लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने सवालमा कम्पनीहरुले मनपर्दी गर्न थालेका छन् ।

यसरी मनपर्दी गर्नेमा राम्रो जलबिद्युत कम्पनी भनिएको चिलिमे जलबिद्युत (CHCL) समेत छ । अरु कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्तिमा एक साताको समय दिएर सेयरधनी किताब बन्द गने गरेकोमा चिलिमेले भने जम्मा दुई दिनको समय दिएर सेयरधनी किताब बन्द गरेको छ ।

चिलिमेले १० प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताब पहिले नै सार्वजनिक गरेको थियो तर सो लाभांश प्रयोजनका लागि असोज २६ गते बिहीबार नेप्सेमा सूचना दिएर असोज २७ गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । हुन त चिलिमले असोज २५ गते नै राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कार्तिक २४ गते ११ बजे भुकुटीमण्डपमा हुने २१ औं साधारणसभाका लागि असोज २७ गते सेयरधनी दर्ता किताब बन्द हुने उल्लेख गरेको थियो । तर उसको सूचना थाहा पाउनेहरुका लागि दुई दिन भित्र मात्रै सेयर कारोबार गर्ने समय रह्यो ।

सेयरधनी दर्ता किताब बन्द बारे के भन्छ कानून ?

धितोपत्र बोर्डले जारी गरेको बोनस सेयर सम्बन्धी निर्देशन २०६७ को परिच्छेद ३ को बुँदा नम्बर ३ (२) मा सेयरधनी दर्ता किताब बन्द सम्बन्धी प्रावधानको ब्यवस्था गरिएको छ । सो प्रावधानले बोनस वितरणका लागि साधारणसभा आब्हान गर्दा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित हुने सूचनामा सेयरधनी दर्ता किताब बन्दको मिति पनि उल्लेख हुनुपर्ने भनिएको छ ।

यसरी हेर्दा चिलिमेको सेयरधनी दर्ता किताब बन्द सम्बन्धी सूचना गैरकानुनी त भएन तर किन हतारिएर सेयरधनी दर्ता किताब बन्दको सूचना जारी गरिएको छ भन्ने बारेमा भने धेरै आशंका जन्माईदिएको छ ।

चिलिमेले २५ गते पत्रिकामा सूचना प्रकाशन गरेर २६ गते मात्रै किन नेप्सेलाई जानकारी गरायो भन्ने प्र्श्न उब्जेको छ । अरु कम्पनीले पहिले नेप्सेलाई जानकारी गराएर भोलिपल्ट सेयरधनी दर्ता किताब बन्दको सूचना पत्रिकामा छाप्ने गरेका छन् । कतिपयको सवालमा पत्रिकामा प्रकाशित भएकै दिन पनि नेप्सेमा सूचना आउने गरेको छ ।

कम्तिमा पाँच कार्यदिन समय दिएर सेयरधनी दर्ता किताब बन्द गरिएको भए आकाश खस्ने थिएन किनभने उसले साधारणसभा कार्तिक २४ गते अर्थात ३० दिनपछि आब्हान गरेको छ । यसबीचमा तयारीका कामहरु गर्न पर्याप्त समय छदैथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here