कोरोना संक्रमण हुनु अघि शेयर बिक्री गरेर हस्तान्तरण गर्नु भएको छैन वा किनेर पैसा बुझाउनु भएको छैन भने अब चिन्ता नगर्नुहोस्, असार मसान्तसम्मको समय पाउनु भएको छ ।
यसअघि महंगो मूल्यमा शेयर बिक्री गर्नुभएको थियो तर हस्ततान्तरण गर्ने शेयर आफ्नो खातामा थिएन भने पनि अब बजारबाट सस्तोमा असार मसान्तसम्म किनेर हस्तान्तरण गरे हुने भएको छ ।

मन्त्रिपरिषदले हालै गरेको निर्णय अनुसार हालसम्म शेयर किनबेच गरी राफसाफ गर्न बाँकी भएकाहरुलाई असार मसान्तसम्मको छुट प्राप्त भएको छ । केही समय अघि कयौंले आफुसँग नभएको शेयर बिक्री गर्दा राफसाफ गर्न नसकी नेप्से र सीडीएससी माफृत म्याद थपिदै आएको थियो, त्यसरी बदमासी गर्नेहरुलाई पनि मन्त्रिपरिषदले राहत दिएको छ ।
अर्थमन्त्री तथा सरकारका प्रबक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरेको निर्णयमा यस्तो कुरा उल्लेख छ ।
बजारमा केह िसमय अगाडि झण्डै पाँच अर्बको शेयर कारोबार भएको समय ताका केही लगानीकर्ताले आफ्नो खातामा नभएको शेयर पनि महंगो भाउमा किनेर बजारले थाम्न नसक्ने आपुर्ति बढाएका थिए । त्यसैदिनदेसखि बजार संकटको दिशामा गएको थियो । बेचेको शेयर हस्तान्तरण गर्न नसकेपछि पटक पटक राफसाफको म्याद थपेर टार्ने प्रयास गरिएको थियो । कोरोना संक्रमण शुरु भएपछि सरकारले दिएको राहतको नाममा उनीहरुले चैत्र मसान्तसम्मको समय पाएका थिए ।
त्यसैगरी सूचीकृत कम्पनीहरुले नियमनकारी निकायहरुमा बुझाउनु विवरण पनि असार मसान्तसम्म बुझाए हुने भएको छ ।
कोरोना प्रभावितको नाममा बदमासी गर्नेलाई पनि सरकारले छुट दिएपछि नेपालको शेयर बजारमा जे गरे पनि हुने रहेछ भन्ने प्रमाणित भएको छ ।