तिलक कोइराला ।
शेयर बजार यस्तो क्षेत्र हो जहाँ स्वार्थहरुको बाझाबाझ सधैं चलिरहन्छ । सबैभन्दा धेरै स्वार्थ बाझिने ठाउँ नै शेयर बजार हो ।
बजारमा किन्ने र बेच्नेहरुको यही स्वार्थ बझाईले गर्दा बजार जीवन्त हुन्छ । शेयर बेचेर बसेकाहरु मूल्य अरु घटोस भन्ने चाहन्छन् भने बेच्न खोज्नेहरु मूल्य बरु बढोस र धेरै फाईदामा बेच्न पाईयोस भन्छन् । यो दुईतर्फ तानातान अर्थात टग अफ वार बजारमा अनन्त कालसम्म रहन्छ । एकाध घटना बाहेक सबै लगानीकर्ता एउटै मुद्धामा केन्द्रित भएर आएको विरलै घटना छ तर ब्रोकरहरु जहिले पनि आफ्नो मुद्धामा एकताबद्ध हुन्छन् किनभने त्यहाा स्वार्थको मिलन हुन्छ ।
बजारलाई अरु कुराहरुका साथसाथै माग र आपुर्तिको अवस्था तथा आम लगानीकर्ताहरुको मनोबलले डोर्याउँछ । कहिले आपुर्तिको पक्ष अधिक बढी भएर शेयरको मूल्य घट्छ भने कहिले माग पक्ष अति बलियो भएर शेयरको मूल्य बढ्छ । तर कतिपय बेला के कारणले शेयरको मूल्य बढ्यो, घट्यो वा बढ्छ, घट्छ भन्न गाह्रो हुन्छ । शेयरको मूल्य घटाई वा बढाईलाई धेरै चिन्ताको बिषय बनाईनु हुन्न ।
अर्थतन्त्र राम्रो हुँदा शेयर बजार पनि राम्रो हुन्छ भन्न सकिन्न र अर्थतन्त्र नराम्रो हुदा शेयरको मूल्य पनि खत्तम हुन्छ भन्न सकिन्न । अर्थतन्त्र र शेयर बजारको संगति मिल्नैपर्छ भन्न सकिन्न । अहिलेको अबस्थामा अर्थतन्त्र खराब हुँदा पनि शेयर बजारमा त्यसको उल्टो असर पर्नसक्छ ।
शेयर बजार स्वार्थहरुको टकराव हुने र संबेदनशील क्षेत्र भएकाले सरकार वा नियमनकारी निकायहरुले बजार सम्बन्धी नीति, नियम, पुर्वाधार र प्रविधि राम्रो बनाएर बजारलाई स्वचालित बनाउने हो । बजारलाई नियमले निर्देश गरेर स्वतन्त्र छाड्ने हो भने बजारले आफ्नो दिशा आफै निधारण गर्छ, त्यसको नियमन भने कडा हुनैपर्छ । शेयरको मूल्य घट्यो वा बढ्यो भनेर सरकारले चिन्ता गर्ने हैन तर लगानीकर्ता पीडामा हुँदा राहत दिने र मनोबल बलियो पार्ने भुमिका भने खेल्नैपर्छ । बजारबाट सरकारले लिएको कर वापतको दायित्व उसले निर्वाह गर्नुपर्छ ।
सरकार वा नियमनकारी निकायहरु शेयर बजारलाई चलाउँछु भनेर जब स्वार्थ समूूहको घेराबन्दीमा पर्छन भने त्यहाँको बजारमा म्यानुपुलेशन हुन्छ । स्वार्थ समूहहरुले बजार चलाउँछन् । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र स्टक एक्सचेन्ज लगायतका सम्बद्ध निकायहरु कुनै एक स्वार्थ समूूहको गोटी बन्छन् भने बजारको स्वायत्तता र स्वचालनमा प्रश्न उठ्छ । स्वचालित नभएको बजारमा जब ब्रोकर वा ठूला खलाडीले बजारलाई आफ्नो स्वार्थ अनुकुल संचालन खोज्छन र नियमनकारी निकायहरु उनीहरुकै स्वार्थमा फनफनी घुमिरहन्छन् भने त्यस्तो बजारमा सर्बसाधारण सोझा लगानीकर्ताहरुको हित रक्षा गंभीर संकटमा पर्छ ।
नेपालको सरकार र नियमनकारी निकायहरु त्यस्तै सावर्थ समूहको गोटी बनेर बजारमा गर्नुपर्ने सुधार तथा बिस्तारका कामहरु गरेका छैनन् । अर्थमन्त्री डा. युवराज खतिवडा त्यस्तै स्वार्थ समूहका गोटी हुन् । उनी अध्यारो कोठामा बसेर अनेक खेल खेल्छन् तर पर्दा अगाडि कहिले धितोेपत्र बोर्ड वा नेप्से वा आन्तरिक राजश्व विभाग आउँछ । बजार तरंगित भईरहन्छ । शेयर बजारलाई साईजमा राख्छुु भन्ने खतिवडाको अभिष्ट नै घातक छ । यदि यो हैन भन्ने प्रमाण उनले प्रस्तुत गर्न सक्छन् भने ५८ बुँदै सुझावको पूँजी बजारसँग प्रत्यक्ष सरोकार राख्ने २० वटा कामहरु किन गरेनन् ?
सरकार वा नियमनकारी निकायले नीति, नियम, पुर्वाधार र प्रविधि ठीक गरेर स्वार्थ बाझिएका लगानीकर्ताहरु बीच तटस्थताको नीति अख्तियार गर्नुपर्ने हो । नियम तोड्नेलाई कडा कारबाही गरेर बजारको स्वच्छता र पारदर्शिता कायम गर्नुपर्ने हो । पूर्ण अनलाईन कारोबार प्रणाली र पूर्ण अनलाईन सेटलमेन्ट नभएकाले नै अहिले लकडाउनको अवधिमा शेयर बजार बन्द गर्नु परेर अन्तर्राष्ट्रिय बेईज्जत भएकै छ । कुनै उपायले असहज अबस्थामा बजार खुलाउँदा पनि कुनै एक स्वार्थ समूहले खेल्ने प्रशस्त संभावना छ ।
शेयर बजारमा विपरित धारका स्वार्थ समूहहरुले खेल्ने संभावना अनन्त कालसम्म रहने हुँदा सरकार र नियमनकारी निकायहरु कुनै पनि स्वार्थ समूहको गोटी नबनी आफुले गर्नुपर्ने काममा मात्र केन्द्रित बन्नुपर्छ । त्यसो नभएकाले नै अहिले बजार खोल्नुपर्छ कि पर्दैन भन्ने बहसले स्थान पाएको हो ।