शेयर बजारमा सबैभन्दा महंगो शेयर मूल्य रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड (RBCL)को अबस्था अझै जटिल रहेको देखिएको छ ।
कम्पनीले आठ बर्षको साधारणसभा गर्न त के अन्तिम लेखापरीक्षण प्रतिबेदन समेत तयार पार्न नसकेकाले बीमा समितिले तोकेको एक अर्ब चुक्ता पूँजी कायम गर्न यस बर्ष पनि मुस्किल पर्ने देखिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका सूचना अधिकारी निरन्जन आचार्यका अनुसार २०६७ देखि २०७२सम्मको अन्तिम लेखा परीक्षण प्रतिबेदन तयार भए पनि बाँकी तीन बर्षको लेखा परीक्षण सकिन अझै समय लाग्ने भएको छ ।
बीमा समितिले आर्थिक बर्ष २०७५,०७६सम्मको अन्तिम लेखापरीक्षण प्रतिबेदन तयार पारेर पेश गर्न निर्देशन दिएकाले त्यो पुरा नभई कम्पनीको पूँजी बृद्धिको योजनामा कुनै निर्णय हुन नसक्ने देखिएको छ । २०७० सालभन्दा अगाडि राष्ट्रिय बीमा संस्थानको निर्जवन बीमा बिभागको रुपमा रहेको कम्पनीले एकल साधारणसभा गरेर निर्णय गर्न कठिनाई छ ।
बर्षौदेखिको हिसाब गोलमाल रहेकाले त्यसलाई स्पष्ट पारेर कम्पनीलाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउँन अझै धेरै चुनौति रहेको देखिन्छ ।
नबिल बैंकको ८७ लाख र नेपाल इृन्भेष्टमेन्ट बैंकको एक करोड ५६ लाख कित्ता संस्थापक हिस्सेदारी रहेको राष्ट्रिय बीमाले तीन अर्ब ८० करोड बैंक निक्षेपमा लगानी गरेको छ । काठमाडौको पुतलीसडकमा १५ रोपनी र देशका अन्य भागमा पर्याप्त जग्गा जमीन, १४ शाखा कार्यालय र नयाँ जनशक्ति थपिएर ८० भन्दा बढी कर्मचारी छन् ।
कम्पनीले आर्थिक बर्ष २०७५,०७६ मा एक अर्ब ३७ करोड कुल बीम शुल्क आर्जन गरी अन्य आम्दानीहरु समेत जोडेर ७० करोड खुद नाफा गरेको आँकलन गरिएको छ ।
कम्पनीले गत बर्ष ब्यवसाय बिस्तारमा ४५ प्रतिशतको प्रगति गरे पनि उसको खुुद नाफाको धेरै अंश विभिन्न कम्पनीमा गरिएको शेयर लगानीबाट प्राप्त लाभांश र मुद्धती निक्षेपको नै हो ।
हाल २६ करोड ६६ लाख चुक्ता पूँजी रहेको कम्पनीको १९.६० प्रतिशत शेयर मात्र दोस्रो बजारमा दैनिक कारोबारयोग्य साधारण शेयर सुचिकृत छ । कम्पनीले विगतमा १२० प्रतिशत बोनस वितरण गर्ने भनी गरेको निर्णयमा बीमा समितिले रोक लगाएको थियो भने कर्मचारीलाई वितरण गर्ने भनिएको ५ प्रतिशत शेयर र ३० प्रतिशत एफपीओ बिक्री प्रक्रिया पनि अन्योलमा परेको छ ।
विगतमा प्रतिकित्ता २२ हजार भन्दा माथि पुगेको यस कम्पनीको शेयर मूल्य अहिले ८ हजार हाराहारीमा झरेको छ । प्रतिशेयर नेटवर्थ १०३२ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ३४ गुणा हुनु भनेको अन्य बीमा कम्पनीहरुको तुलनामा शेयर मूल्य धेरै महंगो नै हो । चुक्ता पूँजी एक अर्ब कायम गरेको अबस्थामा प्रतिशेयर नेटवर्थ धेरै कम देखिनसक्छ र मूल्य आम्दानी अनुपातमा पनि धेरै बढोत्तरी हुनसक्छ, जुन जोखिमपूर्ण नै हो ।
महंगोमा शेयर किन्नेहरुले कम्पनीले ल्याउने पूँजीबृद्धि योजनालाई धैर्यताका साथ पर्खिरहे पनि बक्यौता साधारणसभाहरु कहिले हुने भन्ने निश्चित नहुँदा अन्योल बढ्दो छ । सबै साधारण सभा यसै आर्थिक बर्ष भित्र एकैपल्ट हुने हो भने संचित नाफाबाटै पूँजी पुर्याउँन मुस्किलले सक्ने अबस्था हुनसक्छ तर त्यो समय कहिले आउला ?
कम्पनीकासूचना अधिकारी आचार्य भन्छन्, १५ बर्षदेखिको गन्जागोलपूर्ण कारोबारको हिसाब किताब सकेर हामी यसै आर्थिक बर्षभित्र नेपालका बीमा कम्पनीहरु माझ सशक्त रुपमा आउँने प्रयासमा छौ ।