शेयर बजार भनेकै स्वार्थहरुको टकराव हो, यसैले नै बजारलाई जीवन्त बनाईरहेको हुन्छ । शेयर किन्ने र बेच्नेहरु विपरित ध्रुबमा उभिएर कारोबार गर्ने हुँदा बजार चलायमान हुन्छ ।

बजार छिरेको एउटा लगानीकर्ताले शेयरको भाउ सस्तो रहेको र आगामी दिनमा धेरै फाईदा हुनसक्ने संभावना देख्छ भने पहिले शेयर किनेर बसेकोले फाइृदा आउँदा अरु धेरै मूल्य लिएर बिक्री गर्न खोज्छ वा बजारमा लगानी डुब्ने संभावना देखेर शेयर शेयर बिक्री गरेर बाहिरिन खोज्छ ।

जसले शेयर सस्तो मूल्यमा उठाउँन खोज्छ, उसले बिक्रेतालाई सकेसम्म खसाल्ने जुक्तिहरु लगााउँछ र घटाएरै किन्ने प्रयत्न गर्छ । जसले बिक्री गर्न खोजिरहेको हुन्छ, उसले पनि सकेसम्म बढाएरै बिक्री गर्ने खोज्छ । किनबेच समाप्त भएपछि किन्नेले सस्तोमा पाएँ भन्छ र बेच्नेले आफुले शेयर बिक्री गर्न सकेकोमा सन्तोषको सास फेर्छ । बजारमा छिन छिनमा परिवर्तन हुने लगानीकर्ताको मनोबिज्ञानले तत्काल कसले जित्यो वा हार्यो भन्न गाह्रो हुन्छ ।

शेयर बजारमा कम्पनीहरुको अबस्था, माग र आपुर्ति, अर्थतन्त्र,राजनीति लगायत धेरै कुराहरुको प्रभाव रहन्छ । तरलगानीकर्ताको मनोबलले मुख्य भुमिका खेल्छ । मनोबल बलियो वा कमजोर बनाउने कुरालाई बजारमा चल्ने वा चलाईने हल्लाले मुख्य भुमिका खेल्छ ।

मुखामुख, सामाजिक संजाल, संचार माध्यम वा रणनीतिक र गुप्त रुपमा चलाईने हल्लाबाट शेयर बजारमा अधिक ब्यक्तिगत लगानीकर्ताहरु प्रभावित हुन्छन् र त्यसबाट बजारमा क्षणभरमा ठूलो उतार चढाव आउँछ । संस्थागत लगानीकर्ताहरुको बाहुल्यता नभएको, नीति, नियम, पुर्वाधार र प्रविधि कमजोर रहेको शेयर बजार हल्लाहरुबाट बढी नै तरंगित हुन्छ ।

कोही फलानोले यसो भन्यो भन्दै कुद्छन्, कोही आफ्नै अध्ययन विशलेषणले लगानी स्म्बन्धी निर्णय गर्छन । लगानीकर्तामाहरुमा सोचाईको विविधता र परस्पर विरोधी धार हावी हुन्छ र यसै आधारमा बजार चलिरहन्छ ।

सरकार र नियमनकारी निकायहरु शेयर बजारमा हुने स्वार्थहरुको बाझाबाझबाट टाढा रहेर नीति नियम, पुर्वाधार र प्रविधिको सही बन्दोेबस्ती गर्न लाग्नुपर्नेमा त्यही स्वार्थभित्र गुजुल्टिदा समस्या जटिल बन्ने गरेको छ । स्वार्थ केन्द्रित समूहहरुको प्रभावमा जब नीति नियम, पूर्वाधार बनाईन्छ वा बनाउँन आनाकानी गरिन्छ भने त्यस्तो शेयर बजारलाई जूवा घर भन्दा अत्युक्ति हुँदैन ।

लगानीकर्ता वा बजारका खेलाडीहरुबीचमा अनन्त कालसम्म चलिरहने स्वार्थहरुको बाझाबाझमा सरकार, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, क्यापिटल र ब्रोकरहरु पर्ने हुँदैन । जब कुनै पक्षमा यी निकायहरु संलग्न हुन्छन् भने भद्रगोलले सिमा नाघ्छ । अहिलेको अबस्था त्यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here