तिलक कोइराला ।

दोस्रो बजारमा अहिले सस्ता र साना कम्पनीहरुमा लगानीकर्ताहरुको अचम्मको आकर्षण देखिएको छ । जस्तोसुकै अबस्थाको कम्पनी भए पनि सस्तो सेयर र साना कम्पनी छानेर उठाउनेहरुको सक्रियता बढ्दा कतिपय कम्पनीको सेयर मूल्य दुई सातामै एक सय रुपैयाँसम्म बढिसकेको छ ।

पुस २८ गते बिहीबार मात्रै एउटा सस्तो कम्पनीको सेयर मूल्य बढेर साढे पाँच लाख कित्ता खरिदबिक्री भयो, जसको कारण प्राथमिक निश्काशन अर्थात आईपीओकै भाउमा सेयर पाउनु र मूल्य बढ्दा त्यस कम्पनीको पनि बढ्छ भन्ने मानसिकताले काम गरेको अनुमान गर्न सकिन्छ । धेरै कम्पनीको सेयर मूल्य घटेको पुस महिनाको अन्तिम दिन पनि सस्ता र साना कम्पनीमै बढी चाप दखियो । महंगा कम्पनी भन्दा सस्तामा लगानी गर्दा जोखिम पनि कम हुने भन्ने सोचले सर्बसाधारण लगानीकर्ताहरु ठूला कम्पनीबाट साना र सस्ता सेयरतर्फ आकर्शित भएका हुनसक्छन् । तर तुलनात्मक रुपमा राम्रा र लाभांश दिने कम्पनीमा लगानी गर्नु उत्तम उपाय हो ।

बजारमा सर्बसाधारण लगानीकर्ताको आकर्षण बढेको मौका केही खेलाडीहरु भने साना कम्पनीको मूल्य उचाल्न माग र आपुर्तिको दाउमा लागेका पाईएको छ । बाणिज्य बैंक लगायतका ठूला कम्पनीको मूल्य उचाल्न धेरै रकम परिचालन गर्नुपर्ने र एक दिन मूल्य उचाले अर्कोदिन खस्ने संभावना भएकाले खेलाडीहरु बाणिज्य बैंक जस्ता ठूला कम्पनीमा लागेका छैनन् । तर बजारमा कारोबार रकम समेत बढ्दै गएकाले साना र सस्ता कम्पनीहरु हुँँदै ठूला कम्पनीहरुमा पनि खरिदचाप आउनसक्ने संभावना बढेर भने गएको छ । दीर्घकालीन हिसाबले सुरक्षित लगानीका लागि अहिले सस्ता बाणिज्य बैंकका सेयर सबैभन्दा उपयुक्त हुन् ।

पुस २६ गते मंगलबार बाणिज्य बैंकको सेयर मूल्य वीचको समयसम्म १० प्रतिशतले बढे पनि अन्तिम समयमा लगानीकर्ता निराश बनेको अबस्था हेर्दा ठूला कित्ता सेयर आपुर्तिलाई खाने तागत बजारमा अझै आईसकेको छैन भन्ने हो । एकपछि अर्को क्षेत्र तात्दै गएर दैनिक १५, २० अर्बको कारोबार हुन थालेपछि यस्ता ठूला कम्पनीहरुको सेयर मूल्य पनि मज्जाले बढ्नसक्छ ।

पुसको अन्तिम सातामा बढेको सेयर मूल्यमा नाफा सुरक्षित गर्ने र बैंकका कर्जा र ब्याज तिर्ने दुई कुराको प्रभाव एकसाथ पर्र्दा बजार धेरै तरंगित भयो । यसमा केही राजनीतिक हल्लाहरुले पनि प्रभाव पारे । यसका बाबजुद पनि बजारमा खरिद चाप नै रहनु राम्रो पक्ष हो ।

अर्थतन्त्र सुधारको चररणमा गएको, राजनीतिक अबस्था समेत सुधारोन्मुख भएको र ब्याज दर समेत घटेकाले त्यसको सकारात्मक प्रभाव सेयर बजारमा आगामी दिनहरुमा देखिने आशा गरिएको छ । माघ महिना लागेपछि बैंकहरुले सेयर धितो कर्जा प्रबाह समेत बढाएमा त्यसले सेयर बजारलाई महत्वपूर्ण आड दिने अपेक्षा गर्न सकिन्छ । ब्याज दर ओरालो लाग्दा सेयरको मूल्य उकालो लाग्छ भन्ने कुराको परीक्षण माघ महिनामा हुनैपर्छ । यद्यपी सेयर बजार भनेको अरु कुराका साथसाथै लगानीकर्ताको मनोबिज्ञानले प्रभाव पार्ने महत्वपूर्ण क्षेत्र हो ।

सत्ताधारी पार्टी, प्रधानमन्त्री र मन्त्रीहरुले पूँजी बजारमैत्री कुरा गरेको, काम गर्न बाँकी रहेको र लगानीकर्ताहरु पनि उत्साहित र आशावादी रहेकाले यसको परिणाम देखिन पनि बाँकी नै छ । सरकारले कुरा मात्रै गर्यो, काम गरेन भने लगानीकर्ताको आशा निराशामा बदलिने खतरा हुन्छ ।

ठूला कम्पनीको सेयर मूल्य धेरै बढ्यो भने नेप्से सूचक पनि धेरैले बढ्ने र त्यसलाई कतिपय मिडिया र सरकारी अधिकारीहरुले नकारात्मक रुपमा चित्रण गर्ने गरेकाले बजारका कतिपय खेलाडीहरु नेप्से धेरैले नबढोस भन्नका लागि साना कम्पनीहरुमै खेल्न चाहिरहेको पनि देखिन्छ । साना कम्पनीहरुको सेयर मूल्य धेरै प्रतिशतले बढे पनि नेप्से सूचकमा खासै फरक नपर्ने हुँदा बजार विरोधी मानसिकता भएकाहरुको आँखा लाग्दैन भन्ने सोच कतिपयमा रहेको पाईन्छ । तीन बर्ष अघि र अहिलेको कम्पनीहरुको सेयर मूल्य तुलना गर्दा अहिले पनि अधिकांश कम्पनीको मूल्य ५० प्रतिशत सस्ता नै छन् । सेयरको मूल्य बढ्नु राम्रो हो र यसो हुँदा कसैलाई घाटा हुँदैन ।

पूँजी बजारमा देखिएको उत्साहलाई कायम राख्न र अर्थतन्त्र चलायमान बनाउँन राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत कस्तो ब्यवस्था गर्छ भन्ने कुरा पनि महत्वपूर्ण छ । अर्थमन्त्रीले गभर्नरलाई साथमै राखेर मौद्रिक नीति र बित्त नीतिलाई समन्वय गरेर जाने उद्घोष गरेकाले लगानीकर्ता यसपालि मौद्रिक नीतिको समीक्षाप्रति पनि उत्तिकै आशावादी भएका देखिन्छन् ।

बजारमा रहेका कयौं राम्रा कम्पनीको भाउ अझै बढ्न नसकेकाले फाईदा लिनसक्ने ठाँउ धेरै बाँकी नै छ । कतिपय लगानीकर्ताहरु मााघ लागेपछि बजार प्रबेश गर्ने भन्द्रै लगानी रकमको जोहो गर्ने, बैंकको कर्जा सिमा (लिमिट) लिने र पूर्व तयारी गर्ने अबस्थामै रहेकाले मौका गुमिसकेको भन्दै पछताउनेहरुको सोचाईमा संगति मिलेको मान्न सकिन्न ।

सेयर बजार जोखिमको क्षेत्र भएकाले हरेक लगानीकर्ताले त्यसको मनन् गरी लगानी गरेको कुरामा अन्यथा भन्न मिल्दैन । कस्तो सेयर किन्ने र बेच्ने भन्ने कुरा लगानीकर्ताको चाहना र अधिकारको कुरा हो, अरुले फैसला गरिदिने बिषय हुँदै हैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here