तिलक कोइराला ।
अब नेप्से बढ्छ कि घट्छ ? शेयर बजारमा लगानी गर्ने र गर्न चाहने धेरैको सोधाई यही हुने गर्छ । कतिपय लगानीकर्ता नेप्सेसूचक बढेर हरियो भएको दिन राति मस्तले निदाउने र घटेर रातो भएको दिन सुत्नै नसक्ने अवस्थामा हुने गरेको समेत भेटिन्छन् ।
यसपल्ट नेप्से सूचक ११०० को बिन्दुबाट बढेर १४०० पुग्दा ३०० अंकको फराकिलो अन्तर देखियो तर यसबीचमा कतिपय बाणिज्य बैंकको शेयर मूल्य १० रुपैयाँ पनि बढ्न सकेन । यही समयमा कतिपय बीमा, लघुवित्त र अन्य बर्गका कम्पनीहरुको शेयरमा लगानी गर्नेले शतप्रतिशतसम्म रकम नाफा सुरक्षित गरे ।
यस साता नेप्सेमा एकैदिन ३४ अंकको बढोत्तरी हुँदा पाँच वटा बाणिज्य बैंकको शेयर मूल्य बढेर कतिपयमा ४० रुपैयाँ प्रतिकित्तासम्म मूल्य उचालियो तर अधिकांश बाणिज्य बैंकको शेयर मूल्य ५, ६ रुपैयाँ भन्दा बढीले बढ्न सकेन । अझ पछिल्लो दिन त घटेर जहाँको त्यही आईपुग्यो । नेप्से सूचकमा भएको बढाई त्यस्ता बाणिज्य बैंकको शेयरमा लगानी गर्नेका लागि हात्ती आयो फुस्सा सावित हुन गयो । भलै केही धरानियाँ बर्गको बैंकको शेयर मूल्य भने आकासिदै गएकै छ ।
नेप्से सूचक बढेको वा घटेको आधारमा शेयर बजारमा लगानी गर्नेहरुले कम्पनीको अबस्था, माग र आपुर्तिको सन्तुलनको अबस्था र लगानीकर्ताको मनोबल लगायतका कुराहरु विचार नगर्दा बजारबाट लिनसकिने लाभबाट बंचित हुनु परेको छ । आफुले बजार चलाउने हैन, बजार अनुसार आफु चल्ने नगर्दा पनि कतिपयले अवसर गुमाउने गरेका छन् ।
बजार अनुसार चल्नुपर्छ भन्दा लहैलहैमा नै हिड्नुपर्छ भन्न खोजिएको अबश्य हैन तर बजारमा यस्ता कम्पनी पनि छन् जहाँ लहडीको आँखा पर्न सकेको छैन र लाभांश तथा पूँजीगत लाभ प्राप्त हुने प्रशस्त संभावना छ । त्उस्ता संभावनाहरुको खोजी गरेर लगानी गरेमा बजारबाट अझै धेरै फाईदा लिन सकिन्छ ।
पूँजी बजारमा लगानी कौशल र धैर्यता भने एकदम आबश्यक कुरा हो । मौका छोप्न सकिएन भने शेयर बजारमा पाँच सेकेण्ड पनि ढिलो हुनजान्छ भने कतिपय कम्पनीको शेयरमा लगानी गर्दा लामौ धैर्यता र जोखिमबहन क्षमता उच्च पारेरै बस्नुपर्छ ।
नेप्से सूचकमा घटबढ् भईरहन्छ । यो पटक्कै चिन्ता वा उन्मादको बिषय बन्नुहुन्न । कम्तिमा पाँच वटा कम्पनीमा लगानी विविधिकरण गरेर बस्दा आफ्ना कम्पनीहरुको अबस्था तौलिरहनुपर्छ । दीर्घकालीन लगानी गर्दा पनि धेरै पूँजीगत लाभ प्राप्त भएको अबस्थामा फाईदा सुरक्षित गर्न चुक्नुहुन्न । जीवनमा बसन्त ऋृत मात्रै हैन हपहपी पोल्ने गर्मी र कठ्यांग्रिदो ठण्डीको सामना पनि गर्नुपर्छ भन्ने हेक्का सधै राख्नुपर्छ ।
शेयर बजारमा बाणिज्य बैंकको हिस्सा बढी रहेकाले बैंकको शेयर मूल्य अलिबति घट्बढ हुँदा पनि नेप्से सूचकमा सीधा असर पर्छ तर शेयर बजारमा माग र आपुर्तिको ठूलो भुमिका हुने हुँदा बाणिज्य बैंकको शेयरको मूल्य माथि जान ठूलो लगानीको आबश्यकता खट्किन्छ । बीमा, लघुवित्त र अरु बर्गका कम्पनीहरुमा थोरै रकमले पनि शेयरको मूल्य चलमाथि गर्न सकिने हुँदा खेलाडीहरु यतै लाग्ने गरेका छन् ।
त्यसैले नेप्से कतिले बढ्ला वा घट्ला भन्ने चिन्ता गर्न छाडी आजैदेखि आफुले लगानी गर्ने कम्पनीमा केन्द्रित हुनुहोस् । नेप्से घट्दा पनि तपाइँको कम्पनीको शेयर मूल्य बढिरहेको हुनसक्छ र नेप्से बढ्दा पनि तपाइँको कम्पनीको शेयर मूल्य घटिरहेको हुनसक्छ । सुरक्षित लगानीका लागि नेप्से सूचक मापक कुनै पनि हालतमा हुन सक्दैन । नेप्से सूचक यहाँ पुग्छ र त्यहाँ पुग्छ भन्दै भबिष्यबाणी गर्नेहरुको गफ सुन्न छाड्नुहोस् । यसैमा सुरक्षित लगानी गर्नेहरुको भलाई छ ।