बढेको छैन । शेयर बजारललाई माग र आपुर्तिका साथै हल्ला र लगानीकर्ताको मनोबलले बढी प्रभावित पार्ने कुरालाई मनन् गर्ने हो भने पनि लगानीकर्ता यति मुर्ख चाँही हुनुहुन्न कि मूल्य आम्दानी अनुपात ४०० गुणा भए पनि अझै त्यो शेयरको भाऊ बढाएरै किन्ने ।

बीमा, लघुवित्त र अन्य केही कम्पनीहरुमा सय गुणा भन्दा बढी मूल्य आम्दानी अनुपात भएका थुप्रै कम्पनी पुगिसकेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल, हाईड्रो लगायतका समूहमा मूल्य आम्दानी अनुपात कम रहेका तर लाभांश दिने कम्पनी कयौं छन् । जोखिमको स्तर मापन गर्ने हो भने बढी मूल्य आम्दानी अनुपात भएका कम्पनीबाट कम भएका कम्पनीतर्फ लगानी सार्ने नै उत्तम उपाय हो तर सबैले एकै प्रकारले लगानी सम्बन्धी धारणा बनाउँन भन्ने कुरा शेयर बजारमा संभव छैन । कसैले धेरै जोखिम देखेको ठाउँमा अरुले पूँजीगत लाभको संभावना बढी देखेको हुनुसक्छ र लगानी गरिरहेको पनि हुनसक्छ ।
जसले शेयर किनेको हुन्छ, उसले शेयरको मूल्य अरु बढोस भन्छ र जसले किन्न बाँकी हुन्छ वा बेचेर बसेको हुन्छ, उसले मूल्य घटोस भन्छ । यो दोहोरो युद्ध जहिले पनि शेयर बजारमा रहरिहन्छ र यसैका कारण बजार जीवन्त रहन्छ ।

जसले जसरी लगानी गरे पनि शेयर बजार जोखिमको क्षेत्र भएकाले उसले जोखिमको भार बोक्नैपर्छ । राम्रो तर सस्तो शेयर मूल्य भएको कम्पनीमा पनि जोखिम त हुन्छ नै । यतिसम्मको कम्पनीहरुले बिक्रीमा ल्याउने आईपीओमा लगानी गर्दा पनि जोखिम छ । तर जोखिमलाई कतिसम्म कम गर्ने भन्ने मात्र सवाल हो ।

शेयर बजारमा भरखरै शेयरको मूल्य बढ्न शुरु भएकाले अहिले नै शेयर बेचेर कोही पनि पाखा लाग्नु हुन्न । शेयरको मूल्य बढ्ने अरु धेरै संभावना छ । बजारमा शेयर आपुर्ति कम रहेका बीमा, लघुवित्त, रियल सेक्टरका कम्पनी, होटल लगायतको मूल्य अरु बढ्न सक्ला, आपुर्ति थोरै रहेका बाणिज्य बैंक र अरु कम्पनीका शेयर मूल्य बिस्तारै र कम बढ्ला । बजारबाट लाभ लिन सकिने संभावना अत्यधिक छ । शेयर किन्न खोसाखोस हुने अबस्था अझै चर्को रुपमा देखा पर्न पनि सक्छ । त्यसो हुँदा आज महंगो भयो भनिएका शेयरको मूल्य अरु बढ्न सक्छ र अहिले नै बेचेर पाखा लाग्दा बजारबाट हुने फाईदाबाट बंचित हुन सकिन्छ ।

शेयर बजारमा हुने जोखिम कम गर्ने सही उपाय नै लगानी विविधिकरण अर्थात डाईभर्सिफाई हो । एउटै बर्ग वा समूहका वा एउटै कम्पनीमा भएभरको लगानी केन्द्रित नगरेर फरक फरक बर्गका कम्तिमा पाँच वटा राम्रा कम्पनीमा लगानी विविधिकरण गर्नु उपुयुक्त हुन्छ । शेयर बजारमा बुल आओस कि बियरिस प्रबृत्ति नै किन नआओस, यसरी लगानी विविधिकरण गर्नेले सधै जितिरहेको हुन्छ । एउटा बर्गको कम्पनीमा घटाईको चक्र चले पनि अरु बर्गका कम्पनीले नाफा दिईरहेको हुनसक्छ र समग्र पोर्टफोलियो नाफामै रहन्छ ।

एउटा बर्गको शेयर सबै बेचेर अर्को बर्गको कम्पनीको शेयरमा लगानी थुपार्नु जस्तो मुर्खता केही हुन्न किनभने शेयरको मूल्य बढ्न थाल्दा धेरैथोरै सबैको बढ्छ र पालो सबैको आउँछ तर एउटै बर्गको कम्पनीको मूल्य मात्रै सधै बढिरहँदैन ।

निष्कर्षमा भन्दा अहिले कुनै पनि राम्रो कम्पनीको शेयर नबेचौ, बरु लगानी विविधिकरण गरौंं । सुरक्षित लगानी गरौं । लगानीयोग्य रकम साथमा सधै राखौं किनभने शेयर बजार अवसरको खानी हो, यहाँ सुरक्षित लगानी गर्नेले जहिले पनि कमाउँनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here