केही बर्षअघि सम्म धेरै जोखिम हुन्छ भन्दै सेयर धितो कर्जा परिचालन गर्ने कुरा सुन्नै नचाहने नबिल बैंक पछिल्लो समयमा त्यस्तो कर्जा प्रबाहमा आक्रामक देखिएको छ । उसले पत्रिकामा आकर्षक बिज्ञापन मात्रै गरेको छैन, राम्रा र धेरै कर्जा लिने सेयर लगानीकर्ताहरुलाई फोन नै गरेर आमन्त्रण गरिरहेको छ ।

ज्योति बिकास बैंकका नायब प्रमुख कार्यकारी मनोज ज्ञवालीले एक कार्यदिनमै सेयर कर्जा उपलब्ध गराउने भन्दै आईतबार सामाजिक संजालमा बैंकको योजना प्रस्तुत गरे । आधार दरमा एक प्रतिशत मात्रै थपेर सस्तो ब्याज दरमा सेयर धितो कर्जा उपलब्ध गराउने उनको भनाईले सेयर बजारका लगानीकर्ताहरुमा आकर्षण थपेकै छ ।

पोखराबाट काठमाडौ आएर कर्पोरेट कार्यालय खडा गरी ब्यापार बिस्तार गरेको मुक्तिनाथ बिकास बैंक पनि सेयर धितो कर्जा बिस्तारमा आक्रामक देखिएको छ । उसले दुई कार्यदिनमै सेयर धितो कर्जा प्रबाह गर्ने प्रतिबद्धतासहित अन्य सुबिधाको आकर्षण समेत थपेर बिज्ञापन गरिरहेको छ ।

यस्ता धेरै बैंक तथा बित्तीय संस्थाहरु छन् जसले अबको कर्जा प्रबाहको क्षेत्र सेयर धितो कर्जा नै हो भन्ने निश्चित गरिसकेका छन् । उनीहरुले सेयर धितो कर्जा बिस्तारमा धेरै संभावना देखेर नै आक्रामक रणनीति अख्तियार गरेका हुन भन्ने कुरा स्पष्ट छ । यही सन्दर्भमा बैंकसँग राम्रो सम्बन्ध बनाएका कयौं लगानीकर्तालाई बैंकका कर्मचारीले फोन गरेरै कर्जा प्रक्रियामा सहभागी हुन आग्रह गरिरहेको बुझिएको छ ।

धितो बन्धक लिन र कर्जा असुली गर्न सजिलो, सेयर धितो कर्जा प्रबाह गरेर अहिलेसम्म कुनै पनि बैंक तथा बित्तीय संस्था संकटमा नपरेको उदाहरण, धितोको ५० प्रतिशत मात्रै कर्जा प्रबाह गर्दा जोखिम कम, सेयर धितो कर्जाका बिशेषताहरु हुन् । कम्पनीहरुको सेयर मूल्य घटेर पछिल्लो समयमा छ महिनाको औसत मूल्य भन्दा तल आएको अबस्था, औसत मूल्य अरु घटेमा  मार्जिन थप्न वा कर्जा चुक्ता गर्न तत्काल ऋणीलाई दबाब दिन सकिने अबस्था, कर्जा नतिरे तत्कालै सेयर बेचेर असुल गर्न सकिने आधार लगायतका कुराहरुले पनि बैंकहरु यसतर्फ आकर्षित भएका हुनसक्छन् ।

ठूलो बैंक नबिलले आधार दर ७.०३ प्रतिशतमा चार प्रतिशत थपेर साढे ११.०५ प्रतिशतको दरमा सेयर धितो कर्जा उपलब्ध गराईरहेको छ । उसले निश्चित रकम भन्दा माथि कर्जा लिनेलाई मात्र लक्षित गरेको हुँदा साना लगानीकर्तालाई कर्जा दिदैन, मुक्तिनाथ र ज्योति लगायका कम्पनीहरुबाट साना लगानीकर्ताले कर्जा पाउँन सक्छन् तर ब्याज दर अझै महंगो छ । ज्योतिले सोमबार प्रकाशन गरेको ब्याज दर हेर्ने हो भने सेयर धितो कर्जा लिदा १४ देखि १७ प्रतिशत ब्याज तिर्नुपर्छ । अरु थुप्रै बैंक तथा बित्तीय संस्थाहरु छन्, जसले सार्वजनिक बिज्ञापन नगरे पनि सेयर धितो कर्जा प्रबाह गरिरहेका छन् । बिगतमा आक्रामक रुपमा सेयर धितो कर्जा प्रबाह गरेर पछि लगानीकर्तालाई हतोत्साहित बनाएको आरोप खेपेको एनआईसी एशिया अहिले भने यस प्रकारको कर्जा प्रबाहमा अलि पछि परेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशत मात्र सेयर धितो कर्जा प्रबाह गर्न पाउने नियम लागु गरेकाले यसको मार सिटिजन्स बैंक, मन्जुश्री फाईनान्सलगायतका केही कम्पनीहरुलाई परेको छ । उनीहरुले यसअघि नै सिमाको हाराहारी कर्जा प्रबाह गरिसकेकाले सकेसम्म नदिने र घटाउने रणनीति अख्तियार गर्दैछन् ।

बैंक तथा बित्तीय संस्थाहरुले सेयर धितो कर्जामा प्रतिस्पर्धा थाले पनि ब्याज दर महंगो रहेकाले त्यस्तो कर्जा लिएर सेयर बजारमा लगानी गर्दा कति फाईदा होला भन्ने कुरा बिचारणीय छ । बित्त बजारमा तरलता बढ्दै गयो भने यसरी प्रतिस्पर्धामा उत्रिएका बैंकहरुले ब्याज दर पनि घटाउलान् कि ! ब्याज दर घटाउने प्रतिस्पर्धा पनि सुरु भयो भने साँच्चै सेयर बजारका लगानीकर्ता लाभान्वित हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here