सेयर बजारमा कारोबार रकम घटेर तल्लोे बिन्दुमा रहँदा केही अस्वभाविक खेल खेल्न खोजिएको छ । बजारमा धेरै खरिद बिक्रीकर्ता नआउँदाको अबस्था आँकलन गरी केही कम्पनीको सेयरको भाऊ अस्वभाविक रुपमा बढाएर बजारलाई तलमाथि पार्ने प्रयास भएको मंगलबारको कारोबार प्रबृत्ति अध्ययन गर्दा थाहा हुन्छ ।

मंगलबारको जम्मा सेयर कारोबार रकम ३५ करोड भएपनि नागबेली लघुवित्तको चार करोड २६ लाख रुपैयाँको संस्थापक सेयर किनबेचलाई गणना नगर्दा ३१ करोड भन्दा कम हो ।

सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या घट्दै जाँदा केही ब्यक्तिहरुले भने बजारमा धेरै कित्ता सेयर नरहेको कम्पनीमा चलखेल गरी मूल्य उचाल्ने रणनीति अख्तियार गरेका छन् । यसले सर्बसाधारण लगानीकर्तामा जोखिम उत्पन्न गराएको छ ।

१० प्रतिशत बोनस दिने निश्चित रहेको बाणिज्य बैंकको सेयर मूल्य प्रति कित्ता दुई सय रुपैयाँ भन्दा तल आउँदा केही पनि लाभांश नदिने र उल्टै घाटाको भारी बोकाउने कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्नु नियोजित खेल अन्तर्गत नै भएको देखिन्छ । पहिले जस्तो अत्यधिक सेयर आपुर्तिले मात्रै बजार मन्द भएको हैन, खरिद बिक्रीको जाँगर लगानीकर्तामा छैन हातमा पैसा भएका लगानीकर्ता पर्ख र हेरको अबस्थामा छन् । धेरै ठूलो कारोबार गर्ने सेयर ब्यापारीहरु बजारमा छिरेका छैनन्, त्यसैले कारोबार रकम निराशाजनक भएको छ ।

सेयर बजारका धेरै लगानीकर्ताहरु मंसिर १० र २१ गतेको चुनावतर्फ लाग्दा केहीले बजारमा खेल गर्ने अवसर पाएका छन् । धेरै कम्पनीको सेयर मूल्य घट्ने र कारोबार रकम कम हुँदै जाने क्रममा सर्बसाधारण लगानीकर्तामा अन्योल बढेको छ ।

चुनावी माहौल सकेर धेरै लगानीकर्ताहरु सेयर बजारमा नफर्किएस्म्म अहिलेको प्रबृत्तिमा खासै अन्तर नआउँने लक्षण छ । मंगलबार सुरुमा केही घटेको बजार एक बजेपछि ह्वात्तै बढेको जस्तो हुने र फेरि घट्ने. क्रम चलि नै रहला । यस्ता बेला मूल्य धेरै बढ्दा सेयर किन्ने र तल झर्दा आँत्तिएर बेच्नबाट सतर्क हु्नैपर्छ ।

मंगलबार नेप्सेमा तीन अंकको बढोत्तरी भई सूचक १४७२.२४ मा अडिएको छ भने समग्रै बजार पूँजीकरण १७ खर्ब ११ अर्ब कायम भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here