तिलक कोइराला ।

कोरोना संंक्रमण र लगातारको लकडाउनका बीचमा बन्द भएको शेयर बजार यही आईतबारदेखि खोल्ने कि राष्ट्र बैंकले साउनको पहिलो सातासम्म ल्याउने मौद्रिक नीति नआउँदासम्म कुर्ने भन्ने गंभीर सवाल सरोकारवाला र लगानीकर्ताहरुका अगाडि खडा भएको छ ।

शेयर धितो कर्जाको सिमा बृद्धि, ब्याज तिर्ने समय थप वा पूँजीकरण जस्ता महत्वपूर्ण कुराहरु राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रष्टिकरण आईसकेको छ तर उसले असारमै मौद्रिक नीति ल्याउन नसक्ने अनेक खालका बाध्यताहरु रहेको बुझिन्छ । हदै प्रयास गर्दा पनि शेयर धितो कर्जाको सिमा बढाउने र ब्याज बुझाउने समय थप्ने वा पूँजीकरणको कुरा तत्काल सम्बोधन गराउँन सकिएन । असार मसान्तसम्मको बैकिंड. क्षेत्रको अबस्था विश्लेषण नगरी मौद्रिक नीति ल्याउन नसकिने र पूँजी बजारलाई राहत दिने कुराहरु मात्रै मौद्रिक नीति अगाडि ल्याउँदा अरु क्षेत्रको समस्यालाई वेवास्ता गरेको देखिने भाव राष्ट्र बैंकको रह्यो । यद्यपी राष्ट्र बैंकले कनेक्ट आईपीएस र डिजिटल पेमेन्टमार्फत हुने शेयर कारोबारको रकम भुक्तानी सिमाको गाँठो भने फुकाईसकेको छ ।

नेप्से, सीडीएससी र ब्रोकरले अनलाईन कारोबार प्रणालीमा पर्याप्त सुधार गरी युजर आईडी र पासवर्ड लिएर लगानीकर्ताले घरैमा बसेर किनबेच गर्न र राफसाफका लागि शेयर र रकम हस्तान्तरणको संरचना यदि तयार पारेका छन् भने कोरोना संक्रमण र लकडाउनको त्रास पनि अब रहेन । उनीहरुले त्यसो गरेका छैनन् र लगानकिर्ताले पनि आबश्यक तयारी गरेका छैनन् भने यो तीन दिनको समयमा त्यो पनि गर्न सकिन्छ ।

कोरोना संक्रमणको त्रास र लकडाउनका कारण तीन महिना भन्दा लामो समय शेयर बजार बन्द रह्यो, यसबीचमा पर्याप्त सुधारका कामहरु गर्न सकिने समय सरकार र नियमनकारी निकायहरुले खेर फाले । यस्तो अबस्थामा अब धितोपत्र बोर्ड र अन्य निकायमार्फत तत्काल सम्बोधन हुनसक्ने राहत र सुधारका काम गरेर यही आईतबारदेखि शेयर बजार खोल्नुका विकल्प छैन । यदि हामीले शेयर बजार आईतबारदेखि नै खोल्न सकेनौ भने असार मसान्तको चाप बजारमा पर्छ र झन् धेरै क्षतिको संभावना हुन्छ । बैंकहरुले चैत्र मसान्तदेखिको ब्याज असुलीका लागि दबाब सिर्जना तीब्र पारेको अबस्थामा असारको अन्तिममा बजार खोल्नु कुनै पनि हालतमा उपयुक्त छैन ।

राष्ट्र बैंकमार्फत हुने राहतका कार्यक्रमहरु आउन ढिलाई हुँदा अर्थ मन्त्रालय र धितोपत्र बोर्डबाट हुनसक्ने राहत र सुधारका काम गरी लगानीकर्तालाई उत्साहित पारेर बजार खोल्नलाई ढिलाई गर्नु आत्मघाती हुनसक्ने देखिएको छ । केही सुधारहरु त भई पनि सकेका छन्, जस्तो पाँच प्रतिशत पँजीगत लाभकरलाई अन्तिम कर घोषणा भएको छ र नागरिक स्टक डिलर संचालनको अनुमति प्राप्त गर्ने अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालय र धितोपत्र बोर्डबाट हुनसक्ने अरु ६ वटा जति सुधारका कामहरु तत्काल गर्न सकिन्छ । त्यसका लागि बोर्डले सक्रियता देखाईरहेको पनि छ ।

राष्ट्र बैंकलाई नपर्खिने हो भने आईतबारदेखि बजार खोल्नैपर्छ तर त्यसका केही शर्तहरु हुनेछन् । हितग्राही खातामा नभएको शेयर बिक्री गर्न नपाईने, ब्रोकरले बक्यौता असुली गर्न लगानीकर्तालाई घाटामा शेयर बिक्री गर्न दबाब दिन नपाईने, बैंक खाता वा ब्रोकरको खातामा आबश्यक रकम जम्मा गरेर कारोबार गर्ने लिमिट लिन चाहनेहरुलाई ब्रोकरले रोक्न नपाईने, ब्रोकरले विस्वासिलो लगानीकर्तालाई जति पनि लिमिट दिनसक्ने, बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरेर अत्याँउन नपाईने जस्ता अल्पकालीन उपायद्धारा सर्बसाधारण लगानकिर्तालाई विस्वासमा लिने काम हुनैपर्छ किनभने यो विशेष परिस्थिति हो ।

सबै नकारात्मक पक्षहरु मात्र बजारमा हावी छन् भन्ने हुँदै हैन । बैैंक तथा बित्तीय क्षेत्रमा अधिक तरलता, घट्दो ब्याज दर, लगानीका अरु क्षेत्र नहुनु, शेयरको मूल्य निकै सस्तो हुनु, बजार सुधार तथा बिस्तारका कामहरु गर्न धितोपत्र बोर्ड सक्रिय नै रहनु जस्ता अनेक कारणहरु छन् जसले लगानीकर्ताको मनोबल उकास्न भुमिका खेल्छ ।

बजार खोल्ने कि नखोल्ने भन्ने बिषयमा लगानीकर्ता, खेलाडी, ब्रोकर, सरकार, नियमनकारी निकायका अनेक दाउपेच हुनसक्छन् । शेयर बजार आफैमा अनेक स्वार्थहरुको रणभुमि हो । यसमा धेरै थरी तर्क र सोचहरुले विवाद सिर्जना पनि गर्न सक्छन् तर सबैलाई बजार चाहिन्छ भने शेयरको मूल्य घट्छ कि बढ्छ भनेर बजार खोल्ने, नखोल्ने कुरा हुनुहुन्न । केही सुधारका कामहरु भईसकेको अबस्थामा बजार पनि खोली बाँकी कामहरु तीब्र रुपमा गर्दै जाने हो । नीति, नियम, पुर्वाधार र प्रविधि ठीक पार्दै गएको अबस्थामा बजारले आफ्नो बाटो आफै बनाउँछ, कोही आँत्तिनु पर्दैन ।

शुक्रबार धितोपत्र बोर्डमा सर्बपक्षीय छलफल आयोजना गर्ने र त्यहीबाट सुझाव संकलन गरी बोर्डले संचालक समितिको बैठकबाट आबश्यक निर्णय गराउँन जोड गरिएको छ । सो छलफलमा बजार खोल्नै हुुन्न भनेर कसैले माग राख्न सक्ने अबस्था नहोला ।

आईतबार बजार खोलौं र संयमित भएर कारोबार शुरु गरौं । अरु सुधारका कामहरु हुँदै गर्दा लगानीकर्ताको मनोबल बलियो हुँदै जान्छ । हैन भने राष्ट्र बैंकले साउनमा ल्याउने मौद्रिक नीति नै कुरौं । त्यो समयसम्मका लागि बजार खोल्ने कि नखोल्ने भन्ने विवाद बन्द गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here