तिलक कोइराला ।

शेयर बजारमा प्रबेश गर्नेहरुले हरदम हेक्का राख्नुपर्ने कुरा हो, यहाँ दुई वटा ढोका हुन्छ । एउटा छिर्ने र अर्को निस्कने ढोका ।

धेरै जसो लगानीकर्ताहरु शेयर बजारमा छिर्ने ढोका त सजिलै पत्ता लगाउँछन् तर निस्कने ढोकाको पत्तो नपाएर अलमलमा पर्छन् । कोही दुई वटा ढोका छ भनेर बुझ्दा बुझ्दै पनि छिरेपछि निस्कन बिर्सन्छन् र जोखिममा पर्छन ।

हाम्रो धर्तिमा भुकम्प आए जस्तै शेयर बजारमा पनि ठूला ठूला भुकम्पहरु आउँछन् र क्षति पुग्छ । यदि भुकम्प आउँनु अघि नै जोखिमपूर्ण र कमजोर घरबाट निस्किएको अबस्था हुन्छ भने सडकमा पुग्दा केही सुरक्षित हुन सकिन्छ । तर भुकम्प आयो भने बलियो र भुकम्प प्रतिरोधी घर हो भने घर भित्रै बस्दा झन् सुरक्षित पनि भईन्छ । घर नै कच्चा थियो भने त्यही घरले किचेर मानिसहरुको मृत्यु हुन्छ । घर भुकम्प प्रतिरोधी थियो तर भुकम्प आउँनु अघि नै घरबाट बाहिर निस्केको अवस्था थियो भने सडक वा गल्लीमा बिजुलीको पोल ढलेर, अरुको घरको गमला खसेर टाउकोमा लागी अंगभंग र मृत्यु हुने अबस्था पनि हुन्छ । घर बाहिर भाग दौड गर्दा नै कयौंको ज्यान गएको उदाहरण पनि छ ।

शेयर बजारमा पनि राम्रो कम्पनीको सस्तो शेयरमा लाभांशमा आधारित लगानी गरिएको थियो र ढुक्कको अबस्था छ भने भुकम्प आउँदा भागदौड गर्ने र घर बाहिर निस्कने आबश्यकता नै पर्दैन, घर भित्रै बस्दा सुरक्षा हुन्छ । तर खराब र कमजोर कम्पनीहरुको मूल्य उचालिएको शेयरमा लगानी गरिएको छ, घर नै कच्ची छ भने घर भित्रै बस्दा जतिखेर पनि खतरा हुन्छ, भकम्प आउँदा भागदौड गर्दा पनि अंगभंग हुने र मृत्यु हुने खतरा हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नेहरुले आफु सुरक्षित हुनका लागि पर्याप्त पूर्व तयारीहरु गर्नुपर्ने हुन्छ । घर कस्तो बनाउँने र जोखिम कसरी कम गर्ने भन्ने सावधानी बेलैमा अपनाउनुपर्छ । कुन ढोकाबाट छिर्ने र कहाँबाट निस्कने भन्ने हेक्का राख्नैपर्छ ।
खराब कम्पनीहरुको शेयरमा लगानी थुपारिएको छ र मूल्य बढेको बेलामा बिक्री गरेर बाहिर निस्कन सकिएन भने भुकम्प आउँदा कमजोर र जोखिमपूर्ण घरहरुले किचेर मरे जस्तै अबस्था आउँछ । कयौं लगानीकर्ताहरु नेप्से यतिले बढ्यो, शेयरको मूल्य यतिले बढ्यो भन्दै रमाएर बस्छन् तर कमजोर कम्पनीहरुको शेयर बिक्री गरेर राम्रो तर सस्तो मूल्य भएका कम्पनीहरुमा लगानी सार्न बिर्सन्छन् । शेयरको मूल्य अरु बढ्ला भनेर लोभ गर्दै बस्छन् र फस्छन् । यसो गर्दा गर्दै कुन दिन भुकम्प आउँछ र स्वाहा पार्छ ।

जमीनमा भुकम्प कतिखेर आउँछ भन्ने कुरा थाहा नभए जस्तै शेयर बजारमा कतिखेर के अबस्था आउँछ भनेर संभवतः कसैले पनि अनुमान लगाउँन सक्दैन । मानिसहरुको सोचाई भन्दा विपरित ढंगले शेयर बजार तल र माथि भईदिन्छ । मूल्य तलमाथि हुनु नै शेयर बजारको बिशेषता हो । केही दिनसम्म एकोहोरो ढंगले कुनै कम्पनीको शेयर मूल्य बढिरहेकोमा कुन दिनदेखि घट्न शुरु हुन्छ भनेर अनुमान लगाउँन सकिदैन । बढ्छ भन्ने अनुमान लगाउँदा घट्न थाल्छ । त्यसैले यस्तो जोखिमबाट बच्न राम्रा तर संस्ता कम्पनीहरुको शेयरमा लाभांशमा आधारित लगानी गर्ने हो र आफुलाई फाईदा भएको अबस्थामा बिक्री गरेर बाहिर पनि निस्कने हो । जो कमजोर कम्पनीहरुको शेयरमा लगानी गरेर बाहिर निस्कन बिर्सन्छ, उ फस्छ, जो राम्रा तर सस्ता शेयर मूल्य भएका कम्पनीहरुको शेयरमा लाभांशमा आधारित दीर्घकालीन लगानी गरेर बसेको हुन्छ, जस्तोसुकै भुकम्प आए पनि उ आँत्तिनु पर्दैन । तर शेयरको मूल्य धेरै बढेको अबस्थामा बिक्री गरेर बाहिर निस्कने विकल्प उसलाई पनि खुला नै हुन्छ ।

शेयर बजारमा पस्दा पनि शेयर बजार घटेर धेरै लगानीकर्ताहरुको भागाभाग भएको बेला, राम्रो कम्पनीको सस्तो शेयरमा लगानी गर्ने गरी छिर्नुपर्छ । तर यहाँ त उल्टो छ, जब बजार बढेर चुलीमा पुगेको हुन्छ, नयाँ लगानीकर्ताहरु ठेलमठेल गर्दै आउँछन् र बजार घट्न थालेपछि घाटामा शेयर बेचेर भाग्छन ।

शेयर बजार जोखिमको क्षेत्र हो भन्ने कुरा अल्पकालीन वा दीर्घकालीन लगानी गर्ने सबैले बुझ्नुपर्छ । जतिसुकै सुरक्षित लगानी गरेको छु भन्नेले पनि जोखिमको भार उठाउँनैपर्छ तर कमजोर र खराब कम्पनीहरुको शेयरमा लगानी गर्नेहरुको जोखिम अत्यधिक हुन्छ । तपाइँको सम्पतिमा तपाइँको अधिकार हुन्छ, कसैले पनि कुनै कम्पनीको शेयरमा लगानी गर वा नगर, झिक वा राख भन्ने हक राख्दैन । यो पनि सत्य हो कि कसैले कुनै कम्पनीको शेयरमा जोखिमै जोखिम देख्छ भने कसैले त्यहाँ अवसर नै अवसर देख्छ, यही चक्रमा नै शेयर बजार तलमाथि गरेर चलिरहन्छ । यसलाई कम्पनीको अबस्था, माग र आपुर्तिको अबस्था, अर्थतन्त्रका विविध आयाम, लगानीकर्ताको मनोबल लगायतले प्रभाव पारिरहेको हुन्छ ।

शेयर बजारमा एउटा भेडा गएर भीरमा हाम्फाल्यो भने अरु भेडा पनि त्यसैगरी हाम्फाल्ने अबस्था बन्नु हुँदैन । सर्बसाधारण लगानीकर्ताले बुद्धि र विवेकले लगानी गर्नुपर्छ भन्ने कुरा बारम्बार भनिराखिएकै छ तर सबैमा यो चेतना आइसकेको देखिएन ।

संभवत हजार पटक भनियो होला – मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा माथि रहेका, गत बर्ष कुनै लाभांश नदिएको, यस बर्ष पनि लाभांशको संभावना नभएको, प्रति शेयर आम्दानी १५ रुपैयाँ भन्दा कम रहेको, मूल्य धेरै उचालिएको,  संस्थागत सुशासन नभएको, सिमित ब्यक्तिको हातमा शेयर रहेको कम्पनीको शेयरमा लगानी गर्नु धेरै जोखिमपूर्ण हो । तर शेयर बजारका केही लगानीकर्ताहरु यस्ता छन् कि उनीहरुलाई यस्तो भन्नु उल्टै आफु आक्रमणको तारो बन्नु हो । त्यसैले कुनै कम्पनीको नाम नलिई यहाँ सांकेतिक रुपमा मात्र उल्लेख गर्नु परेको छ ।

शेयर बजारमा जथाभावी लगानी गरेर तपाइँ डुब्नुभयो भने कसैलाई पनि दोष दिन पाईन्न, तपाइँले सबै कुरा अध्ययन, बिश्लेषण गरी आफ्नो जोखिमबहन क्षमता विचार गरेर लगानी गर्ने हो । तपाइँले कमाउँनु भयो भने पनि सरकारलाई तिर्ने पूँजीगत लाभकर बाहेक कसैलाई दिनु पर्दैन । पैसा गुमाउनु भयो भने क्षतिपुर्ति कसैले दिदैन । त्यसैले कसैको बहकाउ र लहै लहैमा नपरी आफ्नै स्वतन्त्र अध्ययन र विश्लेषणले राम्रा कम्पनीहरुको सस्ता शेयरमा लगानी विविधिकरण गर्नुहोस् ।, एउटै कम्पनीमा भए भरको सबै पैसा नखन्याउनुहोस् । तपाइँले कमाएर पछुताउनुस, गुमाएर पछुताउने नबन्नुस । शेयर बजार समुन्द्र हो, तपाइँले जत्ति गाग्री पानी झिके पनि समुन्द्र रित्तिदैन । पानी झिक्ने शीप भने चाहिन्छ नत्र आफै डुबेर मरिन्छ । तर सुरक्षित लगानी गरिएको अबस्थामा नेपालको शेयर बजारमा कमाउँनसक्ने संभावना भने धेरै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here