अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक, हाथवे ईन्भेष्टमेन्ट

शेयर बजारमा काम गरेको पनि करिव २६ बर्ष भएछ । कहिले गाली त कहिले ताली, कहिले कमाई त कहिले गुमाई- लाग्छ यो दिन रात जस्तै हो । कहिले असारे भेल त कहिले चैते खडेरी, अविरल यसैमा जीवनको गति चलिरहेछ । बजारको गतिलाई कहिलेकाँही हेर्दा म किनाराका साक्षी मात्र पो हो कि जस्तो पनि लाग्दछ ।

वास्तवमा शेयर बजारको पनि आफ्नै लय र गति छ । शेयर बजारकोे आरोह र अवरोहको लामो साक्षी म मेरा भनाई र लेखाई सैद्धान्तिक तथा प्राबिधिक धरातल भन्दा भोगाईका सिद्धान्तहरु हुन् । अरुको भोगाई र मेरो भोगाईमा फरक हुन सक्छ, त्यही कारण बुझाईमा पनि पक्कै फरक पर्दछ । मैले बोलेका कुरा वर्तमान समयमा सबैलाई सही हुन्छन् भन्ने पनि छैन । म मेरै आत्माको कुरा बोल्दछु, मेरो व्यक्तिगत कुरा बोल्छु अनि कहिले काँही लेख्छु । यी मेरा नितान्त ब्यक्तिगत कुरा हुन् ।

ब्यक्तिगत कुरा कतिलाई मन पर्दछ, कतिलाई पर्दैन । सवैलाई एउटै स्वरुप मन पर्ने भए र सवैको सोच एउटै भएको भए सायद सृष्टिको स्वरुप अहिलेको जस्तो हुने थिएन । मैले अरुबाट प्राप्त हौसला र प्रशंसालाई अचारमा राखेको नूनको रुपमा ग्रहण गर्दछु भने आलोचनालाई त्यही अचारको खुर्सानी र चुकको रुपमा लिने गर्दछु । तसर्थ नून मात्रले अचारमा स्वाद हुँदैन भन्ने कुरामा मेरा आलोचक मित्रलाई अवगत गराउँछु ।

यो क्षेत्रमा मैले विताएका पल भर्खर दुई, पाँच वर्ष पूँजीबजारमा पसेकाले अनुभव गर्न गा¥हो हुन्छ । मैले ५४६ देखी १८५ अंक सम्मको यात्रा, १८५ बाट ११७५ अंक सम्मको नेप्स यात्रा,फेरि २९२ देखी १८८१ सम्मको सुनौलो पूँजीबजारको यात्रालाई तय गरेको छु । मैले विगतमा गरेको सो यात्राको अनुभव मेरो आफ्नो शेयर बजारको सिद्धान्त हो । मेरो नेप्सेको सिद्धान्त कुनै बिद्धान अर्थशास्त्री तथा बिश्लेषकको सिद्धान्तमा निर्देशित हुँदैन र छैन । म मेरा आफ्नै सिद्धान्तमा रमाएको छु, अनि यहींबाट पटक पटक कमाउदै, गुमाउदै यहाँसम्म आएको छु ।

म निजामति सेवाको जागिरलाई चटक्क छोडेर यही क्षेत्रमा केही गरौ भनेर हाम्फालेर आएको मान्छे । अझै पनि लाखौं युवाहरु मैले विगतमा छोडेको त्यो पेशामा जानको लागि दिन रात लागी रहेका छन् । तर नेपालको पूँजीबजारमा प्रसस्त संभावना र सुनौलो भविष्य देखेर यसैलाई पेशा बनाउँछु भनेर यस क्षेत्रमा आएको मान्छे हुँ अनि यसैलाई १५ लाख भन्दा बढी लगानीकर्ताहरुको पेशा बनाउनपर्दछ भनेर निरन्तर लागिरहेको पनि छु ।

सेयर बजार जसले जे भने पनि जोखिमको क्षेत्र हो र जोखिमबाट बच्नलाई हरसंभव प्रयास गर्दागर्दै पनि समस्यामा पर्न सकिन्छ । बजारमा भईरहने तीब्र उतार चढावलाई ख्याल गर्न सकिएन भने बजारले उठाउँछ मात्रै हैन, डुबाउँछ पनि । त्यो पीडादायी क्षण म आफुले पटक पटक भोगेको छु । नेप्से बढ्यो, सधै बढ्छ भन्ने भ्रम हटाउँन सकिएन भने धेरैले सेयर बजारबाट गुमाउँछन् । अनि घट्न थाले पछि भासिएर नै जान्छ भनेर हेरिरहने लगानीकर्ताले शेयर बजारबाट कहिल्यै कमाउँन सक्दैन । शेयर बजार घट्नु र बढ्नुलाई म प्राकृतिक कुराको रुपमा लिन्छु । त्यसैले सेयर बजार बढेको बेलामा हौसिने भन्दा पनि जोखिम ब्यवस्थापनतिर लाग्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । त्यही कुरा अरु साथीहरुलाई पनि भन्दै आएको हुँ ।

मेरो विचारमा जो सुकैले पनि, जहिले पनि शेयर बजार बढ्दा कमाउँछन्, घट्दा गुमाउँछन् । शेयर बजार घट्दा कोही धनी हुन्न, शेयर बढ्दा  कोही गरीब हुन्न । तर पनि शेयर बजार नचाहाँदा नचाहाँदै घटेर पीडा दिन्छ । यो विश्व शेयर बजारको प्राकृतिक नियम हो । यसलाई नमान्नुको विकल्प छैन ।

मैले आज सम्म केही बैंक बित्तीय संस्थाहरु स्थापना भए देखि निरन्तर रुपमा प्रगतिको पथमा अगाडि बढिरहेको देखेको छु । तर प्रत्येक त्रैमासिकमा प्रगतिको थप उचाईमा पुगेको देखेको छु । तर तिनै कम्पनीहरु पुँजीबजारमा धेरै पटक पिङ खेलेको अर्थात सेयर मूल्य २१०० बाट १३० सम्म आएको पनि देखेको छु । अचम्म बजार २९२ हुँदा र १८८१ हुँदा खासै मुल्यमा फरक नभएको कम्पनी पनि देखेको छु, हेरेको छ । कम्पनीको वास्तविक भ्यालु भन्दा कम मुल्यमा बजारमा कारोवार हुने र राम्रो प्रतिफल दिने कम्पनी पनि देखेको छु । अनि दुर्घटनाको संंघारमा पुगेका र शुन्य मुल्य भएका तर पूँजीबजारमा रु.१००० मा खरिद विक्रि भएका कम्पनी पनि देखेकै छु । आखिरी किन यति धेरै प्राकृतिक र अप्राकृतिक कुरा वजारमा हुन्छ ? कहिलेकाँही म भ्रमित हुने गरेको छु । अनि फेरि सोच्दछु – लाखौ लाख लगानीकर्ता अनि यी सवैका फरक-फरक विचार, फरक-फरक प्राथमिकता अनि सवैभन्दा महत्वपूर्ण लगानीकर्ताको तत् समयको सोच नै प्रमुख हो भन्ने ठान्दछु । विहान शेयर बेच्न हिडेको व्यक्ति वेलुका त्यही शेयर किनेर फर्कन्छ । मान्छे त्यही हो तर समयले तत्कालै निर्णयलाई प्रभावित पार्दछ । शेयर बजारमा सबैको सोच एउटै भैदिएको भए यो कारोबार र नाफा घाटा नै कसैलाई हुने नै थिएन ।

बस्तु वजार र पूँजीबजारको आफ्नै प्राकृतिक नियम पनि छ, सधै सिधा रेखामा नहिड्ने र नबस्ने । मै हुँ भन्नेलाई पनि झुक्काउने अनि छली छली भाग्ने । यही प्राकृतिक नियमले नै होला जसरी भुकम्प र प्राकृतिक विपतलाई विद्वान बैज्ञानिक भूगर्भविद्ले रोक्न सक्दैनन् त्यसरी नै पुँजीबजार बस्तु बजारमा विश्वका महान अर्थशास्त्रीहरु, विश्लेषकहरु पछारिन्छन् अनि ठूला ठूला ईन्भेष्टमेन्ट बैंक पनि टाट पल्टिन्छन् । अर्थशास्त्री विश्लेषक निकम्मा ठहरिन्छन् । तर यसो भन्दैमा सवै कुरा वाहियात हुने भन्ने हुँदैन । अर्थशास्त्री, विश्लेषकले धेरै हद सम्म अनुमान गरिदिन्छन् र नोक्सानीलाई कम गराउछन् तर पूर्ण रुपमा रोक्न सक्दैनन् । जसरी आज सम्म कुनै डाक्टरले प्राकृतिक कुरा रोक्न सकेका छैनन् ।

पूँजीबजारमा पर्याप्त धैर्यता चाहिन्छ अनि सकारात्मक सोच र बजारको ज्ञान । अहिले बजारमा लगानीकर्ता भन्दा व्यापारी हावी छन् । व्यापारी बन्नको लागि अथाह व्यवहारिक र  प्राविधिक ज्ञान चाहिन्छ, तर अहिले लहैलहैमा व्यापारीको संख्या बढ्दो छ । तथ्याङ्कले भन्दछ, अधिकांश व्यापारी गुमाउँछन् भने अधिकांश लगानीकर्ता कमाउँछन् । आफ्ना उद्देश्य र लक्ष्य नै नभएका र लहैलहैमा लाग्ने तिरमिराउछन् । तसर्थ, लगानीको आफ्नो उदेश्य किटान गरौं ।

क्षणिक लाभको क्षेत्रको रुपमा भन्दा दीर्घकालीन लाभको क्षेत्रको रुपमा यसलाई अगाडि बढाऔं । खरिद बिक्रि गरिने कम्पनीको बारेमा जानकारी लिउँ, आफ्नो बजेटको ख्याल गरौं, बजारको गति र समयलाई ख्याल गरौं । बजारको गतिअनुसारको गतिमा हिडौं । बजारको विपरित गतिको यात्रा कठिन हुन्छ । लगानी तपाँईको हो, नोक्सान तपाँईले व्यहोर्ने हो, नाफा भए पनि तपाँइको नै हो । फलानोले यो भन्यो त्यो भन्यो भनेको आधारमा प्राप्त हुने नोक्शानीको क्षतिपूर्ति कसैले गर्नेवाला छैन । बजारको मूल्य मान्यता र सिद्धान्तको अध्ययन गरौ । विगतबाट पाठ सिकौ र बर्तमानमा सफल लगानीकर्ता बनी यसलाई दिगो व्यवसाय बनाऔ ।

अन्त्यमा, आगामी दिनहरुमा नेपालको पूँजीबजार नयाँ उचाईमा अवश्य पुग्नेछ । इतिहास काफी छ २९२ बाट १८८१ पुगेकै हो ।

विगतमा १८८१ अंकमा पुगेको समय भन्दा आगामी दिनमा आउने समय अझै सुन्दर रहनेछ । किनकि मुलुकमा राजनीतिक स्थिरता छाएको छ, मुलुकले विद्वान अर्थमन्त्री पाएको छ, आर्थिक सुचांङ्क राम्रो बन्दै जादै छन्, तरलता र बैंक ब्याजमा सुधार हुने छ , बैंक तथा बित्तीय संस्थाहरुको कमाई तथा प्रति शेयर आम्दानी बढ्दै जानेछ । नियमनकारी निकायहरुको भूमिका अझ लगानीकर्तामैत्री बन्ने छ, गैर आवासीय नेपालीलाई लगानी मैत्री कानून बन्ने छ, भ्याट तथा लाभकरको अन्यौल हट्ने छ । अनलाईन ट्रेडिड., मार्जिन लेण्डिड. तथा बजारमा नयाँ नयाँ बित्तीय उपकरणहरु आउने छन् । सुनौलो यात्राको लागि आफुलाई परिपक्व बनाउन आजै देखि ज्ञान, विवेक,आधार भूत तथा प्राबिधिक ज्ञानले भरिपूर्ण भई अगाडि बढौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here