सेयर बजारमा साताको अन्तिम दिन ३७ अंकले सूचक बढेर अघिल्ला दिनहरुमा नेप्सेको भित्तामा देखिदै आएको रातो रंगलाई हरियोले बदलेको छ ।

अधिकांश कम्पनीहरुको सेयर मूल्य अघिल्ला दिनहरुमा भन्दा बढेर कारोबार रकम समेत केही माथि गई ६३ करोड बराबरको सेयर किनबेच भएको छ ।

बीमा, बाणिज्य बैंक. होटल समूहका कम्पनीहरुको सेयरमा खरिदकर्ताहरुको चाप धेरै देखियो तर सबै समूहका सूचकहरु माथि गएका छन् ।

अघिल्ला दिनहरुमा राम्रा कम्पनीको सेयर मूल्य पनि धेरै घटेर न्युनतम बिन्दुतर्फ आएको मौकामा सेयर खरिद गर्नेहरुले मौका छोप्दा बजारमा उछाल देखिएको हो । बजारमा भईरहेको सेयरको अधिक आपुर्ति बन्द भएर खरिदकर्ताहरु हावी भएका देखिएको छ । बजार बढ्न थाल्दा लगानीकर्ताहरुको मनोबलमा समेत परिवर्तन हुँदा खरिदको क्रम बढेको हो ।

राम्रा कम्पनीहरुको सेयर मूल्य घटेर लाभांशले नै धान्ने अबस्था आएपछि सेयर बजारमा लगानी गर्न खोज्नेहरु आउनु स्वभाविक छ ।

कतिपय लगानीकर्ताहरु बजार घट्दासम्म निराश भएर बस्ने र बढ्न थाल्दा उचालिएर किन्ने मानसिकताका हुन्छन् । खासगरी सेयरको ब्यापार गर्नेहरु बजार बढ्न थाल्दा सेयर किन्न थाल्छन् र घट्न थाल्दा बेच्ने क्रम तीब्र बनाउँछन् । जब बजार बढ्न थाल्छ, त्यसको समाचार प्रबाहले साना तथा नयाँ लगानीकर्ताहरु पनि बजारतर्फ आकर्शित हुने गर्छन ।

ठूला बाणिज्य बैंकहरुले कर्जा परिचालनको चापमा परेर ठूला सेयर लगानीकर्तालाई १० प्रतिशत भन्दा पनि सस्तो ब्याज दरमा कर्जा दिन बोलाईरहेको अबस्थाले पनि खरिदको क्रम बढाएको पाईएको छ ।

बिगतमा धेरै सेयर किनबेच गर्ने सेयर दलालहरुको कारोबार प्रबृत्ति हेर्दा उनीहरुले अझै खरिदको क्रम नबढाएको देखिन्छ । कारोबार रकममा नेपाल लाईफले तीन करोडको कारोबार गरेर नेतृत्व गरेको छ, जुन सामान्य हो ।

झण्डै दुई बर्षपछि कारोबार खुलेको बिशालबजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माईक्रोफाइृनान्सले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांशको घोषणा गरेपछि लगानीकर्ताले त्यस कम्पनीबाट मुख फर्काएका छन् र त्यसको असर  सेयर मूल्य धेरै रहेका लघुवित्तहरुमा परेको छ ।

सेयर बजारमा सेयरको मूल्य बढ्दा समग्र बजार पूँजीकरण पनि बढेर १७ खर्ब ७५ अर्ब पुगेको छ । नेप्से ३७.११ अंकले बढेर १५३०.३१ मा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here