सेयर बजारबाट अर्बौ कमाएका रोचक कथाहरु बेला बेलामा विभिन्न मिडिया र सामाजिक संजालमा पस्किएको पाईन्छ र धेरै सर्बसाधारणले त्यसैलाई पत्याएर जथाभावी रुपमा लगानी खन्याउँछन् । उनीहरुलाई लाग्छ कि मैले पनि यसैगरी सेयर बजारबाट कमाएर करोडपति र अर्बपति हुनसक्छु ।

केही बर्ष अघि एक जना नेपाली लेखकले सेयरबाट करोडपति नामक पूस्तक प्रकाशन गरे । त्यो पुस्तक बजारमा खोसाखोस भएर बिक्री भयो । कतिपयले त्यो पुस्तक पढ्दै नपढी शीर्षक मात्रै हेरेर सेयर बजारमा अन्धाधुन्ध लगानी खन्याए । पुस्तकका लेखक चाँही पुस्तक बिक्रीबाट आएको नाफा र रोयल्टी बुझेर केही बर्ष क्यानडा गएर बसे । अहिले त्यही पुस्तकको शीर्षक मात्रै पढेर जथाभावी लगानी गरेकोहरु पुर्पुरोमा हात लगाउँदै चरम निराशाका दिनहरु काटिरहेका छन् ।

फलानाको सल्लाहमा सेयर किनेको थिएँ, उसले डुबाईदियो, फलानालाई टीएमएसको युजरआईडी र पासवर्ड दिएको थिएँ, उसले खराब किसिमले लगानी गरिदियो, फसाईदियो भन्नेहरु पनि थुप्रै हुनसक्छन् । तपाइँले उनीहरुलाई विस्वास गर्नुभयो तर बजारले उनीहरुलाई बिस्वास गरेन र तपाइँले धोका पाउनु भयो । त्यसैले अरुको भर पर्नेहरु सेयरमा धोका पाउने संभावना अधिक हुन्छ किनभने बजारको कुनै भर छैन, जान्नेले पनि बजारबाट धोका खाएको हुन्छ । कसैले करोडपछि हुन्छौं भनेर उक्साएको भरमा लगानी गर्नुहुन्न, रोडपति हुने खतरा रहन्छ ।

दुई बर्ष अगाडि सेयरको मूल्य उच्च विन्दुमा पुगेर झर्दै गर्दा केही लगानीकर्ताहरु अरुलाई सेयर किन्न उक्साउँदै बास्तविक रुपमा सेयरको भाउ अझै बढ्न बाँकी छ भन्दै रियल बुल आउन बाँकी नै रहेको तर्क गर्थे । क्लव हाउस, फेसबुक लाईभ र टिकटक लाईभबाट डिजिटल भीड जम्मा गरेर यो किन र त्यो किन भनेर सल्लाह दिने क्रम तीब्र थियो । काम न काजको कम्पनीको भाउ थेग्नै नसकिने विन्दुमा पर्याएर सर्बसाधारणलाई किनाउने धन्दा राम्रै चलेको थियो । आज पनि चलेकै होला । तर बजारले यसरी ती धन्दावालाहरुलाई लात मारिदियो कि धन्दावालाहरु नै आज चरम निराशाको खाडलमा जाकिएका छन् ।

दुई बर्ष अगाडि दोस्रो बजारमा एक करोड लगानी गरेका कयौंको सम्पति आज घटेर आधा अर्थात ५० लाख भन्दा तल झरेको छ । बैंकको मार्जिन कल र ब्याज बुझाउँदा बुझाउँदै कयौको घर नै लिलामीमा चढ्न लागेको छ । त्यसैैले ऋण लिएर सेयर बजारमा लगानी गर्नु झन् जोखिमपूर्ण होे ।

चर्चा गर्न र अरुलाई उक्साउन जति सजिलो छ, यो सेयर बजारबाट आफु र आफुले उक्साएकाहरुले कमाउन उत्तिकै कठिन छ । पाईलैपिच्छे जोखिमै जोखिमले भरिएको बजार नै सेयर बजार हो । जुन ठाउँ सुरक्षित छ भनेर टेक्यो त्यही ठाउँ भासिनसक्छ । यो बजारमा नजान्ने त फस्छ नै, मै हुँ जान्ने भन्नेहरु पनि नराम्ररी जाकिनसक्छन् । नराम्रो कम्पनीमा लगानी गर्नेहरु त फस्छन् नै, राम्रो र सुरक्षित लगानीका लागि उपयुक्त ठानिएका कम्पनीमा लगानी गरेर पनि बर्षौ पछुताउनेहरु यही बजारमा हजारौं छन् ।

दोस्रो बजार त जोखिमपूर्ण होला तर प्राथमिक बजार अर्थात आईपीओमा त केही जोखिम हुन्न भन्ने ठान्नु होला । निश्चय नै दोस्रो बजारको तुलनामा प्राथमिक बजार कम जोखिमपूर्ण हो तर जोखिम नै हुन्न भन्ने हैन । प्राथमिक बजारमा पनि अन्धाुधुन्ध लगानी गर्ने र जस्तो पायो, त्यस्तो कम्पनीको आईपीओ भर्नेहरु पनि बिगतमा कयौं फसेका उदाहरण छन् । आउँदा दिनमा पनि खराब कम्पनीमा फस्न सक्छन् ।

उसो भए सेयर बजार लगानी गर्नै नहुने ठाउँ हो त ? के यहाँ कमाई नै हुन्न त ? त्यस्तो हैन । लगानी गर्ने ठाउँ हो र कमाई पनि हुनसक्छ । त्यसका लागि बजारको जोखिम बुझेर, जोखिमबहन क्षमता बलियो बनाएर, सोही अनुसारको लगानी रणनीति बनाएर, लगानी कौशल सिकेर, धैर्य धारण गर्ने र नाफा सुरक्षित गर्ने कुरामा नचुकेर बजारबाट फाईदा लिन सकिन्छ । बजारमा अनेक खालका हल्ला चल्छन् र खेलाडीहरुको खेल पनि बुझिनसक्नु हुन्छ । माग र आपुर्तिको खेलले बजारलाई चलायमान बनाउँछ भन्ने कुरा बिर्सनु हुन्न ।

बजारमा मूल्यको उतार चढावमा अनेक कुराले प्रभाव पार्छन, त्यसको अनुमान लगाउनु एकदम कठिन कुरा हो । त्यसले नै लगानीकर्तालाई नाफा वा घाटाको अबस्थामा पुर्याईदिन्छ । सही समयमा सही निर्णय गर्नसक्नु नै सफलताको सूत्र हो ।

दोस्रो बजारमा लगानी गर्ने ९५ प्रतिशत मानिसहरुले गुमाउने र ५ प्रतिशत मनिसहरुले कमाउने गर्छन । तपाइँ त्यही ५ प्रतिशत मानिसहरुका बीचमा पर्नुभयो भने जीवन सुनौलो हुनेछ । कडा मेहनेत र चलाखीले तपाइँलाई सफलता दिलाउँनसक्छ । बिकास र बिस्तार हुँदै गरेको नेपालको सेयर बजारमा लगानी गर्नेले कमाउने नै छन् । अहिलेको चरम निराशाको बादल मडारिईरहेको अबस्थाबाट विचलिन नहुनुहोस्, प्रयास जारी राख्नुहोस् । बजारको जोखिम बुझेर आफ्नै अध्ययन, विश्लेषण निर्णयबाट सुझबुझपूर्ण लगानी गर्नुहोस् । राम्रा दिनहरु अबश्य आउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here