-सेयरलगानी टिप्पणी ।

सेयर बजार तल्लो बिन्दुमा रहेको बेला हिम्मतका साथ जसले सस्तोमा राम्रा र बलिया कम्पनीका सेयर किन्छन् ती लगानीकर्ताहरुलाई पछि आफुले ठीक गरेछु भन्ने अबश्य लाग्छ । जो त्यो मौकामा चौका हान्न चुके, बेला घर्कियो भन्दै पछुताउमा हुनसक्छन् तर बेला घर्किई सकेको छैन ।

कयौं खर्च गरेर बर्षौ पाल्दा पनि प्रतिफल दिन नसकेका कम्पनी अर्थात सेतो हात्ती बेचेर अब लैनो र ब्याँउने खालका भैसी किन्ने बेला यही हो । आउने गत बर्षको लाभांश बाँड्न बाँकी र आउने बर्ष हुने साधारणसभामा मनै प्रफुल्लित हुने खालको बोनस दिनसक्ने संभावना र क्षमता भएका राम्रा, बलिया कम्पनीहरुको सेयर सस्तोमा किन्ने अवसर घकिईसकेको छैन भन्ने कुरा फेरि एकपटक उजागर भएको छ ।

सेयर बजारमा सेयरको भाउ केही बढे पनि राम्रा कम्पनीहरुको सेयर मूल्य अझै तलै छ । सेयर बजार बढ्दै जाँदा लगानीकर्ता उत्साहित हुनु स्वभाविकै हो तर राम्रो प्रतिफल दिने घोषणा गरेका, घोषणा गर्नसक्ने र मूल्य आम्दानी अनुपात २० गुणा भन्दा तल रहेका कम्पनीहरु राम्रा हुन् । त्यस्ता कम्पनीहरुको सेयर मूल्य नउचालिई किनेर सुरक्षित लगानी गर्नुपर्छ । खराब कम्पनीहरुको सेयर भने बेचेर सुरक्षित कम्पनीमा लगानी सार्नुपर्छ ।

केही लगानीकर्ताहरुले मूल्य आम्दानी अनुपात ५०० गुणा रहेको कम्पनीलाई राम्रो भन्दै उचालिएर सेयर किनिरहेका देखिन्छ, लैनौ र ब्याउने भैसी छाडेर भीरबाट हाम्फाल्न खोज्नेहरुलाई हाई मात्र भन्न सकिन्छ, काँथ थाप्न सकिन्न । उनीहरुले बुझ्नुपर्छ कि सेयर बजार भनेको माग र आपुर्तिको खेल र सेयरको मूल्य घटाउनु, बढाउनु मात्रै हैन, कम्पनीको आधारभुत अबस्था बिचार गरी सस्तो सेयर किनेर राम्रो लाभांश पाउनु पनि हो । सेयरको मूल्य बढ्ला भनेर मात्रै लगानी गर्नेहरु नराम्ररी डुबेका कयौं उदाहरण छ्न् ।

नेशनल हाईड्रो जस्तो कहिल्यै नब्याँउने कम्पनीको सेयर किनेर के गर्नु ? दुई चार रुपैयाँ तलमाथि गर्यो, सस्तोमा किनेर महंगोमा बेच्यो, त्यसो गर्न नसक्नेहरु थलिएर बस्यो । समय र पैसा दुबैको बर्बादी ।

सेयर मूल्य बढ्यो, नेप्से पनि बढ्यो मात्रै हैन, कारोबार रकम पनि बढेर ठूला र संस्थागत लगानीकर्ताहरु पनि सेयर किन्न बजारमा झरे भने बजार बढाईको अर्थ रहन्छ । यसले लगानीकर्ताको मनोबल अरु बढाईदिनसक्छ । तरलता, राजनीति लगायतका कुराहरु त सहायक कुरा मात्रै हुन् ।

धेरै लगानीकर्ताहरुले बजार घटाईको बिगतको तितो अनुभव संगालेर अब सुरक्षित कम्पनीहरु तर्फ ध्यान केन्द्रित गर्न थालिसकेका छन् ।  त्यस्ता लगानीकर्ताहरु अब लैनौ र ब्याँउने भैसीको खोजीमा लागेको प्रष्ट देखिन्छ । पूँजी आधार बलियो र प्रगति गरेको संकेत दिएका त्यस्ता कम्पनीहरुमा खरिदकर्ताहरुको ओईरो लाग्नुले पूँजी बजारको परिपक्वताको संकेत गर्दछ । खासगरी मध्यमस्तरका बाणिज्य बैंकहरु जसको सेयर मूल्य २०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म छ, त्यस्ता कम्पनीहरुमा लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित देख्नुले बजारको दीगोपनालाई आड दिन्छ । चिलिमे, नेपाल टेलिकम जस्ता आधारभुत अबस्था बलियो भएका कम्पनीहरुमा लगानीकर्ताहरुकोे आकर्षण बढ्नु राम्रो पक्ष हो ।

माग र आपुर्तिको नियमलाई मात्रै हेरेर केही सेतो हात्ती कम्पनीका सेयर मूल्य पनि उचालिएको छ । यसलाई सेतो हात्ती तह लगाउने स्वभाविक अवसरको रुपमा लिनुपर्छ । जत्ति घाँस र पराल ख्वाएपनि नब्याँउने अर्थात प्रतिफल नदिने र उल्टै मालिकलाई हकप्रदको भारी बोकाएर गरीब र रोगी बनाउने हात्ती बेचेर लैनो र ब्याँउने भैसी खोज्न लगानीकर्ताहरु लाग्न सक्नुपर्छ । त्यसो भयो भने मात्र सेयर बजार बढेको कुराले सबैलाई हर्षित बनाउनसक्छ । साँढे उफ्रिदा होस् वा भालुले आतंक मच्चाउँदा नै किन नहोस् लैनौ र ब्याँउने भैसी पाल्नेहरु आँत्तिनु पर्दैन तर आफ्नो मालको सुरक्षामा भने ध्यान दिनुपर्छ र दह्रोसँग दाम्लो समाउनुपर्छ ।

बाणिज्य बैंक, बिमा र अन्य केही कम्पनीहरुले पहिलो त्रैमासमा गरेको प्रगतिका संकेतहरु दोस्रो त्रैमासमा अरु सुधारोन्मुख हुने नै छन् । पहिलो त्रैमासले केहीलाई निराश बनाए पनि आगामी त्रैमासहरु उत्साहपूर्ण नै हुनेछन् । बाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याज घटाउन सक्ने अबस्था, चुनावले बित्त बजारमा बढाउने तरलता, स्थिर सरकार बन्ने लगायतका कुराहरुले आगामी दिनमा बजारलाई अरु आड देला भन्न सकिन्छ ।

अहिलेको अबस्थामा राम्रा कम्पनीको सस्तो सेयर किनेर दीर्घकालीन लगानी गर्नेले केही महिना भित्र राम्रो प्रतिफल पाउने कुरामा निश्चिन्त रहँदा हुन्छ । तर सेतो हात्ती पाल्ने र किन्नेको बारेमा यसै होला भन्न सकिन्न । सेतो हात्ती फालौ, लैनो र ब्याँउने भैसी नै खोजौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here