तिलक कोइराला ।
सेयर बजारमा उल्टो हुने गर्छ । जब सेयरको मूल्य घटेर धेरै लगानीकर्ताहरु भागिरहेका हुन्छन्, यस्तो बेलामा सस्तोमा सेयर किनेर बजार छिर्ने साहस कमैलाई मात्र आउँछ, उल्टो झन् धेरै भागिरहेका हुन्छन् । जब सेयरको मूल्य धेरै बढेर अर्थात दिनका दिन सर्किट लागेर उचालिदै हुन्छ, यस्तो बेलामा सेयर बेचेर बाहिरिने हिम्मत कमैले गर्छन, उल्टो रुपमा सेयर बजारमा छिर्न खोज्नेहरुको भीड थामिनसक्नु हुन्छ ।
जब सेयरको मूल्य धेरै बढेर गएको हुन्छ, जोखिम पनि त्यसैगरी बढेको हुन्छ । सेयर बजारमा फस्नेहरु नै यही उच्च मूल्यमा किन्नेहरु हुन्छन् । सेयरको मूल्य धेरै बढ्दा धेरै लगानीकर्तामा उत्साह त हुन्छ तर त्यो उत्साहले तान्ने धेरै लगानीकर्तालाई लामो समयसम्म पीडामा फसाईदिने गरेको छ । जोशमा होस गर्नुपर्छ भनेर यसै भनिएको हैन र संकटको बेलामा धैर्यता पनि त्यतिकै महत्वपूर्ण छ ।
सेयर बजार धेरै जोखिमको क्षेत्र हो । प्राथमिक बजार (आईपीओ) कम जोखिमयुक्त हो, दोस्रो बजार बढी जोखिमयुक्त हो, जोखिम जहाँ पनि छ । यहाँ आउन वा बाहिरिन ज्ञान बाँड्नु पनि मुर्खतापुर्ण काम नै हो किनभने सेयर बजारको लगानी नितान्त बजारमा निहित जोखिम, ब्यक्तिगत जोखिमबहन क्षमता, लगानी रणनीति, कौशल, लगानी रकमको लागत, कम्पनीको अबस्था, माग र आपुर्ति, संभावित प्रतिफल, अर्थतन्त्र, समसामयिक राजनीतिक घटनाक्रमको प्रभाव, लगानीकर्ताको मनोविज्ञान लगायतका धेरे कुरामा निर्भर हुन्छ ।
कसैलाई कुनै सेयर किन्न वा बेच्न सल्लाह दिनु भनेको नदुखेको टाउको डोेरी लगाएर दुखाउनु सरह हो । राम्रो भयो भने तपाइँलाई धन्यबादसम्म पनि भन्दैनन्, नराम्रो भयो भने बेकारको तनावले खपिसाध्य हुँदैन । केही लगानीकर्तालाई लगानी सल्लाह दिँदा र सहजीकरण गर्दा म आफैले घाटा समेत ब्यहोरेर गतिलै पाठ सिकेको छु । त्यसैले कुनै कम्पनी र सेक्टर तोकेर कसैलाई यो किन वा त्यो किन भन्दिन र आफुले किनेको वा बेचेको सेयरबारे प्रचारबाजी पनि गर्न बन्द गरिसकेको छु । यद्यपी मैले किनेको सेयरले मलाई थाम्नै नसकिने घाटा खान, बैंकको मार्जिन कल आउनबाट बचाएको छ र अरु कम्पनीको सेयर मूल्य ६०, ७० प्रतिशत घट्दा पनि मैले किनेको वा किनाएको सेयर मूल्य १० देखि १५ प्रतिशत मात्र घटेको छ र आगामी दिनमा बढ्ने संंभावना छ । दीर्घकालीन रुपमा लगानी गरिएको त्यो सेयर जतिखर पनि बिक्री गरेर बाहिर निस्कनसक्छु वा अर्कोमा लगानी स्थानान्तरण गर्न सकिन्छ ।
सेयर बजारमा लगानी गरेर मैले कति कमाएँ र अरुलाई सल्लाह दिदैछु भन्ने पनि महत्वपूर्ण प्रश्न हो । हा,े मैले २५ बर्ष जागिर खाँदा नकमाएको पैसा सेयर बजारबाट दुई बर्षमा कमाए, र हिसाब गर्ने हो भने गुमाएको हिस्सा पनि ठूलै छ । यो बजारमा नजान्नेले धेरै गुमाउँछ, जान्नेले पनि गुमाउँदैन भन्ने हैन । भुकम्प आउँदा धेरै घर हल्लिछ तर मजबुत घर ध्वस्त हुँदैन र त्यहाँ बस्नेहरु तुलनात्मक रुपमा सुरक्षित हुन्छन् । सेयर बजारमा आउने गिरावट र हुने क्षतिबाट सबै प्रभावित हुन्छन्, कम क्षति उसलाई हुन्छ जसले जोखिमबहनको उपाय अबलम्बन गरी लगानी गरेको हुन्छ । सेयरको ब्यापार गर्न आएकाहरु बढी डुब्नसक्छन्, दीर्घकालीन लगानी गर्नेहरु कम डुब्छन् । आफ्नै पैसाले लगानी गर्नेहरु कम तनावमा हुन्छन्, ऋणै ऋणले लगानी गर्नेहरु धुलिसात हुन्छन् ।
मैले सल्लाह दिएर बजारमा कमाउनेहरुको कमी छैन । एक जना लगानीकर्ता जसलाई सेयर बजारबारे थाहासम्म थिएन, उनलाई बजारका बारेमा बताएर आफुले कारोबार गर्ने ब्रोकरमा लगी कारोबार खाता खोलाएर सही समयमा लगानी गराउँदा काठमाडौको भब्य ठाउँमा घर किन्न सक्षम भए भने अर्का एक लगानीकर्ताले चार करोड भन्दा बढी कमाए । कसैले गाडी जोडे भने कसैले तीन करोड भन्दा बढी बैंक निक्षेपमा रकम जम्मा गर्नसक्ने भए । एक जना लगानीकर्ता जसको सानिमा बैंकको सेयर प्रतिकित्ता रु. ९०० र सिटिजन्स बैंकको सेयर रु. ८०० मा बेच्न लगाउँदा उसलाई करोड रुपैयाँ नाफा भयो तर सस्तोमा सेयर बिक्री गराएको भन्दै गाली चाँही मैले खाएँ । एक जना लगानीकर्ता ऊ आफैले मलाई मेरो इृच्छा र चाहना विपरित युजर आईडी र पासवर्ड पठाएर सेयर किनबेच गर्न हत्ते गर्दा मैले सहयोगभावले काम गरें तर मैले उल्टो रु. एक लाख ६० हजार घाटा रकम ब्यहोर्नु पर्यो ।
यस्ता तीता भोगाईहरु कयौं छन् । कयौं पापीहरुले पाप, धर्म के हो भन्ने बुझ्दैनन् र अनेक खाले फत्तुर लाउँछन् । तर पनि बजारमा धेरै सर्बसाधारण नफसुन भन्ने पवित्र भाावनाले सही कुरा बोल्न, लेख्न र वकालत गर्न छाड्नुहुन्न भन्ने मेरो ठम्याई छ । हामी जस्ता अभियन्ताले आम सर्बसाधारणलाई भन्ने कुरा नै यही हो कि जब बजारमा ठूलो गिरावट आएर धेरै जना भागिसकेका हुन्छन्, राम्रा सेयरको मूल्य धेरै सस्तोे भएको हुन्छ, यस्तै बेलामा बजार छिर्ने हो र सस्तोमा राम्रो सेयर सकेसम्म उठाएर धैर्य गर्ने हो । सेयर किनेपछि फेरि मूल्य घट्नसक्छ, धैर्य गर्दै सेयर उठाउँदै जाने हो । कुनै विन्दुबाट फेरि उल्टो चक्र शुरु भएर मूल्य बढ्दै जान्छ, २० देखि ३० प्रतिशत मूल्य बढेपछि आँखा चिम्लेर त्यो सेयर बेचेर फाईदा सुरक्षित गर्ने हो । सस्तोमा किनिएका कतिपय सेयर यस्ता हुन्छन, जसलाई कहिल्यै नबेचे पनि फरक पर्दैन तर मूल्य राम्रो आएको छ भने आईपीओमा परेको सेयर पनि बेचेर सुरक्षित बस्नसक्ने लगानीकर्ता नै सेयर बजारको बिजेता हो ।
अहिले सेयर बजारमा गिरावट आएर तल्लो विन्दुमा सेयरको मूल्य ओर्लिएको बेला सेयर किन्ने सही समय होे तर छानेर मात्र । सस्तो र राम्रो सेयरमा अहिले गरिएको लगानीले धान्नै नसकिने घाटामा पुर्याउने छैन । कम्पनीको बित्तीय अवस्था र सुशासन राम्रो रहेको, लाभांश ईतिहास राम्रो रहेको, बजारमा सेयरको आपुर्ति कम र मूल्य पनि सस्तो रहेको, बजारमा खरिद चाप आउँदा मूल्य पनि त्यही अनुसार उचालिने र कम्पनीले दिने लाभांश अतिरिक्त लाभ हुने, बजारमा सजिलै खरिद बिक्री हुने, खेलाडी लागेका वा लाग्नसक्ने, बैंकले धितोमा सकार्ने जस्ता कम्पनीका सेयरहरु किन्न लायक हुन् । कम्पनीको लाभांश र पूजीगत लाभ दुबैै हेर्नु त पर्छ तर कतिपय बेला पूँजीगत लाभ हेर्नेले जित्छ भन्ने कुरा ध्यानमा राखेर सेयर किन्ने बेला नै यही हो । सेयरको मूल्य बढ्न थालेर उच्च विन्दुमा पुगेपछि त मुर्खले मात्र किन्छन् । अहिले किनिएको सस्तो सेयर २० देखि ३० प्रतिशत मूल्य बढेपछि बेचिएन भने फेरि मुुर्ख बनिन्छ भनेर हेक्का राख्नैपर्छ ।
यही अनुभव र अनुभुतिका साथ मैले पनि सेयर बजारबाट अहिले सेयरहरु किनिरहेको छु तर कुन सेक्टर र कम्पनीको किनिरहेको छु, म बाहेक अरुलाई जानकारी हुनुपर्ने र दिनुपर्ने कुरा हैन । सेक्टर र कम्पनीको नाम खुलासा गरेर म नदुखेको टाउको डोरी लगाएर दुखाउन चाहन्न । कसैले नसोध्नुहोला ।