तिलक कोइराला

नेपालको सेयर बजारमा लगानी गर्न चाहने र लगानी गरिरहेकाहरुलाई सही समाचार, सूचना र जानकारी उपलब्ध गराएर उनीहरुको लगानीलाई सुरक्षित पार्न सघाउन हामी सेयरलगानी डटकमको रुपमा उपस्थित भएका छौ । यो हामी सगर्व घोषणा गर्दछौ कि हरेक बर्षको भदौ १५ हाम्रा लागि अविस्मरणीय दिन हुनेछ ।

नेपालको उदाउँदो सेयर बजारमा प्रबेश गर्न चाहनेहरुलाई सही सल्लाह दिदै सेयर बजारको सांगोपांगो अबस्था, कम्पनीहरुको बिश्लेषण र अर्थतन्त्रको बिबिध पक्षका बारेमा समाचार, सूचना, बिचार र बिवेचना पस्कनु नै हाम्रो प्राथमिक कार्यभार हुनेछ ।

सेयर बजार र अर्थतन्त्र सम्बन्धी समाचार र सूचनाहरु धेरै संबेदनशील हुने गर्छन र त्यसलाई पस्कने क्रममा निकै सावधानी अपनाउनु जरुरी छ । एउटा गलत जानकारी पस्कदा लाखौं लगानीकर्ताको करोडौ गुम्नसक्छ भने सही जानकारी समयमै नदिँदा पनि कयौंले गुमाउने अबस्था हुन्छ । यो संबेदनशिलता बुझेर हामी हरेक कदमहरुमा फुकी फुकी चल्ने छौ । गल्ति नै नहोस् भन्नेमा हामी सधै सतर्क रहनेछौ । प्राबिधिक वा मानवीय कारणले कुनै गल्ति भएमा त्यसलाई सुधार्न आम पाठक, दर्शकहरुबाट हामी शीघ्र आलोचना, प्रतिक्रियाको अपेक्षा गर्नेछौ, जसले हामीलाई सधै अरु राम्रो गर्न प्रोत्साहित गरिरहने छ ।

हामीलाई थाहा छ, यहाँ पस्किईने सामाग्रीहरु पढ्ने, हेर्नेहरु हामी भन्दा बिज्ञ र अनुभवी छन् । आम सर्वसाधारण पाठकको रचनात्मक आलोचना र सुझावहरुलाई मनन् गरी एकपछि अर्को पाईला चाल्दा खुट्टा तान्नेहरुको कमी पनि हुने छैन भन्ने हामीलाई बोध भएकै छ । हिड्न लाग्दा छिर्के हानेर लडाउन खोज्नेहरुबाट बचेर सुरक्षित रुपमा अगाडि बढ्नुमा नै हाम्रो सफलता निर्भर छ । हामी भीखमंगा हैनौ र दयाको पात्र पनि हुने छैनौ तर सदासयता देखाउनेहरुप्रति हामी सदैब आभारी हुनेछौ ।

कुनै कम्पनी वा ब्यक्तिले आफ्नो छवी वा आधार निर्माण गर्न बर्षौ लगाएको हुन्छ, हामीले पस्कने एउटा समाचारले त्यसलाई ध्वस्त नपारोस् भन्नेमा सतर्क रहन्छौ तर बदमासी गरेर लाखौं सर्बसाधारणको लगानी डुबाउनेहरुलाई छाड्नुपर्छ भन्ने कुरा कदापी हैन । कम्पनीहरुलाई सुध्रिन, बदमासहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब सिर्जना गर्नेमा हाम्रो भुमिका पक्कै रहने छ । कम्पनीहरु ध्वस्तै बनुन हैन, सुध्रिएर आम लगानीकर्ताको हित संरक्षण गरुन भन्नेमै हाम्रो बिशेष जोड हुनेछ । कसैलाई निषेध गरिने छैन र कसैको एकपक्षीय सूचना, जानकारी वा आरोपित कुराहरु मात्रै पस्किईने पनि छैन । एउटा अपराधीलाई न्यायाधीशले फाँसीमा झुड्याउने फैसला गर्दा त तिम्रो भनाई के छ भनेर सोध्छ भने हामीले लेख्ने समाचार र बिश्लेषणमा आरोपित गरिने सम्बन्धित पक्षको प्रतिक्रिया नहुने प्रश्नै उठ्दैन ।

सेयर बजारमा धेरै लगानीकर्ताहरु बुझेरै लागेका छन् तर सबै लगानीकर्ताहरु बुझेरै लागेका छैनन् । कतिपय लगानीकर्ताहरु कुनै पत्रिका वा अनलाईनको समाचारको शीर्षक मात्रै हेरेर सेयर किनबेच गर्न जाने खालका पनि छन् भन्ने हामीलाई राम्ररी थाहा छ तर हामी भन्छौ कि समाचारको शीर्षक मात्रै हेरेर वा अरुको लहै लहैमा लागेर सेयर बजारमा लगानी नगर्नुहोस् । हामी सदैब यही संदेश हामी फैलाउने प्रयास गर्ने छौ । नेपालको सेयर बजारमा जोडिएका र भबिष्यमा जोडिने हरेक लगानीकर्ताको भरपर्दो संचार माध्यमको रुपमा हामी आफुलाई स्थापित गर्ने प्रयास गर्ने छौ ।

नेपालको अर्थतन्त्र र सेयर बजारमा रैथाने नेपालीहरुको सकेसम्मको लगानी र नियन्त्रण हुनुपर्छ भन्ने कुरामा हाम्रो बिशेष जोड रहने छ र अभियानहरु पनि त्यसै दिशामा केन्द्रित रहने छन् । धेरै नेपालीहरुलाई अर्थतन्त्र र सेयर बजारको पहुँचमा ल्याउन हामी समान उद्धेश्य भएकाहरुसँग सहकार्य गर्दै अघि बढ्ने छौ । सेयर बजारमा सुरक्षित लगानीका लागि प्रोत्साहित गर्ने कृयाकलापहरु संचालन हुनेछन् ।

हामी कुनै एक लगानीकर्ता वा एउटा कम्पनीको पकेट मिडिया बनेर आम लगानीकर्ताहरुका अहितमा कुनै कार्य गर्ने छैनौ । आम लगानीकर्ताको हितमा जे गर्दा ठीक हुन्छ भन्ने ठान्छौ, त्यही गर्छौ । यसमा कसैको दबाब, धम्की, प्रलोभन वा अन्य कुराले हामीलाई प्रभावित पार्ने छैन । आर्थिक पत्रकारितामा हरेक समाचार पैसामा किन्ने प्रयास गर्नेहरु धेरै हुन्छन् भन्ने हामीलाई थाहा छ तर हामी त्यसबाट सधैं बचेर काम गर्नेछौ । कुनै पनि हालतमा घोषित लक्ष्यबाट बिचलित हुने छैनौ ।

सेयर बजारमा अनाबश्यक अफवाह फैलाउने, साधारण लगानीकर्तालाई आतंकित गर्ने, कुत्सित लाभ प्राप्त गर्न कार्टेलिड. गर्नेहरुका विपक्षमा हामी सधै रहने छौ । नियमनकारी निकायहरुले असल नियतले चालेका कदमहरुलाई सफल पार्न सहयोगी भुमिका खेल्नु हाम्रो अर्को प्रमुख कार्यभार हुनेछ ।

हावादारी कुराहरु पस्केर हामी आम पाठकहरुलाई कहिल्यै भ्रमित पार्ने छैनौ । हरेक कुराहरु तथ्यमा आधारित हुनेछन् । तथ्य र प्रमाण बिनाका कुनै पनि सामाग्रीहरु प्रचार, प्रसार गर्ने छैनौ । अनलाईन र डिजिटल मिडियाहरुको भीडमा समाचार बिकाउने नाममा कुनै अस्वस्थ प्रतिस्पर्धा गरेर गलत कुराको चटपटे बिक्री गर्ने छैनौ । अरुले हात्ती चढे भनेर हामीलाई धुरी चढ्नु पनि छैन ।

हामीले प्रारम्भिक पाईला चाल्दा वेभसाईटमा थुप्रै सुधारहरु गर्नुपर्ने आबश्यकता अबश्य खटकिने छ । प्रबिधिमा पनि हामी धेरै पछि छौ र अरु सामाग्रीहरु पनि अपुग नै देखिने छन् तर त्यसलाई क्रमशः सुधार गरी गन्तब्यतर्फ लाग्ने छौ । हिड्न सुरु गर्ने बित्तिकै गन्तब्यमा कहिले पुगिएला भनी चिन्ता गर्न थालियो भने यात्रा कहिल्यै पुरा हुँदैन । हामी भखैरै बामे सर्न थालेकाले जवान भईसकेकाहरुको हाराहारीमा किन कुदेन भन्नु स्वभाविक नहोला तर हामीलाई विगतको अनुभवले पनि सिकाएको छ कि असल नियतले राम्रो काम गरियो र निरन्तरता दिईयो भने साथ दिनेहरु बाटोमा अबश्य भेटिने छन् ।

यात्रा सफल पार्न रचनात्मक आलोचना, सुझाव, सल्लाह र साथ सहयोग यहाँहरुबाट सदैब अपेक्षित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here