तिलक कोइराला 

बिकशित, आधुनिक र परिपक्व सेयर बजारमा आधारभुत र प्राबिधिक बिश्लेषणको ठूलो महत्व हुने गर्दछ । प्रबिधिले ब्यवस्थित गरिएको बजार, नियमनकारी निकायहरुको कडा निगरानी, सुचिकृत कम्पनीहरुको मजबुत अबस्था, पारदर्शिता, शिक्षित र सुसुचित करोडौ लगानीकर्ता भएको सेयर बजारमा ठूला राजनीतिक र आर्थिक परिवर्तन भएको बेलामा बाहेक नेपालको सेयर बजारमा जस्तो उतार चढाव कमै आउने गर्दछ । कम्पनीको मूल्य दुई प्रतिशत बढ्दा र घट्दा नै हलचल मच्चिन्छ । त्यहाँ कम्पनीहरुको आधारभुत र प्राविधिक बिश्लेषणलाई निकै महत्वका साथ हेरिन्छ । तर नेपालको सेयर बजारमा विडम्बना नै मान्नुपर्छ, सामाजिक संजालका एक चर्चित लगानीकर्ताले भने जस्तै “प्राविधिक बिश्लेषण आए आँप, गए झटारो” सावित हुँदै आएको छ । अनेक हावादारी विश्लेषकहरुले गर्ने आधारभुत विश्लेषणको पनि त्यही हाल छ ।

नेपाली सेयर बजारका एक प्राबिधिक विश्लेषकको बिश्लेषणलाई अनलाईनमा प्रकाशन गरियो । त्यसमा नेपाल स्टक एक्सचेन्जको सूचक नेप्से आज यति बिन्दुसम्म झर्छ र त्यसपछि माथि लाग्छ भनिएको थियो । कारोबार सुरु भएर सेयर बजार तल झर्दै गयो र उनले भनेको भन्दा बजार धेरै तल आयो । त्यसपछि उनले फोन गरेर भने कि समाचारमा संशोधन गर्नुपर्यो, बजार त धेरै तल झर्ने देखियो । जिम्मेवार सम्पादकको हैसियतले उनको आग्रहलाई स्वीकार गर्न सकिएन । एकपटक प्रकाशन भईसकेको समाचारलाई छिनछिनमा परिवर्तन गर्नु पत्रकारिताको धर्म पनि थिएन । त्यसपछि उनले त्यस समाचारलाई हटाईदिन आग्रह गरे । त्यो त झन् गर्नै हुँदैनथ्यो, स्वीकार गरिएन । अरु नयाँ समाचार थपिदै गएपछि त्यो समाचार तलतिर सर्दै गयो र सेयर कारोबार बन्द हुने बेलासम्ममा त्यो समाचार पनि निकै तल पुगिसकेको थियो । बजार बन्द हुँदा उनले भनेको भन्दा नेप्से धेरै तल आएछ । भलै उनी नाम चलेका प्राबिधिक बिश्लेषक हुन् । नेप्से कहाँ पुग्छ, कहाँनिर आधार छ र कहाँनिर अबरोध छ भन्ने कुरा उनी धेरैलाई सिकाईरहेका हुन्छन् ।

सेयर बजारका प्राविधिक विश्लेषकहरु कुनै एउटा कम्पनीको सेयर किनबेचको चाल र तलमाथि हुँदाको सेयर संख्यालाई मुख्य आधार मान्छन् । देशको अर्थतन्त्र, राजनीति, कम्पनीको आधारभुत अबस्था, त्यसका संचालकहरु, लाभांशको संभावना, मूल्य आम्दानी अनुपात, लगानीकर्ताको जोखिमबहन क्षमता जस्ता कुराहरुलाई उनीहरुले बिश्लेषण गरेको पाईएको छैन । नेशनल हाईड्रो जस्तो कम्पनीको आधारभुत अबस्था बिश्लेषण गरी उसको सेयर किन्न सिफारिस गर्न आधारभुत विश्लेषकहरुलाई गाह्रै पर्ला तर प्राविधिक विश्लेषकहरु त्यसको पनि प्राविधिक विश्लेषण गरी यो बिन्दुमा सेयर किन्ने र मूल्य बढेर यो बिन्दुमा पुगेपछि बेच्ने भनेर सिफारिस गरिरहेका हुन्छन् । कम घाटा खाएर सेयर बेच्ने स्टप लसको सुत्र पनि उनीहरु यसैमा लगाईरहेका हुन्छन् ।

अर्का एक प्राविधिक बिश्लेषकले एक जलविद्युत कम्पनीको सेयर सकेसम्म बजारबाट उठाएछन् र अरुलाई पनि त्यसै गर्न सिफारिस गरेछन् । उनलाई बिस्वास गरेर धेरैले त्यसको सेयर किनेपछि माग र आपुर्तिमा सन्तुलन नमिल्दा भाऊ केही त बढ्यो तर भनेको जस्तो नाफा हुने गरी माथि गएन । बजारमा त्यसको सेयर कम छ, माग बढेपछि मूल्य उचालिन्छ भन्ने उनको सोचाई त्यतिखेर फेल खायो, जब आधारभुत अवस्था र संस्थागत सुशासन कमजोर रहेको त्यस कम्पनीको सेयर मूल्य पहिलेको भन्दा तल झर्न थाल्यो । उनले स्टप लस अर्थात थप घाटा खानबाट रोकिने सुत्र अनुसार आफुसँग भएको त्यो कम्पनीको सेयर बेचे तर उनको सल्लाहमा सेयर किनेकाहरुले बेच्न सकेनन् र अहिले धान्नै नसकिने घाटा खाएका छन् ।

नेपालका अधिकांश प्राबिधिक बिश्लेषकहरुको कमजोरी यो छ कि उनीहरु धेरै कम्पनीमा लगानी बिबिधिकरण गर्न लगानीकर्ताहरुलाई सिकाउँदैनन् । मानौ उनीहरुको शब्दकोषमा डाईभर्सिफाई भन्ने नै छैन । आधारभुत बिश्लेषणले कम्तिमा १० वटा राम्रा कम्पनीमा लगानी विविधिकरण गर भन्छ तर प्राविधिक बिश्लेषण गर्नेले यसो भनेको अहिलेसम्म सुनिएको छैन । फलानो कम्पनीको सेयर किन्ने, यो बिन्दुमा किन्ने र यो बिन्दुमा पुगेपछि बेचेर प्रफिट बुक अर्थात नाफा सुरक्षित गर्ने भनेर मात्रै सिकाउँछन् ।

नेपालको सेयर बजारमा मौसमी हल्ला र अफवाहले यति प्रभाव पारेको छ कि ती बिश्लेषकहरुले भनेको मूल्यमा सेयरको भाऊ पुग्ने हैन, किनेकै क्षणदेखि मूल्य घटिदिन्छ अनि फेरि स्टप लस अर्थात घाटा धेरै हुनबाट जोगिने (कम घाटा खाएर त्यो सेयर बेच्ने) । यही क्रम चलिरहेको छ । जो आफ्नै भबिष्य जान्दैनन्, उनीहरु अरुको भबिष्यवेत्ता बनिरहेका छन् । नेपालको सेयर बजारमा कतिखेर कसले के हल्ला चलाउँछ र को कतिखेर कसरी कुदछ् कसैलाई पनि थाहा छैन । त्यसमाथि सेयर बजारका बारेमा गरिने कसैको पनि अनुमान मिलेको अबस्था छैन । सेयर बजारको भबिष्यबाणी कसैले पनि गर्न सक्दैन । राम्रा कम्पनीको सेयर सकेसम्म सस्तो मूल्यमा किन्ने र दीर्घकालीन लगानी गर्ने सामान्य सुत्र हो ।

प्राविधिक विश्लेषणले नेपालको सेयर बजारमा सुरक्षित लगानी गर्न भन्दा पनि ब्यापार गर्नेहरुलाई प्रोत्साहित गरेको छ । अलिकति नाफा आयो कि बेचिहाल्ने, घाटा हुने भयो भने पनि बेचिहाल्ने । यसो गर्दा तालिम दिनेहरुले पैसा कमाएका होलान, सेयर दलाललाई पनि कमिशनको फाईदा भएको हुनुपर्छ, ् तर प्राविधिक विश्लेषणमा चल्नेहरु मध्ये धेरै घाटामै छन् ।

प्राविधिक विश्लेषणले नेपालमा धेरै सेयर ब्यापारीहरु जन्माएको छ । कुनै एउटा कम्पनीमा करोड करोड लगानी गरेर सेयर किन्ने अनि मूल्य उचालेर बेच्ने फेरि भाऊ जहाँको तही आउँछ फेरि किन्ने । यसले सेयर बजारलाई अस्थिर पनि बनाएको छ र असुरक्षित कम्पनीहरुमा लगानीकर्ताको लगानी फसेको छ ।

भए भरको पैसा लगाएर जब एउटै कम्पनीको सेयर किन्न सल्लाह दिईन्छ, त्यहाँ धेरै जोखिम हुन्छ । कुनै कारणले त्यो कम्पनीको अबस्था बिग्रिएको सूचना बाहिर आयो भने एउटै कम्पनीमा भएभरको पैसा लगाएर सेयर किन्नेहरु उठ्नै नसक्ने गरी डुब्छन् ।

प्राविधिक बिश्लेषकहरुले सेयर बजार घट्दै गएको बेला सेयर किन भनेर कहिल्यै सल्लाह दिएको पाईएको छैन । जब सेयर बजार बढ्न थाल्छ, तब सेयर किन्न सल्लाह दिईन्छ । यसमा खतरा के छ भने सेयर बजार घट्दा घटेर जत्ति पनि सेयर किन्न सकिन्छ तर बढ्न थाल्दा एकैपटक सर्किट लाग्छ, सर्बसाधारण लगानीकर्ताले सस्तोमा सेयर किन्नै पाउँदैनन् । जति सेयर बजार बढ्दै गयो, उत्ति किन्दै जाने र घट्न थालेपछि बेच्ने सुत्र प्राविधिक बिश्लाषण पढाउँदा सिकाईन्छ । आधारभुत विश्लेषणले घटेर तल्लो विन्दुतर्फ आएको बेलाामा सेयर किन्न, दीर्घकालीन लगानी गर्न, सेयरको मूल्य धेरै बढेर गयो र आफुलाई पैसाको आबश्यकता भयो भने सेयर बेच्न सल्लाह दिन्छ । कम्पनीको अवस्था हेरेर उसले दिने लाभांश पर्खिनसक्ने गरी लगानी गर्न आधारभुत विश्लेषणको क्रममाा सिकाईन्छ तर प्राविधिक विश्लेषकहरु बजारबाटै सेयरको मूल्य बढाएर नाफा लेऊ भन्छन् ।

नेपालका प्राविधिक बिश्लेषकहरुले आधारभुत रुपमा बलियो नेपाल ईन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, कृषि बिकास बैंक जस्ता कम्पनीहरुको सेयर किन्ने सल्लाह कहिल्यै दिएको पाईदैन किनभने यस्ता कम्पनीहरुको सेयर मूल्यमा धेरै तलमाथि हुन्न तर बजारमा थोरै कित्ता सेयर रहेका र धेरै हलचल हुने कम्पनीको सेयर किन्न सल्लाह दिएको पाईन्छ । कम्पनीको अवस्था जस्तो होस, मात्रै किनेपछि सेयर मूल्य बढ्नु पर्यो र नाफा गरेर बेच्न सकियोस ।

सामाजिक संजालमा नेपाली उपनामका एक प्रयोगकर्ताले प्राविधिक विश्लेषकहरुप्रति यस्तो आक्रोश पोखेका छन् ःज्योतिषीले सबै थाहा पाउने भए भबिश्यबाणी मात्र गरेर किन बस्थे रु
टेक्निकल एनालिस्टलाई सबै थाहा हुने भए किन तालिमको कक्षा मात्रै सन्चालन
गरेर बस्थे ? लगानी गरे भैगो, दिन दुईगुना रात चौगुना हुन्थ्यो होला लगानी ।

प्राविधिक विश्लेषकहरुले आफ्नो समूह बनाउँछन् र निश्चित प्रकारको सूचना वा डाटा त्यो समूहलाई उपलब्ध गराउँछन् । कतिपय अबस्थामा त्यो चर्को शुल्कसहितको पनि हुने गरेको छ । त्यही सूचनालाई समूहका सदस्यहरुले सेयर दलालको कार्यालय वा अरु लगानीकर्ताहरुका बीचमा फैलाउँछन् र हल्लीखल्ली मच्चाईन्छ । सामान्य लगानीकर्तालाई प्रभाव पार्ने भनेको त्यही हल्लाखल्लाले हो । यस्तो मनोविज्ञानले काम गरेको छ ।

नेपालको सेयर बजारका कयौं लगानीकर्ता आधारभुत सूचकहरुमा आधारित रहेर चलेका छैनन् । यसो हुँदैनथ्यो त २७, २८ प्रतिशत बोनस दिने ६ अर्ब भन्दा बढी पूँजी भएको कम्पनीको सेयर मूल्य ४०० रुपैयाँ हाराहारी र केही दिन नसक्ने, लगानीकर्तालाई हकप्रदको भारी बोकाउने १० करोड पूँजी वाला कम्पनीको सेयर मूल्य ७०० रुपैयाँ माथि पुग्ने नै थिएन । प्राविधिक विश्लेषणको सुत्र मात्रै अबलम्बन गर्दा यस्तो भएको हो ।

अहिले बिबिध कारणले सेयर बजारमा सेयर आपुर्ति धेरै भएको छ तर किन्नेहरु बढ्न सकेका छैनन । कारोबार रकम ८०, ९० करोड हुनु भनेको निराशाजनक अबस्था हैन तर माग र आपुर्तिमा सन्तुलन नमिल्दा राम्रा कम्पनीको सेयर मूल्य धेरै खस्किएको छ र यसले लगानीकर्ताको मनोवललाई अरु कमजोर बनाएको छ । त्यसमाथि नेप्से झेरर यतिसम्म पुग्छ र उतिसम्म पुग्छ भन्ने ज्योतिषीहरु देखापर्दा त्यसले अझै नकारात्मक अबस्था सिर्जना गरिदियो ।

प्राविधिक विश्लेषण गर्नेहरुको बढी ध्यान नेप्से कहाँ पुग्ला वा आफुले किनेको सेयरको भाऊ कति बढ्ला भन्नेमा मात्र रहेको पाईन्छ । कम्पनीले कति प्रगति गर्यो र लाभांश कति पाईन्छ भन्ने चिन्ता कमै गरेको देखिन्छ । नेप्सेको सूचकलाई ब्याख्या गरेर लगानीकर्ताको मनोबल खस्काउने र उक्साउने कुरामा भने उनीहरु निपुर्ण नै देखिने गरेका छन् । आईतबार नेप्से १५४० बिन्दुको कथित आधार भत्काएर तल गयो भन्ने संदेश के गएको थियो, सेयर बेच्नेहरुको ओईरो नै लाग्यो । नेप्से १५२० भन्दा तल आयो, अब १४८० को लक्ष्य निर्धारण गरिएको भन्ने सुन्नमा आएको छ । यसरी लगानीकर्ताको मनोविज्ञानलाई खल्बल्याउने र आफु अनुकुल ब्याख्या गर्ने काम छाडेर सेयर बजारलाई सुरक्षित लगानीको गन्तब्य बनाउन तिरै लागे सबैको भलाई हुने थियो ।

परिपक्व बजारमा प्राविधिक बिश्लेषण पनि एउटा महत्वपूर्ण औजार हो तर यहाँ त झन् अस्थिरता ल्याउने अस्त्रको रुपमा मात्र प्रयोग भयो भन्ने चिन्ता जायज छ । कम्पनीहरुको आधारभुतका साथै प्राविधिक बिश्लेषण दुबै गर्नुपर्छ तर त्यसको मात्रै भर परेर हुन्न । प्राविधिक विश्लेषणलाई आम लगानीकर्ताहरुले आए आँप, गए झटारोको रुपमा अर्थ लगाउने प्रबृत्ति बढ्नु नै त्यस क्षेत्रमा लागेकामाथि चुनौति थपिनु हो भनेर बुझौं । अनि आँत्तिएका लगानीकर्ताहरु ढुक्क भएर सस्तो तर राम्रो प्रतिफल दिने, पूाजी आधार धेरै भएका कम्पनीमा दीर्घकालीन लगानी गरौं । अहिलेको समाधान यही नै हो ।

2 COMMENTS

  1. Thanks tilak koirala sir
    Mathi hajur le vane jastai
    बिकशित, आधुनिक र परिपक्व सेयर बजारमा आधारभुत र प्राबिधिक बिश्लेषणको ठूलो महत्व हुने गर्दछ । प्रबिधिले ब्यवस्थित गरिएको बजार, नियमनकारी निकायहरुको कडा निगरानी, सुचिकृत कम्पनीहरुको मजबुत अबस्था, पारदर्शिता, शिक्षित र सुसुचित करोडौ लगानीकर्ता भएको सेयर बजारमा ठूला राजनीतिक र आर्थिक परिवर्तन भएको बेलामा बाहेक नेपालको सेयर बजारमा जस्तो उतार चढाव कमै आउने गर्दछ । so better fundamental study garera lekh lekhda hunx nepal ko context ma

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here